टाउकैमा गोली लाग्यो कसरी ?
सामान्यतया आन्दोलनका क्रममा प्रहरीलाई सकेसम्म गोली नै नलचाई भीड नियन्त्रणको निर्देशन दिइएको हुन्छ । सम्झाउने, बुझाउने, नभए लाठी प्रहार, अश्रुग्याँस, पानीको फोहोराबाट नियन्त्रण गर्ने विषय पहिलो प्राथमिकतामा पर्छन् । गोली नै चलाउनुपर्ने स्थिति आए पनि रबरको चलाइन्छ तर बानेश्वरमा भएको त्यो विभत्स हत्यामा ताकीताकी टाउकोमा मेटल गोली प्रहार गरिएकोमा प्रहरीले आश्चर्य व्यक्त गरेको छ ।
‘हेडमा सुट गर्ने भनेर पहिला नै प्रहरीलाई आदेश दिइएको थिएन, बिहानको ब्रिफिङमा त्यस्तो भएको छैन,’ स्रोतले भन्यो, ‘तर ताकेरै टाउकोमा प्रहार गरिएको छ । धेरै परबाट ताकेर टाउकोमा हान्न सम्भव छैन । प्रायः गोली छाती र टाउकोमा हानिएको छ । त्योचाहिँ स्नाइपरहरूले हानेको अवस्था छ ।’
पुलिसले घरको छतबाट हानेको छैन, हानेको तल जमिनबाटै हो । प्रहरीले तल सडकबाट हान्दा खुट्टामा लाग्छ, जिउमा लाग्छ । ‘प्रहरीले तल ग्राउण्डबाट त्यो पनि रबरको मात्रै गोली चलाएको छ । यसरी चलाएको गोली जिउ, छाती र खुट्टामा मात्रै लाग्नुपर्ने हो,’ स्रोत भन्छ, ‘पुलिसले रबरको गोली युज गरेको छ । लाश हेर्दा सबै मेटालिक गोलीहरू प्रहार भएको छ ।’
संसद् भवन अगाडि भएकाले वरिपरिका अग्ला घरबाट स्नाइपरले हानेको तथ्य मिलेको स्रोतको दाबी छ । ‘म अहिले केही भन्दिन तर जे होस्, तपाईंलाई यति भन्छु कि त्यो इनिसियल फायर पुलिसबाट भा’को होइन,’ स्रोतको भनाइ छ, ‘तीन चार जना कलेज ड्रेसवालालाई शुरुको गोली लागेको छ नि, त्यो मेटलको छ । जुन नेपाल पुलिसको होइन ।’
स्रोतका अनुसार अस्पतालमा डाक्टर नै गोली लागेको प्रकृति देखेर छक्क परेका छन् । ‘हस्पिटलहरूमा जानु न, गोलीले कहाँ–कहाँ लागेको छ भन्ने त विज्ञप्ति नै निकालेका छन्’ स्रोतले भन्यो, ‘गोलीहरू मेटलको छ कि रबरको छ भन्नेबित्तिकै थाहा भइहाल्छ । यस्तो हिट बुलेट इन्जुरी भनेर उनीहरू अनौठो मानिरहेका छन् ।’
यो सबैको छानबिन समितिले दूधको दूध पानीको पानी बनाउने स्रोत बताउँछ । बाहिरी तत्वकै उक्साहटमा त्यो दिन भीडलाई उत्तेजित बनाइएको र युवाको ज्यान जाने स्थिति सिर्जना गरिएको स्रोतको दाबी छ । ‘आदेश दिने व्यक्ति छ भने कारबाही होस् तर अरु कोही बाहिरी तत्व छ त्यो दिनको स्थितिलाई उत्तेजित बनाउनेको पनि निष्पक्ष छानबिन होस्,’ स्रोत भन्छ, ‘त्यो कुरा नदबाइयोस्, पहिला पहिलाका छानबिन आयोगको रिपोर्टहरू जस्तै हामी सुरक्षाको नेतृत्व गर्नेको चाहना यही हो ।’
त्यो दिनको फुटेज कलेक्सनमात्रै गर्दा पनि सत्यतथ्य बाहिर ल्याउनमा सहयोग पुग्ने स्रोत बताउँछ । ‘तोडफोड र आगजनी गर्नेहरूको फुटेज कलेक्सन गरी राख्नु, ती मान्छेहरू हेर्नु, धेरैजसोले हेलमेट र मास्क खोलेको छैन,’ स्रोतले भन्यो, ‘भाग्नेहरू पनि कतिपयले धोबीखोलामा चोपलिँदा समेत हेलमेट नै लगाएको छ ।’ चैत १५ गते तीनकुनेमा जे–जे भएको थियो, झण्डै झण्डै सेम मोडालिटीको छ । आइतबार पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले पनि त्यसरी हत्या, हिंसा गर्ने नेपाली हुन नसक्ने अर्थपूर्ण टिप्पणी गरेकी छन् ।
‘नेपाली नै भएर नेपालीमाथि यत्रो हत्या र हिंसा गर्न सक्छ जस्तो लाग्दैन । यस्तो गरेको भए कसरी नेपाली भन्ने ? देशमा पहिलोपटक यस्तो भएको छ,’ कार्कीले भनेकी छिन्, ‘अनुहार देखाउनै नसक्ने भयो । यो योजनावद्ध षडयन्त्र हो । यसको छानबिन हुन्छ ।’ जनआन्दोलनमा पनि यसरी ‘सुट इन द हेड एण्ड नेक’ जस्तो कहीँ नहुने स्रोत बताउँछ ।
(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू