एमाले नेता–कार्यकर्ताको जुहारी, नेतृत्व सिनो भइसकेको ठहर
२४ घण्टाको अप्रत्यासित र शंकास्पद प्रदर्शनबाट सत्तापलटमा परेको नेकपा एमालेका नेता तथा कार्यकर्ता सामाजिक सञ्जालमा जुहारी खेल्न थालेका छन् । राजीनामा दिएको १०० घण्टाभन्दा बढी समयसम्म बेपत्ताको अवस्थामा रहेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक नेतृले भीरबाट लडेको गोरुसँग तुलना गरेकी छन् ।
केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले त्यसरी मरेको गोरुलाई सिनोसम्म भनिने तर सुकुटी भन्न नसकिने अर्थ लगाएकी छन् । लेख्छिन्, ‘सिनो सम्झेर वाक्क लाग्छ,मुखबाट पानी आउँदैन महोदय ।’ सामान्यतया,माँसाहारीहरुले सुकुटी देखेपछि जीब्रो पड्काउँछन् ।
नुवाकोटकी नेतृ तिमिल्सिनालाई नुवाकोटकै एमाले कार्यकर्ता रामलाल श्रेष्ठले जवाफ दिएका छन् । उनका अनुसार,यो वर्षभित्र एमालेसहित पुराना दलको हैसियत फर्कने छ ।
दलहरूबाट प्रतिनिधि सभा पुनर्स्थापनाको माग अगाडि सारिने छ र जेन जी आन्दोलनको राप र ताप बिस्तारै सेलाएपछि आन्दोलनको घोषणा गरिने छ ।
श्रेष्ठले देशको परिस्थिति यसरी निर्माण गर्न खोजिँदैछ भनेर बुँदागत रुपमा आगामी छ महिनाको मार्गचित्र नै प्रस्तुत गर्दै नेतृको फेसबुक स्टाटसमा कमेन्ट लेखेका छन् । उनका अनुसार अब दलहरूबाट प्रतिनिधि सभा पुनर्स्थापनाको माग अगाडि सारिने छ र
जेन जी आन्दोलनको राप र ताप बिस्तारै सेलाएपछि आन्दोलनको घोषणा गरिने छ ।
त्यसपछि छ महिनासम्म संविधान संशोधनको अनेक नाटक मञ्चन हुनेछ भने तोकिएको मितिमा निर्वाचन गराउन असक्षम भएको आरोपसङ्गै प्रधानमन्त्री सुशीला कार्की पदबाट राजीनामा दिन बाध्य हुनुहुने छ । त्यसपछि दलहरूको आन्दोलनबाट प्रतिनिधि सभा पुनःस्थापना हुने र दलहरू सम्मिलित सर्वदलीय निर्वाचन गराउन संविधानको धारा ७६ मा टेकेर अर्को मन्त्रिपरिषद् गठन हुने छ ।
उक्त मन्त्रिपरिषदले संविधानमा टालटुले संशोधन गरेर निर्वाचन गराएपछि जेन जीको अहिलेको आन्दोलनको औचित्य सदाको लागि समाप्त हुने उनको ठहर छ । छ महिनापछि सार्वजनिक हुने नेतृत्वलाई मरेको सिनोसँग नदाँज्न उनले उषाकिरणलाई घुमाउरो जवाफ दिएका हुन् ।
टिप्पणीहरू