विद्या, केपी दुबै नेता भेट्ने अभियानमा

विद्या, केपी दुबै नेता भेट्ने अभियानमा

जेन–जी उपद्रोको दबाबले दुई दिनमै सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भक्तपुरको गुन्डूमा बस्दै शक्ति पुनःस्थापना गर्ने प्रयासमा छन्। भदौ २४ गते दिउँसो सेनाको हेलिकप्टरमार्फत उद्धार भई बालुवाटार छाडेका ओली असोज २ गते गुन्डू पुगेका हुन्। त्यहाँ उनी लगातार सचिवालय सदस्यहरूसँग भेटघाट गर्दै आफ्ना विपक्षमा जान नदिन प्रयास गरिरहेका छन् ।

आन्दोलनपछि पार्टीभित्र किनारामा परेको अनुभूति गरेका ओलीले गत साउनमा नवौँ केन्द्रीय कमिटी बैठकमार्फत सदस्यता नवीकरण रोकेपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय बनेकी छन् । आन्दोलनका क्रममा भंगालस्थित निवास जलाइएपछि भण्डारी हाल जेठी छोरी उषाकिरणको घरमा बस्दै आएकी छन् । हिजो सोमबार बेलुकी उनी नयाँबानेश्वरस्थित टिम्मुर थकाली रेस्टुरेन्टमा एमाले नेताहरूसँग लामो छलफलमा देखिइन् ।

यो छलफल स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईको पहलमा भएको बताइएको छ । कार्यक्रम भोजपुरे समाजको नाममा आयोजना भए पनि यसलाई भण्डारीको पक्षमा वातावरण बनाउन गरिएको संकेत गरिएको छ ।

शेरधन राई पहिले ओलीको निर्णयअनुसार भण्डारीको सदस्यता रोक्ने पक्षमा थिए । तर ओली सरकार ढलेपछि पूर्वराष्ट्रपतिसँग नजिकिन थालेका छन् । सोमबारको कार्यक्रममा शेरधनसँगै भोजपुरसँग सम्बन्धित नेता विनोद ढकाल,हेमराज राई र परशुराम अधिकारी पनि सहभागी थिए ।

कुराकानीको विवरण बाहिर आएको छैन,तर शेरधन विगतमा कहिल्यै संस्थापनविरुद्ध नगएको रेकर्ड भएकाले यस संवादलाई विशेष अर्थमा हेरिएको छ । एमालेभित्र अहिले ओलीको नेतृत्वबारे बहस चर्किंदै गएको छ । केही नेताले विशेष महाधिवेशन मागेका छन् भने महासचिव शंकर पोखरेलले तत्काल नेतृत्व परिवर्तनको आवश्यकता नरहेको बताइसकेका छन् ।

यसबीच,सचिव योगेश भट्टराई र गोकर्ण बिष्टले पार्टी पुनःनिर्माणको प्रस्ताव अघि सारेका छन् । अन्य सचिवालय सदस्यहरू भने अझै मौन छन्।

यस्तो परिस्थितिमा ओली र भण्डारी दुवै आ–आफ्नो शक्ति आधार सुदृढ गर्न सक्रिय छन् । ओली सचिवालयमा बहुमत खोजिरहेका छन् भने भण्डारी नयाँ ठाँउ खोज्दै पार्टीभित्र दबाब बढाउने तयारीमा छिन् ।
 

टिप्पणीहरू