सुशीलासहित नयाँ–पुराना सबैलाई सुझाव

सुशीलासहित नयाँ–पुराना सबैलाई सुझाव

‘सुशीला कार्की प्रधानमन्त्री भइन् तर यो स्थिति सिर्जनामा उनको दोष छैन । यसका जिम्मेवार देउवा, ओली र प्रचण्ड नै हुन् । पत्रकार, बुद्धिजीवी र नागरिक समाजले पटक–पटक भन्दै आएकै थियो– चालामाला ठीक भएन, घमण्ड बढी भयो । लेखेर, बोलेर खबरदारी गरेकै हो । त्यसलाई हेक्का नगरेका कारण यस्तो दिन देख्नुपर्‍यो ।’ उत्पन्न नयाँ परिस्थितिउपर यस्तै टिप्पणी गर्नेहरु बग्रेल्ती छन् ।

प्रश्न उठाइएकाहरु पन्छिएपछि जवाफ र नतिजा दिने ठाउँमा आइपुगेकी सुशीलाका लागि पनि उत्तिकै चुनौतीका दिन शुरु भएका छन् । हिजो केपी ओलीले गरेको संसद् विघटन बेठीक भन्ने आन्दोलनको अगुवाइ यिनैले गरिन् । ठूलो स्वरमा आवाज उठाइन् । त्यसैबापत अवहेलना मुद्दा र त्यसअघि महाभियोगको पनि सामना गर्नुपर्‍यो । विचाराधीन विघटनविरुद्धको मुद्दामा विज्ञप्ति निकालेर अदालतको अवहेलना गरेबापत तारिख धाएको सम्झना कत्तिको छ कुन्नि ! तिमी यो कुर्सीमा ६ महिनाको निम्ति हो भनेर काउन्ट डाउन शुरु भइसक्यो । एक, दुई, तीन गरेर दिन बित्दै छन् । हिजो आफैं संसद विघटन गर्‍यौ । आज के गछ्र्यौ ? कार्कीसामु प्रश्नका पहाड अज¨को छ । 

७४ वर्षका केपी ओली पुराना भए भन्दै युवा पुस्ताले गरेको विद्रोहको बदलामा ७३ वर्षकी कार्कीलाई आमा भन्ने अभ्यास सामाजिक सञ्जालमा शुरु भइसक्यो । संसद विघटन गरेर युवामा आशा जगाउँछु भनेकी कार्की आफैं तरबारको धारमा छिन् । विघटन र बदर मात्रै गरिहिँड्ने होइन, अब ध्वस्त संरचना निर्माण गर्ने, युवालाई सिर्जनशील बनाउने र आशा जगाउने काम उनले गर्नुपर्ने हुन्छ । पुरानो पुस्तासमेत ढुक्क हुने र जनताले पनि ठीक गर्‍यौ भन्ने ठाउँमा मुलुकलाई उनैले पुर्‍याउनुपर्नेछ ।

प्रश्न सोध्ने भूमिका अब डेलिभरी दिने ड्युटीमा फेरिएको छ । चुनावी चटारोबीच ६ महिनामा जनतालाई राहत दिने झन् ठूलो चुनौती छ । दशैँ र चाडबाडको मुखमा आपूर्तिलाई सहज बनाउने, महँगी बढ्न नदिने, कालाबजारी र चोरी–चकारी हुन नदिने कुरालाई प्राथमिकतामा राख्नुपर्नेछ । 

आन्दोलनका क्रममा नराम्ररी गिरेको प्रहरीको मनोबललाई उठाएर निर्वाचनको तयारीमा होम्ने, स्रोतसाधन जुटाउने, सरोकारवाला सबै पक्षबीच आवश्यक समन्वय गर्नुपर्ने स्थिति छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा सहमतिको वातावरण सिर्जना गर्न बाँकी नै छ । कार्कीको नियुक्तिलगत्तै भूराजनीतिका बाछिटा देखिन थालिसकेका छन् ।

