जुलुसका लागि एमालेको व्यापक तयारी,सबै कार्यकर्तालाई अनिवार्य उर्दी
फाइल फाेटाे
एमालेले भोलि राजधानी केन्द्रित बृहत प्रदर्शनको तयारी गरेको छ । जेन जी विध्वंशपछि एमालेले काठमाडौंमा पहिलो पटक ठूलो कार्यक्रम राखेको हो । व्यापक जनप्रदर्शनका लागि सबै भ्रातृ संगठनहरुलाई तोकिएको संख्यामा उपस्थित गराउन कडा सर्कुलर जारी गरिएको बुझिएको छ ।
त्यस्तो निर्देशन प्राप्त गर्नेमध्ये उपत्यका विशेष प्रदेश कमिटी पनि एक हो । अहिले राजधानी विशेष प्रदेश कमिटी भन्ने गरिएको उक्त कमिटीले कम्तीमा ६ हजार सदस्य सडकमा उतार्नुपर्ने छ । उक्त कमिटीमा अधिकांश निजामती तथा संस्थानका कर्मचारी,बुद्धिजीवी, विभिन्न संघ संगठनका कर्मचारी आवद्ध छन् ।
त्यसका लागि अस्ति दिउँसो २ बजे राजधानी विशेष कमिटीको भेला राखिएको थियो । शनिबार परेकाले कर्मचारीलगायत सबैलाई अनिवार्य उपस्थितिका लागि पार्टीले अनुरोध र पहल गर्नुपर्ने निर्देशन नेताहरुले दिएका छन् । भेलामा सहभागी एकजना नेताले भने, ‘कात्तिक २९ गते मुलुकभर भएको विरोध प्रदर्शनमा कार्यकर्ताको राम्रो उपस्थिति रहेकोमा नेतृत्व दंग छ । भोलि पनि राम्रो उपस्थिति रहने विश्वास राखेका छन् ।’
राजधानी विशेष प्रदेश कमिटी भन्ने गरिएको उक्त कमिटीले कम्तीमा ६ हजार सदस्य सडकमा उतार्नुपर्ने छ । उक्त कमिटीमा अधिकांश निजामती तथा संस्थानका कर्मचारी,बुद्धिजीवी, विभिन्न संघ संगठनका कर्मचारी आवद्ध छन् ।
यसबीच उक्त कमिटीका नेताहरुले पार्टी अध्यक्ष केपी ओलीसँग आगामी ११ औं महाधिवेशन र त्यसमा सहभागी हुने प्रतिनिधिको कोटाबारे कुरा गरेको बताइन्छ । अध्यक्षले विगतमा झैँ पहिले प्रदर्शन सफल पार्न निर्देशन दिँदै अरु कुरा बिस्तारै मिल्दै जाने सदाबहार जवाफ दिएको कुराकानीका लागि गुण्डु पुगेकामध्ये एकजनाले बताए ।
उपत्यका विशेष कमिटीलाई राजधानी विशेष कमिटी बनाएपछि उक्त कमिटी मातहत अब काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु रहनेछन् । यसअघि सुजिता शाक्य इञ्चार्ज रहेकामा अब उनको इञ्चार्जशीप धरापमा परेको बताउन थालिएको छ । उक्त कमिटीभन्दा माथि राजन भट्टराई इञ्चार्ज रहेको बागमती प्रदेश कमिटी छ । पूर्वमा नाङ्लेभारे,पश्चिममा छैमले र चन्द्रागिरी,दक्षिणमा ललितपुरको विकट भूभाग र उत्तरमा धर्मस्थलीसम्म दौडनुपर्ने भएकाले उपत्यका इञ्चार्जमा सामान्य नेतृत्व खट्न नसक्ने आवाज उठाइएको छ ।
टिप्पणीहरू