घुस खाएको ठहरसहित नापीका पियनविरुद्ध मुद्दा

घुस खाएको ठहरसहित नापीका पियनविरुद्ध मुद्दा

नापी कार्यालय कलंकीका कार्यालय सहयोगी (पियन) एकेन्द्रबहादुर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । 

आयोगको टंगालबाट खटिएको टोलीले गत साउन २६ गते उनलाई १३ हजार रुपैयाँ घुससहित समातेको थियो । अनुसन्धानका क्रममा दर्ता श्रेस्ता कायम रहेको चन्द्रागिरी नगरपालिका–१३, को जग्गा हालसाविक गराई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भनी कुँवरले घुस बुझेको खुलेको अख्तियारको भनाइ छ । 

अख्तियारद्धारा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १३ हजार रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।

टिप्पणीहरू