आफ्नै आँखाले देखेको वैभवशाली चीन

आफ्नै आँखाले देखेको वैभवशाली चीन

-उपेन्द्र कार्की

जनवादी गणतन्त्र चीन नेपालको उत्तरी छिमेकी मित्र राष्ट्र हो। नेपाल र चीनबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ। नेपालकी राजकुमारी भृकुटीले चीनकी बुहारी भएर बुद्ध धर्म फैलाउन योगदान पुर्‍याइन्। त्यसरी नै नेपाली कलाकार अरनिकोले चीनमा अनेकौं कलाकृतिहरू निर्माण गरेका थिए। चीनको सभ्यता करिब पाँच हजार वर्ष पुरानो छ।

सन् १९११ मा सन यात–सेनको नेतृत्वमा गणतन्त्र स्थापना भए पनि त्यसपछि देशमा अस्थिरता आयो। चिनियाँ जनताले दुःखकष्टबाट मुक्ति पाउन सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना गरे, जसका संस्थापक माओ त्सेतुङ थिए।

सन् १९२७ देखि माओको नेतृत्वमा मजदुर, किसान र जनसमुदायले युद्घ र आन्दोलन अघि बढाए। अन्ततः सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले देशव्यापी विजय हासिल गरी जनवादी गणतन्त्र चीन स्थापना गर्‍यो।

सन् १९५६ सम्ममा समाजवादका आधार तयार भइसकेपछि देश समाजवादमा प्रवेश गर्‍यो। किसानहरूलाई सामूहिक कृषि उत्पादनमा संगठित गरियो। तर समाजवादको निर्माण अपेक्षाअनुसार अगाडि बढ्न सकेन।

सन् १९७६ मा अध्यक्ष माओ, प्रधानमन्त्री चाउ एनलाइ र प्रधानसेनापति चु थेहको निधनपछि पार्टीले आफ्ना अनुभव र कमजोरीको विश्लेषण ग¥यो। त्यसपछि सन् १९७८ मा नेता तङ सियाओपिङको नेतृत्वमा सुधार र खुलापनको नीति लागू गरियो।

यो नीति सुरुमा किसानबीच परीक्षण गरियो र छोटो अवधिमै राम्रो परिणाम आयो। त्यसपछि उद्योग, व्यापार र लगानीका क्षेत्रमा विस्तार गरियो। विशेष आर्थिक क्षेत्र स्थापना गरियो र विदेशी लगानीलाई आमन्त्रण गरियो।

यसै क्रममा चीनले आधुनिक प्रविधि, पूँजी र व्यवस्थापन प्रणाली भित्र्यायो। निजी क्षेत्रलाई प्रोत्साहन दिइयो र उत्पादनमा प्रतिस्पर्धा बढ्यो। सुधार र खुलापनपछि चीन विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्यो। चिनियाँ जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आयो।

पछिल्ला वर्षहरूमा चीनले समाजवादी बजार अर्थतन्त्रको विकास गर्‍यो। बजारले पूँजी परिचालनमा भूमिका खेल्दा पनि राज्यको नियमन रह्यो। चीन विश्व व्यापार सङ्गठनको सदस्य बनेपछि यसको अर्थतन्त्र अझ सबल बन्यो। अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र धेरै क्षेत्रमा पहिलो स्थानमा छ।

सन् २०१२ मा सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र जनवादी गणतन्त्र चीनका राष्ट्रपति बने। उनको नेतृत्वमा चीन ‘नयाँ युग’ मा प्रवेश गरेको घोषणा गरियो। सी विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तमा समेटिएको छ।

चीनले गरिबी उन्मूलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सन् १९७८ देखि २०२१ सम्म करिब ८० करोड जनतालाई गरिबीमुक्त गरी सुखी र समृद्ध समाजको निर्माण गरिएको छ। यो विश्व मानव सभ्यतामा नै ठूलो योगदान हो।

