प्रधानमन्त्रीले प्याच्च बोल्दा कडा असर

प्रधानमन्त्रीले प्याच्च बोल्दा कडा असर

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले चीनको आन्तरिक मामिलामा प्याच्च बोलेपछि चीन–जापान तनाव बढ्दै छ । पछिल्लो पाँच दिनमा जापान जान ठिक्क परेका पाँच लाख ४० हजार चिनियाले टिकट रद्द गरेका छन् । 

नोभेम्बर १५ देखि हिजोसम्म चीनबाट जापान जान बुक गरिएका पाँच लाख ४० हजारभन्दा बढी हवाई टिकट रद्द भएको सिसिटिभी प्लसले जनाएको छ । जापानी प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण चीनबाट जापान भ्रमणमा जान लागेका लाखौं यात्रुबीच अचानक ‘रिफन्ड वेभ’ देखापरेको हो । 

जापानी प्रधानमन्त्री ताकाइचीले ताइवानमाथि सम्भावित चिनियाँ आक्रमण जापानका लागि “अस्तित्वमै खतरा” हुनसक्ने र त्यस अवस्थामा जापानले सैनिक रूपमा अन्तर्राष्ट्रिय समूहमा संलग्न हुनसक्ने टिप्पणी गरेपछि दुई मुलुकबीचको सम्बन्ध जटिल भएको हो ।

चीनले तत्काल कडा प्रतिक्रिया जनाउँदै आफ्ना नागरिक तथा विद्यार्थीलाई जापान नजान चेतावनी दिएको थियो । यता चिनियाँ एयरलाइन्सहरुले निःशुल्क रिफन्ड योजना अघि सारेपछि जापानको पर्यटन र अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने अवस्था उत्पन्न भएको हो ।

पाँच दिनमा जापान जान ठिक्क परेका पाँच लाख ४० हजार चिनियाले विमान टिकट रद्द गरेका छन् ।

चीनका तीन वटै सरकारी र अन्य चार गरेर कम्तीमा सात एयरलाइन्सले जापान गन्तव्यका टिकटहरू निःशुल्क रद्दको घोषणा गरेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार, सिचुवान एयरलाइन्सले जनवरीदेखि मार्च अन्त्यसम्मका सबै चेन्दु–साप्पोरो उडान रोक्ने निर्णय गरेको छ । स्प्रिङ एयरलाइन्सले पनि “कम्पनी प्लानिङ कारण” भन्दै जापानका थुप्रै उडान रद्द गरेको जनाएको छ ।

यसबीच, चीनले प्रदर्शनका लागि दिन तोकिएका कम्तीमा दुई जापानी फिल्म अनिश्चितकालका लागि स्थगित गरिदिएको छ। जापानी एनिमेसन डेमन स्लेयरः इन्फिनिटी क्यासल को बक्स अफिस कम भएको बताउँदै सञ्चारमाध्यमहरुमा दर्शकमाझ “ताकाइचीप्रति असन्तुष्टि” बढेको उल्लेख छ । 

चीन जापानको दोस्रो ठूलो पर्यटक स्रोत हो । जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरूमा पनि चिनियाँ विद्यार्थीको संख्या सबैभन्दा धेरै छ । सोही कारण जापानी खुद्रा तथा पर्यटन–सम्बन्धी कम्पनीका सेयर मूल्यहरूमा गत सोमबारदेखि नै गिरावट आएको छ।

अवस्था जटिल हुँदै गएपछि जापानले आफूले ताइवानबारेको नीतिमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ । तर ताकाइचीले आफ्नो यसअघिको टिप्पणी फिर्ता लिन अस्वीकार गरेकी छन् । यसबीच, जापानले वरिष्ठ कूटनीतिज्ञ मासाआकि कानाइलाई चीनसँग छलफल गर्न बेइजिङ पठाएको छ ।

भिडियो/फोटो स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू