प्रधानमन्त्रीकाे निर्देशन ‘निर्वाचनमा एक थोपा रगत नबगोस्’

प्रधानमन्त्रीकाे निर्देशन ‘निर्वाचनमा एक थोपा रगत नबगोस्’

प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा सौहार्द वातावरण तयार गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । आज सैनिक मुख्यालयकाे अवलोकनपछि उहाँले सुरक्षित निर्वाचनको लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो । 

सरकारले आगामी चुनावमा नेपाली सेनालाई परिचालन गर्न परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोमा हिजो स्वीकृत भइसकेको छ । उक्त पृष्ठभूमिमा प्रधानमन्त्री कार्की सेनाको सुरक्षा तयारीको अवस्था बुझ्न आज जंगी अड्डा पुगेको बताइन्छ । 

गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र मुख्यसचिव सुमनराज अर्यालसहित त्यहाँ पुग्नुभएकी कार्कीले निर्वाचनमा एक थोपा रगत नबग्नेगरी सुरक्षा तयारी गर्न निर्देशन दिनुभयो । ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन’, उहाँले भन्नुभयो, ‘सुरक्षा संवेदनशीलतालाई सुक्ष्म रुपमा विश्लेषण गरेर सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नुस् ।’

त्यस्तै, प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुलाई विनाअवरोध शान्तिपूर्ण गतिविधि सञ्चालन गर्ने वातावरण तयार गर्न पनि निर्देशन दिनुभएको छ । अघि थप्नुभयो, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नुस् ।’

टिप्पणीहरू