सुनिता स्वाट्टै स्विट्जरल्याण्ड
मेयरको बहिष्कार र उपमेयरको विदेश भ्रमणले यो वर्षको इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरूको स्वागत अन्यौलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएपछि गत वर्षको इन्द्रजात्रा बहिष्कार गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह भारत गएका थिए ।
मेयर उपलब्ध नभएपछि उपमेयर सुनिता डंगोलले राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थहरूको स्वागत गरेकी थिइन् । हाल राष्ट्रपति पौडेलको इटाली जाने तयारी चलिरहेको छ । भदौ २१ गते परेको इन्द्रजात्रामा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुने भएकोमा उनको स्वागत कसले गर्छ ? प्रश्न उठेको छ । बालेन र प्रधानमन्त्री ओलीबीच सम्बन्ध राम्रो छैन । बालेन सकेसम्म ओलीको अगाडि पर्नै नपरोस् जस्तो गर्छन् । यस्तोमा उपमेयर डंगोल पनि सोमबार बिहान स्वीट्जरल्याण्ड गएपछि जात्रा व्यवस्थापन समिति रुष्ट बनेको छ । आफूलाई नेपाल भाषा र पर्वको ज्ञाता बताउने उनले जात्रालाई महत्व नदिएको समितिको आरोप छ ।
समितिका एक सदस्यले भने, ‘उहाँ आफूलाई नेपाल भाषा र पर्वको ज्ञाता भन्नुहुन्छ । तर, नेवारी समुदायको महत्वपूर्ण जात्राका लागि विदेश भ्रमण त छोड्नसक्नुभएन । विदेश त जतिबेला पनि गइरहेकै हो, जात्राको बेलामा चाहिँ नगएको भए हुन्थ्यो ।’ ‘द वल्र्ड इकोनोमिक फोरम’ ले २ देखि ४ सेप्टेम्बरसम्म आयोजना गरेको ‘द इमर्ज : योङ ग्लोबल लिडर्स क्लास अफ २०२५’, र ‘योङ ग्लोबल लिडर्स एनुअल समिट, २०२५’ मा सहभागी हुन जेनेभा गएकी डंगोल इन्द्रजात्रापछि मात्र स्वदेश फर्किनेछिन् ।
त्यसको एक महिनापछि जर्मनीको म्युुनिख जाने कार्यक्रम छ । ‘द योङ वल्र्ड’ द्धारा ३ देखि ६ नोभेम्बरसम्म आयोजित ‘वान योङ वल्र्ड समिट २०२५’ मा सहभागिता जनाउन उनलाई भदौ १५ गते आइतबारको नगरकार्यपालिका बैठकले स्वीकृति दिइसकेको छ ।
मेयर त आउनैपर्यो निः संयोजक
सम्पदा तथा पर्यटक समितिको संयोजकसमेत रहेका नम्बर ८ का वडाध्यक्ष आशामान संगतले ईन्द्रजात्रामा मेयर बालेन उपस्थित हुने दाबी गरे । जात्रा व्यवस्थापन समितिको संयोजक पनि रहेका उनका अनुसार यस वर्ष बालेनले उच्च पदस्थहरूको स्वागत गर्नेछन् । उनले भने, ‘नगरप्रमुख एकपटक मात्र अनुपस्थित हुनुहुन्थ्यो, त्यही पनि काम परेर । उहाँले नै स्वागत गर्ने भएपछि नआएर भो त !’
टिप्पणीहरू