प्रधानमन्त्रीलाई बालेन के भनेर सुर्याउँछन् ?
आफैँले कानुनी सल्लाहकार बनाएका गृहमन्त्रीसँग सम्बन्ध बिगार्न थालेका बालेन अरु मन्त्रीलाई भेट्न पनि अनिच्छुक देखिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग असाध्यै राम्रो सम्बन्ध बनाएका उनले अरुलाई बाल मतलब नगर्ने नीति बनाएका छन् । ‘बालेनले हामीमध्ये अरू कसैलाई पनि भेट्दैन,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूसँग चाहिँ बालेनको निकटतम सम्बन्ध पहिलेदेखि नै रहेछ ।’
लागेका कुरा बोलिहाल्ने कार्कीको स्वभावलाई कतिपयले इमान्दार भनेर टिप्पणी गरिरहेका छन् । बालेन पनि कार्कीलाई रुचाउनेमध्येमै पर्दछन् । उनैले प्रस्ताव गरेअनुसार कार्की प्रधानमन्त्री भएकी हुन् । यसैले सुशीलाले बेलाबेला दलसँग भिड्नुुपर्ने आशय बालेनको हुने गरेको छ । ‘अलि खरो सुनिए पनि प्रधानमन्त्रीज्यू असाध्यै निर्दोष र इमानदार टाइपको हुनुहुन्छ । जेनजीको माग त पूरा गर्नुपर्छ हजुर । जेनजीकै कारणले नै हजुर सत्तामा आउनुभएको छ । पुराना र सडेका दलका कुरा सुनेर हुँदैन– बालेनले भेटेर यसरी उकास्ने गरेको छ भन्ने सुन्छौं,’ स्रोत भन्छ ।
सुशीलाले नै यसबीच पार्टी खोल्न सुझाएकी थिइन् तर बालेनले अहिले इच्छुक छैन भन्दै टारेको बुझिएको छ । ‘बालेनलाई पार्टी खोल न भन्दा म त अहिले खोल्दिनँ भन्थ्यो रे,’ स्रोतले भन्यो, ‘उसको पार्टी खोल्ने योजना आउँदो चुनावलाई छैन भन्ने बुझेका छौं ।’ सिंहदरबार जलेपछि बालेन रक्षात्मक भएका छन् । यसअघि जलाउँछु भनेर स्टाटस लेखेका थिए । भदौ २३ गतेको आन्दोलनलाई नैतिक समर्थन पनि गरिदिए । सोही दिन १९ युवा मारिएको आक्रोशमा भोलिपल्ट सिंहदरबार जलेर खरानी भइदियो ।
दोस्रो दिनदेखि जेनजीले नै खोज्दा पनि बालेन उपलब्ध भएनन् । यसैले उनीमाथि पनि दबाब बढ्यो । समर्थकले नै सिंहदरबार जलाउनमा उनकै भूमिका रहेको भन्दै सन्देह व्यक्त गर्न थाले । सिंहदरबार र सर्वोच्च जल्दा दमकल नपठाएको भन्दै भयानक आलोचना भयो । त्यसले बालेनमाथि झन् दबाब बढाएको स्रोत बताउँछ । त्यसपछि उनी थप रक्षात्मक भएका छन् । केही दिन त आफूले गरेको कामको प्रचार गर्दै पुराना कुरा भुलाउनतिर पनि लागे । आफूमाथि गम्भीर सवाल खडा भएपछि केही दिन लुकेरै बसेको समेत स्रोत बताउँछ । भीडलाई उत्तेजक बनाएको भन्दै एमाले युवाहरूले किटानी जाहेरी दिने तयारी भएपछि बालेनले मुख खोलेका थिए ।
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू