नेपाली कम्युनिष्ट आन्दोलनमा एकता र फुटको मनोविज्ञान

नेपाली कम्युनिष्ट आन्दोलनमा एकता र फुटको मनोविज्ञान

“संसारका मजदुर एक हौँ” भन्ने नाराको  नेपाली कम्युनिष्ट आन्दोलनमा भने बारम्वार फुटौ र फेरी एकता गरौँ भन्नेमा रह्यो । न फुटमा औचित्य सावित गर्नु पयो न एकतामा । बारम्बार परीक्षण भने रह्यो । एकातिर, वर्गसंघर्ष र समाजपरिवर्तनको आदर्श बोकेका दलहरू छन; अर्कातिर, ती आदर्शकै आवरणभित्र टुटफुट, अविश्वास र व्यक्तिगत महत्वाकांक्षा पलाइरहेका छन् । राजनीतिक संस्कार र संस्कृति नहुँदा एकअर्कालाई गाली गरेर आफना औचित्य प्रतिकृयामा नै सिमिति हुन्छन ।

यतिबेला नेकपाका विभिन्न घटकहरू फेरी प्रचण्ड केन्द्रित हुँदै “एकताको घोषणा” गर्दैछन्, तर त्यसै सँगै अर्को कोणमा नयाँ फुटका संकेतहरू पनि देखिन थालेका छन् । पुरानै तरिकाले नयाँ चुनौती सामना गर्न सकिँदैन । आजको सन्दर्भमा “नयाँ देखिनु” मात्र होइन, साँच्चिकै नयाँ बन्नु पनि आवश्यक हुन्छ । के यस एकताले विश्वासको पुनरस्थापित गर्न सक्ला ? प्रश्न उठेका छन ।  के नाममा रहेका कम्युनिष्टहरु साच्चैका कम्युनिष्ट हुँन की साइनबाडमा मात्रै ।

नत्र यो एकता वृद्धाश्रमको संस्थागत पुनरावृत्ति बन्ने खतरा छ - जहाँ पुराना चेहराहरूले नयाँपनको अभिनय गर्छन्, तर सोच र संस्कार त्यही पुरानै रहन्छ ।

छितरिएका कम्युनिष्ट आन्दोलनभित्र भइरहेका वैचारिक र संगठनात्मक प्रयोगहरूले एउटा गम्भीर संकेत दिएका छन् - “के हामी विचारका निष्ठावान् छौँ कि आन्दोलनका बोझ बनेका छौँ?”  

१. राजनीतिक दलहरूमा एकता र फुटको मनोविज्ञान 

पार्टीभित्रको एकता वा फुट केवल संगठनात्मक विषय होइन; यो मनोवैज्ञानिक र सांस्कृतिक प्रक्रिया पनि हो । सत्ताका रसस्वादन गरेका वा मुख रसाएकाहरुले सुविधा र अवसरअनुसारको राजनीतिक अभ्यासले गर्दा दलहरूमा आन्तरिक बहस र जनवादको संस्कृति लगभग समाप्त भइसकेको छ ।

अधिकांश कार्यकर्ताहरूमा वैचारिक गहिराइको अभाव, नैतिक बलको क्षय, र नेतृत्वमाथिको अन्धविश्वासले उनीहरूलाई सोच्ने होइन, आज्ञा पालन गर्ने जीव बनाइदिएको छ ।

अहिले “पुस्तान्तरण” को बहस चले पनि चेतना र दृष्टिकोणमा नवजागरणको कमी छ । उमेरले होइन, विचारले बुढ्यौली देखिएको पनि छ ।

त्यसैले दलहरूमा एकता वा फुटको औचित्य आज विचार होइन, प्रतिक्रिया र आवेगमा आधारित देखिन्छ । राजनीतिमा उमेर बाधक होइन; चेतना, चरित्र र दृष्टिकोण नै निर्णायक पक्ष हो ।

२. नयाँ मान्छे, पुराना सोच र सामाजिक गतिशीलता

पुराना सोचले नयाँ युगको मनोविज्ञान बुझ्न सक्दैन । नेपालमा भएको जेनजी “बिद्रोह” र विश्वका ठूला शहरहरूमा (जस्तै अमेरिकाको न्यूयोर्क) नयाँ पुस्ताले स्थापित व्यवस्थाको विरुद्ध उठाएको चेतनाले नेपाली राजनीतिमा पनि असर पारिरहेको छ । तर हाम्रो समाजमा एउटा वर्ग अझै त्यही पुरानै साँचा भित्र अड्किएको छ - जसले परिवर्तनको सुँइको नै ढिलो पाउँछ ।

सामाजिक चेतनाको क्रमशः विकासमा पहिलो संकेत कविले दिन्छ, दोस्रो विश्लेषकले व्याख्या गर्छ, र तेस्रोमा राजनीतिज्ञले बुझ्दो रहेछ । जुनबेला बुझछ तबसम्म समाजको दिशानै फेरिइसकेको हुन्छ । यो कुरा जेनजी “बिद्रोह”ले देखायो । 

यो भूसंवेदनशील देशमा प्रयोगशाला (थ्योरी) र रणक्षेत्र (प्रयोग) बीचको यो फरक बुझ्न नसक्दा हामी बारम्बार भ्रममा परेका छौँ । अब भने छर्लङ्ग भयो - सत्ताको केन्द्रमा को छ ? र रंगमञ्चमा को उभिएको छ ?

३. शक्तिशालीहरूको प्रतिक्रियात्मक एकता

जब कुनै सत्ता, वर्ग वा समूहले आफ्नो प्रभाव गुमाउने डर महसुस गर्छ, उनीहरू “एकता” को नारामा एकजुट देखिन्छन् ।  तर त्यो एकता साझा दृष्टि होइन, साझा डरमा आधारित हुन्छ । नेपाली राजनीतिमा भइरहेका अधिकांश गठबन्धन र पुनर्गठनहरू पनि यही मनोविज्ञानको उपज हुन् । राजावादी, राप्रपा, कांग्रेस, वा कम्युनिष्ट घटकहरूको पुनर्गठन - सबैमा एउटै सूत्र पाइन्छः तात्कालिक संकटबाट बच्ने स्वार्थी एकता । यस्ता प्रतिक्रियात्मक एकताले तात्कालिक लाभ दिन सक्छ, तर दीर्घकालमा त्यो नै फुटको कारण बन्छ । किनभने जब साझा स्वार्थ पूरा हुँदैन, त्यही स्वार्थ नै विरोधको कारण बन्छ ।

राजनीतिक शक्तिहरूको एकता कहिल्यै स्थायी मूल्यमा टिक्दैन; त्यो त केवल तात्कालिक समयको कारक  निर्णायक हुन्छ । त्यहाँ लाभ र डरको मूख्य भूमिका हुन्छ ।

४. एकता र निरंकुशताको मनोविज्ञान

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा एउटा एकता अभ्यास चल्दै छ भने अर्कातर्फ केपी ओलीको निर्देसात्मक महाधिवेसनको मञ्चन हुँदैछ । अन्य पनि शक्ति पहिचान, भूमिका र एकता खोजिरहेका छन ।   

यस्ता एकता वा निरंकुशता प्रायः “भय” बाट जन्मिन्छ । नेतृत्व जब बुढो हुन्छ, उसले धेरै कुरा गुमाउने डर महसुस गर्छ - सत्ता, सम्मान, पद, इतिहासमा आफ्नो स्थान । त्यसैले “बाह्य दुश्मन” र “आन्तरिक विरोधी” को भय सिर्जना गरेर सत्ता टिकाउने प्रवृत्ति बढ्छ । दलभित्र जनवाद (आलोचना र प्रतिस्पर्धा) लाई खतराको रूपमा हेर्ने यही डर हो । यदि नयाँ विचार र नेतृत्व उठ्यो भने पुरानो प्रभुत्व समाप्त हुन्छ भन्ने त्रासले नेतृत्व “अनुशासन” र “संगठन” को नाममा नियन्त्रण खोज्छ ।                                                               

सत्तामा रहँदा प्राप्त हुने सुविधा र सम्मानले नेताहरूलाई मनोवैज्ञानिक रूपमा आत्माकेन्द्रित बनाईदिन्छ  । त्यसपछि उनीहरू “पोस्ट - पावर सिन्ड्रोम” अर्थात् सत्ता - पछि - रिक्तताको भयम ग्रसित हुन्छन् । विरोधीलाई दमन गर्न प्रयोग गरिएको कानुन कहिल्यै आफ्नै विरुद्ध सक्रिय नहोस् भन्ने डरले उनीहरू रातभर निन्द्रा हराउँछन् । सरकारको हेरफेरसंगै आफैले नियुक्त गरिएका पात्रहरुले समेत स्वामीभक्ति ततकाल फेर्छन ।  त्यसैले यस्तो नेतृत्व विचारबाट होइन, भयबाट प्रेरित हुन्छ । सिद्धान्त केवल आवरण रहन्छ; आचरण स्वार्थबाट निर्देशित हुन्छ । 

आर्यघाट पुग्दा पनि नेतृत्वको श्रीपेच नफुकाल्ने सोच नियालिरहेको अर्को पुस्ता नेतृत्वको विरुद्द नयाँ तर्क निकालेर  बिद्रोृह सुरु हुन्छ । तर उनीहरुले कुनअवस्थामा कस्ले के गर्यो भन्ने अर्काइभमा भने  रहिसकेको हुन्छ ।

५. विश्वासको संकट र शक्तिको भ्रष्टता

राजनीतिक दलहरूको नयाँ एकताको सबैभन्दा ठूलो चुनौती हो - विश्वासको पुनर्निर्माण । पुराना नेताहरूको नैतिक पूँजी क्षीण भइसकेको छ, उनीहरूको वैचारिक ऊर्जा इतिहास बनेको छ । संघर्षकालमा जसले सादगी र त्याग देखाएको थियो, सत्तामा पुगेपछि वही व्यक्ति निर्णय, पैसा र पदको जालोमा फस्छ । त्यसपछि ऊ भन्छ - “मैले देशका लागि लडें, अब देशले मलाई दिनुपर्छ ।” यही मानसिकता कम्युनिष्ट आन्दोलनको नैतिक पतनको मूल कारक पक्ष  हो ।

भोग र विलासलाई “मेरो योगदानको पुरस्कार” ठान्ने आत्मऔचित्यले पार्टी एकताको आत्मा मर्छ । शक्ति जब नियन्त्रणविहीन हुन्छ, आत्मालाई डस्छ । त्यसैले सत्तामा टिक्ने एकता आदर्श होइन, केवल अस्थायी समझदारीको मुखुण्डो बन्न पुग्छ ।

मूल्यभन्दा स्वार्थ ठूलो भएपछि  एकता पनि रणभूल्ल र तत्कालीन समस्या हल गर्ने भन्दा पर्गेल्ने उपाय बन्न पुग्छ ।  

६. फुट, अहंकार र गुमेको सत्ताको मनोविज्ञान

फुट केवल संगठनात्मक विभाजन होइन, अहंकारको विघटन पनि हो । सत्ता गुम्दा नेतामा आत्म–संघर्ष सुरु हुन्छ । पहिले जसले सलाम गर्थे, पछि  बेवास्ता गर्छन् ।  त्यो अपमानले उनीहरूलाई प्रतिशोध र षड्यन्त्रको बाटोमा धकेल्छ । सल्लाहकार र चापलुसहरूले थप उकास्छन् - “तिमी बिना पार्टी र आन्दोलन ध्वस्त हुन्छ ।”

त्यो भ्रमले नेता फेरी नयाँ एकता र पुनरागमनको खेलमा प्रवेश गर्छ । पुराना सहयात्री भन्दा नव आगन्तुकमा भर पर्छन । तर नवआगन्तुकहरुले समयलाई छिटै चिनेर काज सकिएर फकिन्छन भन्ने चेत भयग्रसित नेतत्वले बुझन सक्दैन ।  तव हरेक यस्ता एकता अस्थायी हुन्छन ।

राजनीतिमा पार्टीभित्रको समिकरण फेरिदै रहन्छ । शक्तिशालीहरूको प्रतिक्रियात्मक एकता पनि हावा जस्तै हो - हार्दिकता पनि तत्काल त चिस्याउँछ, तर टिक्दैन । स्वार्थमा बनेको एकता अन्ततः स्वार्थकै विरोधमा भङ्ग हुन्छ ।

अन्तमाः 

नेपालको कम्युनिष्ट आन्दोलनले राजनीतिकभन्दा बढी मनोवैज्ञानिक उपचार आवश्यक पारिरहेको छ । इतिहासले शिक्षा दिन्छ, नलिनेलाई दण्ड । एकता विचारको शक्तिबाट होइन, डर, अवसर र सुविधा - प्रेरित प्रतिक्रियाबाट भयो भने त्यो तर्क उमार्दै अनिवार्य रूपमा पुनः फुटमा फेरिन्छ  । विचारको शक्ति बिना, एकता र फुट सधैँ कृत्रिम रहन्छन ।

आदर्श मरेको छैन, तर त्यसलाई बोकेका  कयौँ पात्रहरू थाकेका छन् । त्यो आत्मास्वीकृति र आत्माबोध नै पुनर्जागरणको बाटो  बनेर  फेरी नयाँ आशा र विश्वास जाग्रित सुरु हुन्छ - जब एकता स्वार्थ होइन, सिद्धान्त र आत्म – साक्षात्कारको अभ्यास बन्छ ।
 

टिप्पणीहरू