सिंहदरबारमा आगो लागेपछि बालुवाटारतर्फ सोझिएका थिए सुदन
‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुदन गुरुङको दोहारो चरित्र क्रमश: उदाङ्गो भैरहेको छ । जेन-जी प्रदर्शनको क्रममा ध्वंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गर्दै आएका उनी तोडफोड र आगजनी गर्ने समूहसँग रमाउँदै हिँडेको भिडिओ सार्वजनिक भएको हो ।
गुरुङले दुई साताअघि पत्रकार सम्मेलन गर्दै सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायका सार्वजनिक संरचनामा आफूहरुले तोडफोड तथा आगजनी नगरेको र त्यस क्षेत्रमा पनि नगएको दावी गरेका थिए । वास्तविक जेन-जीहरु (आफूलाई इंकित गर्दै) प्रदर्शनको पहिलो दिन दिउँसो १ बजे घर फर्किसकेको र दोस्रो दिन पनि साढे १२ बजे (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पत्र सार्वजनिक भइसकेपछि) घर फर्केको उनको जिकिर थियो ।
स्वार्थ समूहले नै घुसपैठ गरेर भौतिक संरचनामा तोडफोड र आगजनी गरेका कारण त्यसको जिम्मेवारी आफूहरुले नलिने भन्दै गुरुङले चर्का कुरा गरेका थिए । तर, यतिबेला उनको त्यसो दावीलाई खण्डन गर्नेगरी एउटा भिडिओ सार्वजनिक भएको छ, जहाँ उनी आगजनी हुँदै गर्दा रमाएर हिँडेको देखिन्छ ।
सिंहदरबारमा आगो लाग्दै गर्दा गुरुङ केही युवाहरुसँग हिँडिरहेको उक्त भिडिओमा देखिन्छ । उनको अगाडि केही युवाले बाइक हुँइक्याउँदै ‘अब बालुवाटार’ भनेको सुनिन्छ ।
‘हामी नेपाल’को लोगो अंकित हाफ ज्याकेट लगाएका गुरुङको पछाडि आगो दन्किरहेको भिडिओमा देखिएको छ भने उस्तै पोशाकमा रहेका युवाहरु होहल्ला गर्दै अघि बढेका छन् । यसले साढे १२ बजे घर फर्किसकेको उनको दावी प्रथम दृष्टिमै झूठो प्रमणित गरेको छ ।
घटनाक्रम अनुसार त्यस क्षेत्रमा दुई बजेपछि मात्रै आगो लागेको थियो । अर्थात, गुरुङसहितका युवाहरु तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामापछि पनि सडकमै थिए । यसले तोडफोड र आगजनीमा उनीहरुको संलग्नतामाथिको आंशकालाई बल पुर्याएको छ ।
टिप्पणीहरू