बेइजिङमा विश्व महिला शिखर सम्मेलन, राष्ट्रपति सीको मुख्य सम्बोधन

बेइजिङमा विश्व महिला शिखर सम्मेलन, राष्ट्रपति सीको मुख्य सम्बोधन

चीनको राजधानी बेइजिङमा आगामी साता विश्व महिला शिखर सम्मेलन आयोजना गर्न  लागिएको छ । आगामी सोमबार र मंगलबार हुने सम्मेलनको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा राष्ट्रपति सी जिनपिङले सम्बोधन गर्ने कार्यक्रम छ ।

सन् १९९५ मा बेइजिङमा आयोजित संयुक्त राष्ट्रसंघको चौथो विश्व महिला सम्मेलनको ३०औँ वार्षिकोत्सवका अवसरमा आगामी शिखर सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ । ३० वर्षअघि जारी ‘बेइजिङ घोषणा र कार्ययोजना’ मा लैङ्गिक समानता र महिला सशक्तीकरणको विश्वव्यापी एजेण्डा उल्लेख थियो ।

चीन र संयुक्त राष्ट्रसंघीय महिला संगठनले संयुक्त रुपमा आयोजन गर्न लागिएको  सम्मलनले लैङ्गिक समानता र महिला विकासको विश्वव्यापी अभियानमा नयाँ गति ल्याउने उद्देश्य राखिएको छ । सम्मेलनमा दर्जनौं मुलुकका राष्ट्रप्रमुख, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख र मन्त्रीस्तरीय अधिकारीहरु सहभागी हुने तयारी छ ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टका अनुसार पछिल्ला केही महिनामा चीनले सम्मेलन तयारीका क्रममा राष्ट्रपति सी जिनपिङका महिला अधिकारसम्बन्धी भाषण र लेखहरू समेटिएका दुई पुस्तक र एउटा श्वेतपत्र सार्वजनिक गरेको छ । ती सामग्रीमा लैङ्गिक समानता, पारिवारिक मूल्य र महिला संघको भूमिकाबारे नीति निर्देशन समावेश छन्।

राष्ट्रपति सी ले चीनमा महिलाको हकका लागि १०० भन्दा बढी कानुन तथा नियमावली कार्यान्वयन भइसकेको र राज्य–वित्त पोषित शिक्षामा लैङ्गिक अन्तर समाप्त भएको दाबी गर्नुभएको छ । उहाँले २०२० मा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकमा सहभागी हुँदै ‘महिलाको अधिकार सुनिश्चित गर्नु राष्ट्रिय संकल्प हुनुपर्ने’ अभिव्यक्ति दिनुभएको थियो ।

हालै प्रकाशित श्वेतपत्रमा भनिएको छ, ‘चिनियाँ महिलाले आजसम्म कहिल्यै नपाएका अवसर पाएका छन्, उनीहरू आफ्नो क्षमता र सपना साकार पार्न सक्षम भएका छन्।’

यसबीच चीनभर आयोजित गोष्ठीहरूमा डिजिटल युगमा महिला अधिकार र अवसरका विषयमा छलफल भएको छ । सरकारी पहलअन्तर्गत महिलालाई डिजिटल प्रविधि, डेटा विश्लेषण र विज्ञान–प्रविधि क्षेत्रमा रोजगारमूलक सीप विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

आगामी बेइजिङ सम्मेलनमार्फत् चीनले पुनः अन्तर्राष्ट्रिय समुदायलाई महिला सशक्तीकरण र समानताको एजेन्डामा आफ्नो भूमिका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू