राजु पाण्डेको फुली, सरोजसँग मिलिजुली
आफूलाई नेपाल प्रहरीको एसएसपी बराबर भन्दै कालो चश्मामा थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय डोजर लगाएर भत्काउन जाने राजुनाथ पाण्डे मेयर बालेनका इमान्दार सिपाही हुन् ।
बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेशमा रोक लगाएपछि राजुनाथ पाण्डे थिए । त्यसरी पदीय मर्यादा र जिम्मेवारीको दुरूपयोग गरेको भन्दै पछि गुरागाइँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरे । अन्तरिम आदेशका लागि अदालत पुगेका पाण्डे अर्को आदेश नभएसम्मका लागि काम काज नरोक्नु भन्ने पत्र लिएर फर्किए र आफैँलाई बालेन सम्झन थाले । उनले बोक्ने सेटमा मातहतका कर्मचारीलाई प्रयोग गर्ने भाषा रेकर्ड सुन्ने हो भने उनको आनीबानी छर्लङ्ग हुन्छ ।
छ महिनाका लागि निमित्त नगरप्रहरी प्रमुख बनेका पाण्डे साढे दुई वर्ष बितिसक्दा पनि कुर्सीमै छन् । उनले लगाएको फुली नै गैरकानुनी छ । विद्यासुन्दर शाक्य मेयर हुँदा कर्मचारी समायोजनका नाममा निरीक्षकबाट दुई तह वृद्धि भई एसपी बन्न सफल भएका थिए । तह वृद्धि पनि नियमविपरीत छ ।
यी सबै कुरा जान्दाजान्दै पनि पाण्डेलाई कामु एसएसपी पदमा लैजान आदेश दिने बालेन र फुली लगाइदिने तात्कालिन प्रशासकीय प्रमुख वसन्त अधिकारी दुवै दोषी हुन् । जेनजी आन्दोलनभन्दा अघिसम्म गुरागाइँलाई सार्न खोज्ने बालेन अहिले भने सरोज नै ठीक हो भन्न थालेका छन् । उता राजु पाण्डेलाई एसएसपी पदमा राखिराख्न गुरागाइँले मौखिक सहमति गरेको बुझिएको छ । त्यसै कारण उच्च अदालतले आदेश दिँदा पनि त्यसलाई कार्यान्वयन नगरी सरोज गुरागाइँले राजु पाण्डेलाई हटाएका छैनन् ।
जेनजी आन्दोलन भएका बेला भाद्र २३ र २४ गते राजुनाथ पाण्डे, उनका सल्लाहकार सुनिल लम्साल, अर्का सल्लाहकार सन्तोष पाण्डेले मध्यराति सरोज गुरागाइँको घरमै गएर धम्क्याएका थिए । नेताहरूको घर डढेकाले ख्याल गर्न भन्दै सोहीअनुरूप काठमाडौं टावरको स्वीकृत नक्सा फेर्ने निर्णयलगायत केही फाइलमा पुरानो मिति राखेर हस्ताक्षर गर्न लगाइएको बुझिएको छ ।
यस्तै बलजफ्तीबाट हौसिएका राजुले डोजरसहित एसपी पूर्णचन्द्र भट्टराईको नेतृत्वमा तीनदर्जन बढी नगर प्रहरीलाई गत हप्ता थापाथलीस्थित महिला मात्रैले चलाउने ट्राफिक कार्यालय भत्काउन पठाएका थिए ।
नेपाल प्रहरीसँग मुठभेड हुने अवस्था आएपछि ११ नं.का वडाध्यक्ष हिरालाल तण्डुकार गएर भत्काउनबाट रोकेका थिए । बालेन र सरोजको हिमचिम बढेको तथा काठमाडौं टावरको फण्डा पनि मिलिसकेको महानगरका कर्मचारीको बुझाइ छ ।
टिप्पणीहरू