म्याजिक चढ्नेको खल्ती भसक्कै
आज बिहान करिब पौने ११ बजे चौबीसकोठीबाट पुल्चोकतर्फ गएको लोकल रुटको एउटा म्याजिक गाडीमा पछाडि चारजना सवार थिए । चालकपछाडि यात्रु बस्ने आमने–सामने सिटमा एकापट्टि दुईजना वृद्ध र अर्काेतिर दुईजना अधबैंशे पुरुष थिए ।
अगाडि चालकको साइडमा एउटी महिला र सेतो टिसर्ट लगाएका ड्राइभर थिए । चौबीसकोठीबाट थपिएका अर्का एक यात्रु पछाडि लहरको बीचमा गएर बसे । त्यसपछि सो लहरका एक जना उठेर वृद्धहरुको छेउमा तीनजना हुन पुगे । पछाडिका अर्का युवकचाहिँ गर्मी भयो भन्दै प्यासेजको खाली मुढामा सरे ।
म्याजिक नारायणगढतर्फ अघि बढ्दै थियो, बीचमा बसिरहेका वृद्ध ढोका छेउपट्टिका अर्का वृद्धपट्टि संकेत गर्दै एक्कासी चिच्याए । हुन त हेर्दा भद्र नै देखिने ढाका टोपी र सायद स्टकोटसमेत भिरेका अर्का वृद्धको हात ती कराउने वृद्धको पाइन्टको पछाडि खल्तीतिर नै थियो ।
उनले खल्तीमा चोरीका लागि खुसुखुसु हात घुसारिरहेको चाल पाएपछि चोर्न खोजेको भन्दै अर्का वृद्ध कराएका थिए । तर, आरोपित वृद्धले ‘पछाडि हात राख्दैमा चोर्नलाई हुन्छ ?’ भन्दै कराउनेलाई नै हिर्काउन हात ताके ।
चोर भनिएका ती वृद्धको घुँडामा घाउ भएजस्तो सेतो पट्टीसमेत बाँधिएको देखिन्थ्यो । पैसा ननिकालिसकेको अवस्थामा अलिअलि भनाभन मात्रै भयो । म्याजिक गुडीरह्यो । चोर दोष लाउने वृद्ध अलि अघि ओर्लिए । चोर भनिएका अर्का व्यक्ति शहिदचोकमा ।
शहिदचोकमा भाडा तिर्ने बेलामा ती पाकेटमार भनिएका वृद्धलाई म्याजिक चालकले पनि कराए । ‘तपाईंहरु अब मेरो गाडीमा नचढ्नुस् ’ भनेर चालकले सबैको अगाडि कराउँदा ती व्यक्ति बोल्न पनि सकेका थिएनन् ।
पछि सोध्दा चालकले त्यो मान्छे साँच्चिकै चोर भएको, आफूले पटक–पटक देखेर उनीहरुलाई चिनिसकेको बताए । ती वृद्ध र पछि मुढामा सरेका अर्काे व्यक्ति पनि चोर नै रहेको चालकको दाबी छ । यसरी अहिले यता म्याजिक गाडीहरुमा चढेर यात्रुको पैसा चोर्दै हिँड्ने उनीहरु ६–७ जनाको गिरोह नै रहेको चालकको भनाइ छ ।
उनीहरु म्याजिक गाडीहरुमा यताउता आवतजावत गर्दै यात्रुजनको पाकेट मार्न सक्रिय रहेको ती चालक बताउँछन् । म्याजिक गाडीभित्रको सिटमा एक लहरमा आज तीन–तीन जना यात्रु बस्दा त दिनदहाडै पाकेट मार्न खोजिन्छ भने दुवै लहरमा चार–चार जना र बीचका मुढाहरुमा समेत यात्रुहरु कोचाकोच भएको अवस्थामा के होला ?
यात्रुहरुले विशेष सावधानी अपनाउनैपर्ने देखिन्छ । म्याजिक गाडीहरुमा सधैं मुढामा समेत यात्रु खाँदेरै बोक्ने गरिन्छ । उता पश्चिम चितवन रुटमा चल्ने मिनीबसहरुमा पनि यात्रु भरिँदा उठमउठ नै भीड लाग्छ । भरतपुरबाट–कावासोती डण्डा रुटमा चल्ने मिनीबसहरुमा पनि समयानुसार उठेर यात्रा गर्नुपर्ने गरी भीड लाग्छ ।
अटोहरुमा त सार्वजनिक भाडादरभन्दा बढी भाडा लिएर पाएसम्म चालकले नै यात्रु लुट्ने गरेका छन् । चाडबाडको बेला सार्वजनिक यातायातहरुमा यात्रु अझ बढी भरिएर खुट्टा टेक्ने ठाउँसमेत हुँदैन । पहिले–पहिले दशैंतिहारमा चाडबाडलक्षित विशेष सुरक्षा योजना सञ्चालन गरी यात्रुहरुको सुरक्षाका लागि सार्वजनिक सवारी साधनहरुमा समेत सादा पोशाकका प्रहरी परिचालन गरिन्थ्यों ।
अहिले भरतपुर, चितवनको ट्राफिक र प्रहरी जनशक्ति पहिरो पन्छाउन र बाटो खुलाउन नारायणगढ–मुग्लिन सडकखण्डमै बढी मात्रामा खटिनुपरेको छ । बजार एरियातिर प्रहरी बलको खासै उपस्थिति देखिँदैन । यही बेला सार्वजनिक यातायातमा समेत चोरहरु सल्बलाउन थालेको पाइन्छ । यसअघि भरतपुर, चितवनतिर सार्वजनिक सवारी साधनहरुमा चोरीको चर्चा खासै सुनिएको थिएन ।
यससम्बन्धी प्रहरीमा रिपोर्ट पनि आएको थिएन । चोरी, लुटपाट, ठगी, विध्वंशजस्ता विभिन्न आपराधिक क्रियाकलापमा लाग्नेहरु सँधै मौकाको ताकमा रहने गरेका छन् । जिल्ला प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार जेन जी विध्वंशको मौकामा चोरी लुटपाट गर्ने सात जना पक्राउ परिसकेका छन् ।
टिप्पणीहरू