अध्यक्ष नछोड्ने रणनीतिमा ओली
विदेशी शक्ति केन्द्रको षड्यन्त्रका नाममा भावनात्मक तर्क गरेर प्रधानमन्त्रीको कुर्सी नछोड्न अन्तिमसम्म अड्डी कसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उठेको नेतृत्व परिवर्तनको बहसलाई पनि त्यसैगरी पन्छाउने रणनीति बनाएका छन् । जेनजी उपद्रव थेग्न नसकेपछि पद छोडेर भागेका र १० दिन सैनिक ब्यारेकमा बसेर सार्वजनिक भएका ओली अहिले राजनीतिक गतिविधिमा सक्रिय भैसकेका छन् । नेताहरूसँग भेटघाट बाक्लो बनाएका उनले आफूलाई षड्यन्त्रपूर्वक अपदस्थ गरिएको भन्दै सहानुभूति लिएर नेतृत्वमा रहिरहने रणनीति अपनाएका हुन् ।
एउटै कम्पाउण्डमा रहेको बालकोटको दुई वटा घर विध्वंसकारीले आगो लगाएर ध्वस्त पारेपछि ओली महेश बस्नेतले व्यवस्थापन गरिदिएको भक्तपुरको गुण्डूस्थित भाडाको घरमा सरेका छन् । बताइएअनुसार यो घर एमाले नेता तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको हो । यहिँ बसेर भावी योजना बनाइरहेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सचिवालय सदस्यहरुसँग एक चरण छलफल गरिसकेका छन् । यस्ता भेटमा देशी–विदेशी शक्तिहरूले षड्यन्त्र गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको जिकिर ओलीको रहने गरेको बताइन्छ ।
‘विदेशीको षड्यन्त्र थियो होला । तर, पार्टीको मात्र होइन देशकै जिम्मा लिएर बसेको मान्छेले ममाथि षड्यन्त्र भयो भनेर उम्कन मिल्छ र !’, एमालेका एक पदाधिकारी भन्छन्, ‘राजनीतिमा षड्यन्त्र त जहिले पनि भैरहन्छ । त्यसलाई चिरेर अघि बढ्न सक्नु पो नेतृत्वको खुबी हो ! नत्र अरू नेता र मुख्य नेतृत्वमा के फरक भयो ?’
बिडम्बना कस्तो रह्यो भने देश, जनता, पार्टी र कार्यकर्ताको रक्षा गर्नुपर्ने दुई तिहाईका शक्तिशाली प्रधानमन्त्री ओलीले सेना प्रमुखको हातमा राजीनामा पत्र थमाएर हेलिकोप्टर चढी ज्यान जोगाउनुपर्यो । बहालवाला प्रधानमन्त्री सरकारी निवासबाटै भागेको सम्भवतः नेपाली राजनीतिमा यो नै पहिलो घटना हो । तर, अध्यक्ष ओलीमा यो सबै परिस्थितिप्रति अलिकति पनि आत्मालोचनाको भाव नदेखिएको नेताहरू बताउँछन् ।
खासमा जेन–जी आन्दोलनका नाममा भएको यो विध्वंशको मुख्य कारक सरकार र राजनीतिक दलहरू नै हुन् । देशको प्रधानमन्त्री र सत्ताधारी पार्टीको अध्यक्षसमेत भएकाले अन्य नेताभन्दा ओली यसप्रति बढी जिम्मेवार हुनैपर्छ ।