चीन अहिले विश्वकै ठूलो बजार र उत्पादनकर्तामध्ये एक हो। यसले आफ्नो प्रगतिसँगै विश्वका अन्य देशप्रति पनि चासो राख्दै सहयोग र साझेदारीका कार्यक्रम अघि सारेको छ। चीनको पहलमा ब्रिक्स, एसियाली पूर्वाधार विकास बैंक, न्यू डेभलपमेन्ट बैंक, साङ्घाई सहयोग संगठन जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरू स्थापना भएका छन्।

त्यसैगरी चीनले बेल्ट एण्ड रोड इनिसियटिभ, विश्व विकास पहल, विश्व सुरक्षा पहल  र विश्व सभ्यता पहल जस्ता विचार अघि सारेको छ, जसले साझा समृद्धि र मानवताको भविष्यमा योगदान पुर्‍याइरहेका छन्।

मेरो चीन भ्रमण

मैले चीनबारे सुनेर, पढेर र टेलिभिजनमा देखेर धेरै कुरा सिकेको थिएँ। तर प्रत्यक्ष भ्रमण गर्ने अवसर पाएको थिइनँ । नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठको सहयोगमा त्यो इच्छा पूरा भयो।

२०२५ अप्रिल २४ मा म १४ सदस्यीय नेपाली टोलीसँग चीन प्रस्थान गरेँ। कार्यक्रम १४ दिनको थियो, जसको आयोजना युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एण्ड इकोनोमिक्स, बेइजिङले गरेको थियो र चीनको वाणिज्य मन्त्रालय मुख्य प्रायोजक थियो।

पहिलो दिन विश्वविद्यालयमा उद्घाटन सत्र भयो। त्यसपछि प्रत्येक दिन बिहान र दिउँसो कक्षा सञ्चालन हुन्थ्यो। हामीले चीनको आर्थिक सुधार, व्यापार नीति, विश्व विकास पहल र सहयोग कार्यक्रमबारे प्रशिक्षण लियौँ।

अप्रिल २६ मा ग्रेटवाल भ्रमण गरियो। त्यसपछि हामी साङ्घाई गयौँ, जहाँ राज्य र सामूहिक स्वामित्वमा सञ्चालित उद्योगहरू, तरकारी उत्पादन फर्म र नमूना गाउँको अवलोकन गर्यौँ। आधुनिक प्रविधिबाट सञ्चालित ती उद्योगहरूले स्वदेशी बजारसँगै निर्यातमा पनि योगदान दिइरहेका रहेछन्।

साङ्घाईको सिटी सेन्टर, यू गार्डेन, नानचिङ रोडका सपिङ सेन्टरहरू, सफा सडक र हरियालीले प्रभावित बनायो। गाउँमा स्थानीय पार्टी सचिवहरूले स्वागत गर्दै विकासका अनुभव बाँडे।

मे १ मा हामी बेइजिङ फर्कियौँ। त्यहाँ मे २ देखि ५ सम्म निरन्तर कक्षा र छलफल सत्र चले। चीनले गरिबी कसरी अन्त्य गर्‍यो, अर्थतन्त्र कसरी बढायो, अफ्रिका र ल्याटिन अमेरिकामा सहयोग कसरी पुर्‍यायो — यी विषयमा विस्तृत प्रशिक्षण दिइयो।

मे ७ मा समापन सत्र भयो। हामीलाई विश्वविद्यालय र वाणिज्य मन्त्रालयको संयुक्त प्रमाणपत्र प्रदान गरियो। मे ८ मा हामी खुनमिङ हुँदै काठमाडौं फर्कियौँ।

यो भ्रमणले मलाई चीनको प्रगति र अनुशासन प्रत्यक्ष देख्ने अवसर दियो। म कार्यक्रमका संयोजक, प्रशिक्षक र व्यवस्थापनमा संलग्न सबैप्रति हार्दिक आभार व्यक्त गर्छु।

टिप्पणीहरू