एमाले प्रतिनिधिमा दुबै पक्षका ठ्याक्कै आधा
फाइल फाेटाे
मोरङमा एमालेको कुल मतदाता संख्या २३ हजार १७९ जना। मतदान भएको प्रतिशत ५५ । ५ नम्बर निर्वाचन क्षेत्रमा मात्र सर्वसम्मत। दलित क्लस्टरबाट पूर्व राष्ट्रिय सभा सदस्य खेम नेपालीसहित तीन जना निर्वाचित।
मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४६ जना प्रतिनिधि छानिएका छन् । जसमा संस्थापन पक्षबाट २३ जना प्रतिनिधि निर्वाचित भएको बताइन्छ ।
मोरङका प्रतिनिधि सभाका छ वटा निर्वाचन क्षेत्र र एक दलित क्षेत्र (क्लस्टर) सहित जम्मा सात निर्वाचन क्षेत्रमा २३ हजार १७९ जना संगठित सदस्यले मतदाताको भूमिका निर्वाह गरेका थिए। तीमध्ये करिब ५५ प्रतिशतले मात्र मतदान गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए।
उनका अनुसार मोरङमा एक दलितसहित सात निर्वाचन क्षेत्रमध्ये ५ नम्बर निर्वाचन क्षेत्र बाहेक सबैमा मतदान भएको छ । वैदेशिक रोजगार, राजनीतिक दलप्रतिको वितृष्णा, पार्टीको सकेसम्म पहिले सर्वसम्मत गराउने नीति, पद र प्रतिष्ठाको लोभ–प्रलोभन तथा डर–त्रास आदि अनेक कारणले मतदान कम भएको एमालेजनको बुझाइ छ ।
महाधिवेशन प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा संविधानसभा सदस्य, नगरप्रमुखहरू सहित गरी ४८ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि दर्ता भएकासहित जम्मा एक सय जना उम्मेदवारबीच ४६ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धा भएको थियो।
मोरङमा दलित क्लस्टरबाट खेम नेपाली, किशोर विश्वकर्मा र रिंकुदेवी परियार प्रतिनिधि बनेका छन् । एमाले मोरङमा जम्मा एक हजार ५१० जना दलित समुदायका सदस्य मतदाता बनेका थिए ।
मोरङ–५ मा ८ जना सर्वसम्मत
मोरङ क्षेत्र नम्बर ५ बाट आठ जना सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। खुलातर्फबाट ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल र दिलीप बगडिया छानिएका हुन् ।
यस्तै, महिलातर्फ उषा झा र शान्ता डंगोल तथा युवातर्फ मोहम्मद हमिद आजाद सर्वसम्मतरूपमा निर्वाचित भएका छन्। सर्वसम्मत चयन भएकामा संस्थापन र संस्थापन–इतर दुवै समूहको प्रतिनिधित्व छ।
सर्वसम्मत चयन भएका रंगेलीका मेयर दिलीप बगडियालाई दुवै पक्षले दाबी गरे पनि बगडिया ओली समूहमै रहेको उनी निकटस्थहरु बताउँछन् । ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. हमिद आजाद संस्थापन–इतर समूहका हुन्। मोरङ–५ मा प्रतिनिधि पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए।
टिप्पणीहरू