सरकारी टिभीमा एमाले नेतामाथि ‘प्रतिवन्ध’

सरकारी टिभीमा एमाले नेतामाथि ‘प्रतिवन्ध’

सत्ताको स्वेच्छाचारिता रोक्न खडा गरिएका संवैधानिक अंग र राज्यका निकायहरूमा आफ्ना मान्छे भर्ती गर्न नेताहरू किन मरिहत्ते गर्छन् ? जवाफ प्रष्ट छ- राज्यका संरचनामा पकड कायम गर्दै आफ्नो पक्षमा प्रयोग गर्न । अदालतदेखि अख्तियार,निर्वाचन आयोग हुँदै सरकारी कार्यालयसम्म सत्ताको प्रतिछायाँ बनेका उदाहरण अनगिन्ती छन् । 

सत्ता र शक्तिको आडमा राज्यका निकायलाई आफू अनुकूल चलाउन सत्तासीनहरूले केसम्म गर्दा रहेछन् भन्ने एउटा ताजा घटना फेला परेको छ । नेकपा एमालेमा अहिले चलिरहेको अन्तरसंघर्षमा प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका उपाध्यक्ष युवराज ज्ञवालीको सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले लिइसकेको अन्तर्वार्ता रोकेको प्रसंग हो यो । 

एनटिभीमा हरेक मंगलबार 'टक टाइम' नामक कार्यक्रम प्रशारण हुँदै आएको छ । पत्रकार बबिन शर्माले चलाउने समसामयिक विषयको यो कार्यक्रम मंगलबार साँझ साढे ६ बजे प्रशारण हुन्छ भने बेलुका ८:५० बजे पुन: प्रशारण गरिन्छ । तर, हरितालिका तीजको दिन भदौ १० गते मंगलबारको एपिसोड प्रशारण गरिएन ।   

लाइभ फर्म्याटमा जस्ताको त्यस्तै प्रशारण हुने यो कार्यक्रम मंगलबार दिउँसो २ बजे नै रेकर्ड गरी अपराह्न भिडिओ सम्पादनसमेत भैसकेको थियो । तर,साँझ साढे ६ बजे प्रशारण भएन । यसबारे जिज्ञासा राख्दा एनटीभी स्रोतले प्राविधिक कारण देखाएको छ । भिडियो प्ले नभएकाले अन्तर्वार्ता प्रशारण गर्न नसकिएको भनिएको छ ।

'खासमा अन्तर्वार्ताका कतिपय कुरा बालुवाटारलाई मन नपरेपछि रोक्न लगाइएको हो,तर बाहिर भन्न चैं भिडियो प्ले भएन भनेका छन्',  

'टक टाइम' को शो अंकमा सरकारको नेतृत्वकर्ता नेकपा एमालेभित्रको अन्तरविरोधबारे उपाध्यक्ष ज्ञवालीसँग संवाद गरिएको थियो । पूर्वमन्त्री र सांसदसमेत भैसकेका उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयको विपक्षमा उभिएका नेता हुन् । यसबारे उनले केन्द्रीय कमिटी बैठकमा नोटअफ डिसेन्टसमेत लेखेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको इच्छाविपरीत धारणा राख्दै आएका ज्ञवालीले अन्तर्वार्तामा पनि त्यस्तै मत राखेको ठानेर प्रशारण रोकिएको दावी समाचार स्रोतले गरेको छ ।

​​​एनटिभी र रेडियो नेपाल मर्ज भएपछि बनेको सार्वजनिक सेवा प्रशारण नेपाल (पिएसबी) को अध्यक्ष छन्, डा. महिन्द्र विष्ट । एमाले सत्तामा हुँदा कुनै न कुनै लाभको पदमा पुग्ने उनी पहिले एनटिभीको अध्यक्ष थिए । विद्या भण्डारीकै जोडबलमा उनलाई पछि पिएसबीको अध्यक्ष बनाइएको चर्चा त्यतिबेला थियो । 

विष्ट जेठमा विद्यासँगै बेइजिङ भ्रमणमा पनि गएका थिए । तर, अहिले एमालेमा चलेको कित्ताबन्दीको राजनीतिमा उनले बलियो गुट समातेको र उनीमार्फत युवराजको अन्तर्वार्ता रोकाइएको स्रोतको दावी छ । 'खासमा अन्तर्वार्ताका कतिपय कुरा बालुवाटारलाई मन नपरेपछि रोक्न लगाइएको हो, तर बाहिर भन्न चैं भिडियो प्ले भएन भनेका छन्', यसबारे जानकार उक्त स्रोत बताउँछ ।    

तर, प्रशारणमा नआएको उक्त अन्तर्वार्तामा ज्ञवालीले कसैप्रति पनि आक्रामक टिप्पणी नगरेको बताइन्छ । त्यसो त, स्वभावका हिसाबले पनि उनी आक्रामक हुने व्यक्ति होइनन् । उनका अन्य अन्तर्वार्तामा पनि पात्र, प्रवृत्ति र घटनाबारे उग्र धारणा पाइँदैन । 'टक टाइम' मा पनि उनले समग्र कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै केही सैद्धान्तिक विषय उठाएको र अन्य पार्टीहरूको प्रसंग आउँदा एमालेबारे पनि सामान्य टिप्पणी गरेको बुझिन्छ । 

बताइएअनुसार युवराज ज्ञवालीले अन्तर्वार्ताका क्रममा दुई वर्षअघि सर्वसम्मतरुपमा पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण भैसकेकाले अहिले रोक्नुपर्ने कारण नरहेको तर्क गरेका छन् । उनको यो भनाइ नै अन्तर्वार्ताको प्रशारण रोकिने कारण बनेको बुझिन्छ   । 

त्यसो त, नेपालमा सरकारी सञ्चार माध्यमहरूको भूमिकाप्रति लामो समयदेखि प्रश्न उठ्दै आएको छ । जनताको आवाज बुलन्द गर्नुपर्ने गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन सत्ताधारीहरूको हातको खेलौना जस्तै बनेको गुनासो पहिलेभन्दा अहिले बढी सुनिन्छ । तर, सत्तारुढ दलको शीर्ष नेताकै अन्तर्वार्ता रोकिएको घटना चाहिँ अलि नौलो नै छ । 

 केही समयअगाडि एनटिभीले आफ्नो एउटा अन्तर्वार्ता रोकेको भन्दै बरिष्ठ पत्रकार किशोर नेपालले पनि प्रश्न उठाएका थिए । त्यसलाई लिएर सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप पनि चल्यो । तर, भनिएको भन्दा फरक समयमा एनटीभी प्लसबाट अन्तर्वार्ता प्रशारण भएकाले पत्रकार नेपालले थाहा नपाएको रहश्य पछि खुलेको थियो ।

टिप्पणीहरू