एउटा देशको दुर्गन्धबाट अर्को मुलुकका नागरिक पीडित

एउटा देशको दुर्गन्धबाट अर्को मुलुकका नागरिक पीडित

सिंगापुरको उत्तरपूर्वी क्षेत्रमा रहेको पुङ्गगोललगायतका बस्तीका स्थानीयले पछिल्ला वर्षहरूमा मलेसियाको जोहोरस्थित पासिर गुदाङ औद्योगिक क्षेत्रबाट आउने धुवाँ र रासायनिक दुर्गन्धका कारण हैरान भएको जनाउँदै सरकारसमक्ष उजुर गरेका छन् ।

सन् २०२१ मा पुङ्गगोलस्थित आफ्नै अपार्टमेन्टमा सरेकी ४२ वर्षीया क्रिस्टिन लीले पहिलो पटक चार वर्षअघि त्यहाँको हावामा आफूूले ‘तेजाब झैँ पोल्ने दुर्गन्ध’ महशुस गरेको बताइन् । ‘कहिलेकाहीँ त्यो गन्ध हप्तौं र महिनौंसम्म रहिरहन्छ। सुरुमा त बान्ता हुनेगरी दुर्गन्ध आउँथ्यो,’ उनले भनिन्। उनका अनुसार ‘कहिले पोल्ने रासायनिक गन्ध र कहिले जलेको जस्तो धुवाँको गन्ध ।’

लगातारको गन्ध र प्रदूषणका कारण उनले आफ्नो घरमा एयरकन्डिसन र पंखा जडान गरेकी छन् । ‘दुषित हावा भित्र नआओस् भनेर हामी प्रायः झ्याल बन्द राख्छौं,’ उनले भनिन् । 

स्थानीय बासिन्दाहरूका अनुसार, जोहोर बाह्रुस्थित पासिर गुदाङ क्षेत्रमा रहेका रासायनिक तथा पेट्रोकेमिकल उद्योगहरूबाट निस्किने धुवाँ र ग्यास सिंगापुरतर्फ बग्ने हावासँगै आइपुग्छ । यसले केवल पुङ्गगोल मात्र होइन, आसपासका अन्य आवासीय क्षेत्रमा पनि असर पारिरहेको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार मलेसिया र सिंगापुरका वातावरणीय निकायहरूले त्यसबारे अनुगमन र वार्ता गर्दै आएका छन् । तरपनि गम्भीर वातावरणीय समस्या स्थायी रूपमा समाधान हुन नसकेको स्थानीयको भनाई छ । उनीहरुले सरकारसँग ‘सीमापार प्रदूषण नियन्त्रणका लागि ठोस कदम’ लिन आग्रह गर्दै आएका छन्।

टिप्पणीहरू