यस्तो छ ‘यःमरी पुन्हि’ को इतिहास र महत्व

यस्तो छ ‘यःमरी पुन्हि’ को इतिहास र महत्व

नेवार समुदायको प्रमुख र मौलिक पर्व ‘यःमरी पुन्हि’ आज मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले मनाउने यो पर्वको आफ्नै महत्व र विशेषता छ । 

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो । 

यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गरिन्छ, जसलाई ‘यःमरी’ भनिन्छ । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरीलाई पञ्चतत्वका रुपमा पनि लिइन्छ ।

यःमरीमा धरतीको रुपमा चामलको मिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । 

भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाट यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवम् भण्डारमा यःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो स–साना पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाइन्छ । 

यःमरीलाई भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्नलाभ हुने नेवार समुदायमा विश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादका रुपमा परिवारका सबै सदस्यले बाँडेर खाने चलन छ । 

साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई यःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारको देउसी, भैलोजस्तो हो । यसरी यःमरी माग्ने प्रचलन आजको दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने यःमरीमा हालिने चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाटसमेत सुरक्षित राख्न मद्दत गर्दछ । 

यस पूर्णिमाको रातलाई सबैभन्दा लामो रातको रुपमा समेत लिइन्छ । यो रात सुत्न नपुग्ने मानिसलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ । पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो लम्बिँदै जान्छ भन्ने गरिन्छ । 

त्यस्तै, धार्मिक कथनअनुसार तत्कालीन पाञ्चाल देशमा सुचन्द्र महर्जन नाम गरेका महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । 

एक दिन कुबेरले उनीहरुको परीक्षा लिनुपर्ने भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् । सुचन्द्र दम्पतीले कुबेरलाई साह्रै श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाइदिन्छन् र मिठा खानेकुरा खुवाउँछन् । 

त्यसपछि कुबेर खुशी हुँदै आफ्नो सक्कली रुपमा आउँछन् । अनि उनले सुचन्द्र दम्पतीलाई यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडासमेत लिई अन्तरध्यान हुन्छन् । कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । 

यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरु जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।

यःमरी माग्न जानेबेला गाइने गीत यस्तो छ :

त्यछिं तिय
बछि सां तिय
थाबले या समा वल 
यःमरि न्यग तिय
बिउम्ह ल्यासे
मबिउम्ह सितिकुति
त्यछिं तिय
बछि सां तिय
लाटापाटा कुलेचाँ
जुसिं तिय
बिउम्ह ल्यासे
मबिउम्ह बुरिकुती
यःमरि च्वामु
अकि दुने हामु
बिउम्ह ल्यासे
मबिउम्ह बुरिचा
छिमी नं चिकु
जिमि नं चिकु
हामु दु योमरी
याकनं बीउ तताजु ।

टिप्पणीहरू