रुपन्देहीमा रास्वपाको सिको गर्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्शन)बाट उम्मेद्वार छनोट गर्ने भएको छ ।
अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा आज बसेको संसदीय समितिको बैठकले सो निर्णय गरेको हो । जिल्ला कार्य समिति रुपन्देहीले सिफारिस गर्ने आकांक्षीमध्येबाट चुनावी प्रक्रियामार्फत एक जनालाई उम्मेदवार बनाउने बैठकको प्रष्ट निर्णय छ ।
नवीन कार्ययोजनाको मोडलअनुसार उम्मेदवार छनोट गरिने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उम्मेदवार छान्ने चुनावमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका कार्यसमिति सदस्य मतदाता रहनेछन् ।
रुपन्देही -३ अन्तर्गतका उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पनि भोट हाल्न पाउने व्यवस्था छ । त्यस्तै, सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी तथा सदस्यलाई भोटिङ अधिकार दिइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राइमरी इलेक्शनबाटै डा. लेखजंग थापालाई उम्मेदवार छनोट गरिसकेको छ । यद्यपि, छनोट प्रक्रियालाई लिएर सो पार्टीमा विवाद देखिन्छ ।

टिप्पणीहरू