चाडपर्व नजिकिँदा कालोबजारीको त्रास बढ्दो
हन्दू धर्मावलम्बीहरुको महान् चाड बडादशैं नजिकिँदै छ । दशैं आउन अब तीन सातामात्र बाँकी छ । असोज ६ गते घटस्थापनादेखि दशैं औपचारिक रूपमा सुरु हुँदैछ । दशैं–तिहार नेपालीजनको ठूलो चाड भएकाले अन्य समयमा भन्दा यस समयमा चामल, चिनी, मासु, मैदा, तेललगायत खाद्यान्नको माग र खपत बढ्ने गर्छ ।
तर, हरेक वर्षजस्तै यसपटक पनि दशैं–तिहार नजिकिएसँगै बजारमा कालोबजारीलगायत अवाञ्छित क्रियाकलाप मौलाउने चिन्ता बढेको छ । चाडपर्वमा सामानको कृत्रिम अभाव सिर्जना गरेर दोब्बर–तेब्बर मूल्य असुल्ने प्रचलन रहँदै आएको छ । यसलाई रोक्न सम्बन्धित निकायले समयमै तयारी गरेर आपूर्ति व्यवस्थापन गर्नुपर्ने हो ।
विडम्बना, वर्षेनीझैँ यो पटक पनि उपभोक्ता महँगी र कालोबजारीको शिकार बन्ने संकेत देखिएको छ । दशैं नजिकिँदै गर्दा समेत चाडपर्वलक्षित बजार अनुगमनको टुंगो लागेको छैन । संघ, प्रदेश र स्थानीय निकाय नै बजार अनुगमनमा निष्क्रिय देखिएका छन् ।
बजार अनुगमनको जिम्मा कसलाई ?
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र स्थानीय तहका निकायलाई बजार अनुगमनको जिम्मेवारी दिइएको छ । तर, यी निकायबीच प्रभावकारी समन्वयको अभाव हुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन ।
संयुक्त बजार अनुगमन निर्देशिका, २०६९ अनुसार वस्तु तथा सेवाको अनुचित सञ्चालन, कृत्रिम अभाव, खाद्य मिसावट, अनुचित मूल्य, एकाधिकार, कार्टेलिङलगायत विषयमा यी निकायले संयुक्त अनुगमन गरी कारबाही गर्न सक्ने व्यवस्था छ । तर, व्यवहारमा समन्वयको कमीले उपभोक्ताले नै प्रत्यक्ष असर भोग्नुपरेको छ ।
बल्ल बैठक बस्ने तयारी
नेपालीको ठूलो चाड नजिकिँदै गर्दा पनि सम्बन्धित निकायले अझै दशैं–तिहारलक्षित बजार अनुगमनबारे ठोस निर्णय गरेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बैठक नै नगरेको छ ।
विभागका निर्देशक भरतप्रसाद आचार्यले केही दिनमै बैठक बसेर कार्ययोजना स्वीकृत गर्ने जानकारी दिए । उनले भने, ‘बुधबार बैठक बस्ने योजना छ । त्यहाँबाट कार्ययोजना स्वीकृत भएपछि अनुगमन अघि बढाइनेछ ।’
तर, उनले नियमित बजार अनुगमन भने भइरहेकाले उपभोक्ताको गुनासो समाधान भइरहेको दाबी गरे । ‘दशैं–तिहारमा कालोबजारी र ठगी बढ्ने सम्भावना छ । त्यसलाई रोक्न विभाग सचेत छ,’ उनले भने ।
नयाँ हाकिमको काँधमा जिम्मेवारी
विभागले हालै नयाँ महानिर्देशक पाएको छ । दुई महिनाअघि मात्र सहसचिव बनेका रोशन ज्ञवाली उद्योगमन्त्री दामोदर भण्डारीको सिफारिसमा महानिर्देशक नियुक्त भएका हुन् ।
गत फागुनमा जिम्मेवारी सम्हालेका पूर्वमहानिर्देशक कुमारप्रसाद दाहाललाई साउन २६ गते मन्त्रिपरिषद्को निर्णयले सरुवा गरेको हो । दाहालले निजी विद्यालयदेखि शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा कारबाही गर्दै अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणाली कडाइका साथ लागू गरेका थिए । ठूला व्यवसायिक घरानाको विरोधका कारण उनलाई अन्ततः राष्ट्रिय समावेशी आयोग सरुवा गरिएको हो ।
अब नयाँ महानिर्देशक ज्ञवालीले चाडबाडमा हुने कालोबजारी, महँगी र ठगीविरुद्ध कस्तो भूमिका खेल्ने हुन् भन्नेबारे उपभोक्ताको चासो बढेको छ ।
भदौ ३० गतेदेखि ‘सहुलियत पसल’
सरकारले हरेक वर्षजस्तै यसपटक पनि दशैं सुरु हुनु साताअघि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार भदौ ३० गतेदेखि देशभरका सय बढी स्थानमा सहुलियत पसल सञ्चालन गरिनेछ । गत वर्ष ६६ स्थानमा मात्र सहुलियत पसल सञ्चालन गरिएको थियो ।
यी पसलमार्फत चामल, चिउरा, दाल, गेडागुडी, तेल, घ्यू, नुनलगायत खाद्यान्न विशेष छुटमा बिक्री गरिने बताइएको छ । तर, कुन सामानमा कति छुट दिने भन्नेबारे भने अझै निर्णय भएको छैन ।
गत वर्षझैँ यसपटक पनि सहुलियत पसलमार्फत खसीबोका र च्याङ्ग्रासमेत बिक्री गर्ने तयारी भएको कम्पनीले जनाएको छ । तर, संख्या भने टुंगो लागिसकेको छैन ।
टिप्पणीहरू