‘एकजना ओलीको हठले गर्दा देश, जनता, पार्टी, कार्यकर्ता र जनप्रतिनिधिले दुःख पाए । एमाले भएवापत दर्जनौँ नेता–कार्यकर्ताको घर जलाइयो । कैयौं जनप्रतिनिधिले भागेर ज्यान जोगाएका छन् । तर, यो सबैप्रति नैतिक जिम्मेवारीको भाव उहाँमा देखिएको छैन’, उनै नेताको भनाइ छ, ‘अमूर्त शब्दजाल ओछ्याएर पानीमाथिको ओभानो बन्दै नेतृत्व नछोड्ने तयारी पो देखिँदैछ ।’
यो घटनामा राज्यको सुरक्षा रणनीति असफल हुनुमा पनि ओलीको कार्यशैली नै जिम्मेवार देखिन्छ । आफूलाई सर्वज्ञाता ठान्ने र सबैलाई हप्कीदप्की गर्ने उनको स्वभावका कारण सुरक्षा निकायले सही सूचना नदिएको र अन्तिममा सेना प्रमुखले राजीनामा माग्नेसम्मको अवस्था बनेको तथ्य बाहिर आइ नै सकेको छ । देशको कार्यकारी प्रमुखले भोलिपल्ट बिहान आफ्नो सरकार ढल्दैछ भन्ने कुराको सामान्य सुइँको अघिल्लो दिनमा समेत नपाउनुले प्रधानमन्त्री र राज्यका निकायहरूबीचको सम्बन्ध र समन्वय कति दयनीय रहेछ भन्ने प्रष्ट हुन्छ ।
‘सरकार जाँदैछ भन्ने कुरा अघिल्लो दिनसम्म प्रधानमन्त्रीलाई थाहै नहुने यस्तो किसिमको सूचना संयन्त्र र नालायकीको पराकाष्ठा हो यो’, एमाले स्रोत खुलाउँछ, ‘षड्यन्त्र हो भने त्यसको गन्धसमेत थाहा नपाउने पनि हुन्छ ? २२ गते गोदावरीमा धम्कीपूर्ण भाषा बोल्ने । सबै मेरो नियन्त्रणमा छ भन्ने । तर, एक दिन पछाडि के हुँदैछ भन्ने पनि थाहा नहुने !’
विश्वभर बेलायतको एकछत्र साम्राज्य चलिरहेका बेला राणा प्रधानमन्त्री जंगबहादुरले समेत भूराजनीतिक सन्तुलन मिलाएर जोगाएको देश हो यो । पृथ्वीनारायण शाहले त्यसै २ ढुंगाको तरुल भनेका थिएनन् । जंगबहादुर र पृथ्वीनारायणसँग न औपचारिक पढाई थियो, न कूटनीतिको सैद्धान्तिक ज्ञान ! अहिलेजस्तो सूचना, प्रविधिको विकास त्यतिबेला थिएन । केवल राजकाजको अनुभवबाट प्राप्त ज्ञानको प्रयोग गरेर उनीहरूले देशलाई विदेशी हस्तक्षेपबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
तर, आफूलाई हरेक विषयको जानकार ठान्ने, महाभारतदेखि गरुड पुराणसम्मका कुरा निकालेर घण्टौं प्रवचन दिनसक्ने, कार्यकर्ता र कर्मचारीलाई हप्काउने ओली यति निरिह देखिए कि भूराजनीतिक परिस्थितिको पूर्वानुमान गर्नै सकेनन् । यो सबै घटनाक्रमको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टी पुनर्गठन गरेर जानुपर्ने माग अहिले एमालेमा उठिरहेको छ ।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई भेटेर ‘पार्टी र तपाईंका बारेमा बाहिर राम्रो धारणा छैन, यसको कारण खोज्नुपर्छ’ भन्दै नेतृत्व छोड्न आग्रह गरेका थिए । तर, रिसाउँदै ओलीले उल्टो प्रतिप्रश्न गरे, ‘मलाई सिध्याउन खोजेका बेला हटाउन खोज्ने ?’
‘राज्य र पार्टीको नेतृत्व गर्ने तर घटनाक्रम यसरी विकास भएको रहेछ भन्ने कुरामा बेखबर देखिनुभयो, तपाईं जानकार भएको भए हामीले थाहा पाउनुपर्ने होइन ?’, वरिष्ठ उपाध्यक्षको प्रश्नमा ओलीको जवाफ रह्यो, ‘मलाई अलिअलि थाहा थियो ।’
त्यसपछि पार्टीलाई विधानतः सिष्टममा नचलाएकै कारण कार्यकर्ता पंक्तिमा निराशा छाएको कुरा उठ्यो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रूपमा ओलीको भूमिका ब्यासासनमा बसेर पुराण भन्ने पण्डितको जस्तो मात्रै देखियो भन्ने गुनासो एमालेमा पहिलेदेखि नै उठ्दै आएको हो । पुराण सुन्न बसेका भक्तजनले बीच–बीचमा ‘प्रभुकी जय हो’ भनेजसरी अब पार्टी चल्दैन भन्नेमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालबाहेक सचिवालयका सबै एकमत छन् ।
भदौ २४ गते बिहान बालुवाटार पुगेका विष्णु पौडेल, शंकर र प्रदीपको बेहाल भयो । आन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री निवास विध्वंशकारीको निशानामा पर्दै थियो । तर, उनीहरूलाई त्यहीँ छोडेर ओली पत्नी राधिका शाक्य, पिए राजेश बज्राचार्य र सल्लाहकार विष्णु रिमाललाई मात्र लिएर सैनिक हेलिकोप्टरमा उडे । त्यसपछि अलपत्र परेका तीन भाइले ज्यान जोगाउन निकै कष्ट व्यहोर्नुपर्यो ।
शुरुमा कांग्रेसी नेता राजेन्द्र बजगाईंको वर्णबास होटलमा गएका उनीहरू त्यहाँ आगो लागिरहेको देखेपछि प्रहरी हेडक्वार्टर छिरेका थिए । तर, त्यहाँ पनि आक्रमण हुन थालेपछि राती ११ बजे सेनाले उनीहरूलाई अर्को ठाउँमा सारेको थियो । ‘त्यसदिन यी तीन जना मारिएको भए के हुन्थ्यो ?’ भन्ने कोणबाट पनि एमालेमा प्रश्न उठाउन थालिएको छ ।
‘यो सबै कुराको रियलाइजेसन छैन । बैठक राखौँ भन्दा दशैंपछि भन्छन्’, सचिवालयका नेता भन्छन्, ‘व्यक्ति–व्यक्तिलाई बोलाएर खुसुखुसु कुरा गर्नसक्ने तर बैठक बोलाउन आनाकानी गर्नुले यिनी अझै पनि सुध्रिने छाँट देखिएन ।’
अध्यक्ष नछोड्ने प्रष्ट सन्देश दिइसकेका ओली सचिवालयमा पकड कायमै राख्न भित्रभित्र सक्रिय हुनुले ११ औँ महाधिवेशनमा पनि उम्मेदवार बन्ने तयारीमा रहेको अनुमान गर्न सकिन्छ । त्यसका लागि पार्टीका तर्फबाट निवर्तमान मन्त्रीहरूलाई फकाउने रणनीतिमा उनी रहेको बताइन्छ । उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पिएस गुरुङ ओली क्याबिनेटमा मन्त्री भएका सचिवालयका नेता हुन् ।
मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा रहेर ओलीले अप्ठेरो अवस्थामा देश, जनता, पार्टी र कार्यकर्ताको रक्षा गर्न सकेनन् । तर, अहिले भने ‘सरकारले हामीलाई जेल हाल्न आयोग बनाउँदैछ, एकतावद्ध भएनौँ भने एक–एक छानेर कारबाही गर्छ । त्यसैले मिलेर प्रतिवाद गर्नुपर्छ’ भन्दै पार्टीबाट मन्त्री भएका नेतालाई पालैपालो बोलाएर फर्काइरहेको नेताहरू बताउँछन् ।
ओली पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति भने अझै पनि सकारात्मक नरहेको बताइन्छ । तीन दिनअघि गुन्डु पुगेका एक नेताका अनुसार परिस्थिति बदलिएकाले नयाँ ढंगले जानुपर्ने सुझाव उनले दिएका थिए । तर, ‘यिनीहरूसँग कसरी मिलेर जान सकिन्छ !’ भन्दै उल्टो आक्रोश पोखेको उनले बताए ।
विश्वासको संकट कतिसम्म भने सेनाले कुन ब्यारेकमा राखेको थियो भन्ने कुरा वरिष्ठ उपाध्यक्षलाई समेत भनिएको छैन । अपमानको प्याला पिएर भए पनि यस्तो बेला जोरीपारी हँसाउन हुँदैन भन्ने पवित्र भावनालाई अध्यक्षले दुरूपयोग गरेको ठान्नेहरू एमालेमा धेरै छन् ।
टिप्पणीहरू