कार्की यसअघि अरुलाई भेट्दिनन्, अरुका कुरा सुन्दिनन्, मनमा लागेको कुरा प्याच्च बोलिहाल्छिन् भनेर आलोचित थिइन् । त्यस्तै बोल्नलाई त केपी ओली नै छँदै थिए नि ! कार्कीले अबचाहिँ सौम्य बन्नुपर्छ भन्ने अपेक्षा राखिनु अस्वाभाविक होइन । कार्यकारी प्रमुख भएपछि हरेक मान्छेको सपोर्ट लिन सक्नुपर्छ । तब मात्र सफलता मिल्छ । सत्तामा पुगेपछि विनयशीलता सबभन्दा ठूलो कुरा हो । शनिबार आन्दोलनका घाइते भेट्न सिभिल अस्पताल पुग्ने क्रममा प्रकट अभिव्यक्तिको आलोचना हुन थालिसकेको छ । 

भन्छन् नि– पावर करप्ट्स, एब्सोल्युट पावर अल्वेज करप्ट्स । आजसम्मको परिस्थितिलाई करप्ट बनाएको पावरले नै हो । कार्की पनि सहज अवस्थामा छैनन् । एब्सोल्युट करप्ट हुनबाट बच्नका निम्ति मानक बन्नुपर्ने हुन्छ । दलहरूलाई अहिलेसम्म जति व्यहोरियो, अब पुग्यो, फेरिनुपर्छ भनेर शिक्षा लिने ठाउँमा पुर्‍याएको छ । हिजोको बलिदान, योगदान, त्यागले आफूहरू गद्दीमा पुगेको तीतो सत्य भुल्दा परिस्थिति चपरीमुनिको बासमा पुगेको हो भनेर बिर्सनुहुन्न । 

हिजो राम्रो गरेको परिणाम भोगे । यो अवधिमा नराम्रो गर्दाको परिणाम पनि भोग्नुपर्ने अवस्था आयो । अबचाहिँ राम्रो गर्ने प्रणसहित लोभ, पाप, सत्तामोह त्यागेर आफूलाई अलग देखाउनुपर्छ । सत्ता भनेको राज्यसत्ता होइन । दशकौंदेखि निरन्तर पार्टीको सत्ताबाट पनि त्याग गर्नुपर्ने स्थितिमा कांग्रेस, एमाले र माओवादी नेतृत्व पुगेको छ । 

अहिले उनीहरूका लागि राज्यसत्ता लेखिएको छैन । अब पार्टीको सत्ता पनि त्यागेर युवा पुस्तामा उत्साहको वातावरण सिर्जना गर्नुपर्ने स्थिति आएको छ । सत्कर्मतिर फर्किनुपर्छ । सब सिद्धियो भन्ने मनोविज्ञान पनि होला । पार्टी कार्यालय र घर जले पनि आस्था, विश्वास जलेको छैन । मनोबललाई उच्च बनाएर विगतको शिक्षा लिँदै, देश र जनताका निम्ति, मातृभूमिको सेवाका निम्ति लाग्नैपर्ने स्थितिमा प्रमुख दलहरु पुगेका छन् ।’ कांग्रेसमा गगन थापा, एमालेमा योगेश भट्टराई र माओवादीमा जनार्दन शर्माहरूले नेतृत्वप्रति कत्तिको खबरदारी गर्न सक्छन् । यसैमा धेरै कुरा निर्भर हुनेछ ।

इतिहासबाट शिक्षा लिए जनता जसको पनि हुन सक्छन् । आफैंले शिक्षा दिएका जनता छन्, आफ्नै स्कुलिङका भोटर छन्, ती कहीँ गएका छैनन् । मात्रै विश्वास भर्न सक्दा र सुध्रिँदा ती पार्टीको लाइनमा आउन सक्छन् । ‘यसनिम्ति अरूलाई दोष दिएर होइन, आफ्नो कमजोरीको निर्मम समीक्षा गर्दै जनतासँग भिज्ने काम नगरे खैरियत छैन । जनतासँग दलहरु टुटेकै कारण युवा पुस्ता औँला ठड्याउँदै सडकमा आएको हो । अहिले सत्ता छैन त्यसैले जनतासँग सुमधुर सम्बन्ध पुनस्र्थापित गर्दा र आत्मसमीक्षा गर्दा फाइदा नै हुनसक्छ ।

अरुको कारणभन्दा आफ्नै कर्मको फल प्रमुख दलले भोगेका हुन् । गाली गर्ने जिम्मा हाम्रो होइन भनेर बुझ्न सके बल्ल नेता र दलहरूले आफूलाई सुधार्न सक्लान् ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू