ग्लोबल भिडियो मिडिया फोरम शुरु,साझेदारीवारे सल्लाह

चीनको पुरानो राजधानी सिआनमा ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म र १३ औं ग्लोबल भिडियो मिडिया फोरम शुरु हुन लागेको छ ।

सिसिटिभी भिडियो न्युज एजेन्सी, चिनियाँ कम्युनिष्ट पार्टीको सिआन नगर समिति र चाइना मिडिया ग्रुपअन्तर्गत सान्सी ब्युरोको आयोजना तथा चाइना ग्लोबल टेलिभिजन नेटवर्कको सहयोगमा भोलि र पर्सि हुन लागेको कार्यक्रममा विशेषगरी कम विकसित र विकसित मुलुकका विभिन्न सञ्चारमाध्यम,सञ्चारकर्मी,सञ्चार क्षेत्रमा देखिएका नयाँ प्रविधिलाई आत्मसात् गर्दै अझ कसिलो हातेमालो गरेर अघि बढ्नेबारे विचार विमर्श गरिँदैछ । 

विश्व सञ्चारमाध्यममा परम्परागत अखबार,रेडियो,टेलिभिजन र अनलाइनको ठाउँ पछिल्लो समय न्यु मिडियाका विविध स्वरुपले ओगट्न थालेको पाइन्छ । विश्वविख्यात चिनियाँ सञ्चारमाध्यमहरुको पहलमा चीनमा यस्तो जमघट १२ पटक भइसकेको छ ।

सिसिटिभी प्लसले सन् २०११ मा पहिलो पटक ग्लोबल भिडियो मिडिया फोरमको आयोजना गरेको थियो । यो फोरम विशेषगरी भिडियो माध्यममा देखिएका नयाँ कोण,विकसित उच्च प्रविधि,स्रोता र दर्शकको बदलिँदो रुचीलाई कायम राख्दै तेस्रो विश्वका मुलुकहरुबीच सहकार्य,अनुभव आदानप्रदान गर्ने उपयुक्त थलोको रुपमा विकसित भएको हो । समाचारको नाममा विश्वमा हुने गरेको एकपक्षीय प्रचारले विशेषगरी ग्लोबल साउथका मुलुक र त्यहाँका जनता नराम्रोसँग प्रभावित हुने गरेका छन् ।

भोलिको औपचारिक समारोह र कार्यक्रमअघि आज सिआनमा सहभागी पाहुनाहरुको सम्मानमा विशेष रात्रिभोजको आयोजना गरिएको छ । आजै साँझ सिआन शहरको मध्यभागमा रहेको नगरको प्रख्यात पर्खालको मुख्य प्रवेशद्वारमा थाङ वंशकालीन प्रस्तुती देखाइएको थियो ।

यस पटकको फोरममा जनआस्था मिडियाको पनि सहभागिता रहेको छ ।

 

टिप्पणीहरू