क्रान्तिकारीका कारण गुरुहरुको अघिपछि पिएसओ

क्रान्तिकारीका कारण गुरुहरुको अघिपछि पिएसओ

गृहमन्त्री रमेश लेखकले प्राध्यापकहरुको लागि पिएसओ खटाउनुपर्ने अवस्था आएको भन्दै विद्यार्थी संगठनहरुलाई संयमित हुन आग्रह गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यार्थीसँग घुलमिल भएर काम गर्नुपर्ने प्राध्यापकहरुको लागि पिएसओ खटाउनुपर्ने अवस्थाले विश्वविद्यालयमा मौलिएको डरलाग्दो राजनीति प्रतिबिम्बित गरेको बताउनुभएको हो । 

चार अध्ययन कार्यक्रमलाई एउटै केन्द्रीय विभागमा गाम्दा पनि शुल्क नघटाइएको भन्दै अखिल (क्रान्तिकारी) र विद्यार्थी भर्ना खोल्नुपर्ने भन्दै नेविसंघले पछिल्लो समय उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयमा तोडफोडसहित धर्ना दिदै आएका छन् । विद्यार्थीबाटै असुरक्षित भएपछि दुइ साता उपकुपति प्रा. डा. दीपक अर्यालले शिक्षामन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै सुरक्षा व्यवस्थाको लागि पत्राचार गरेका थिए । लगत्तै गृह मन्त्रालयले पिएसओ खटाएको सन्दर्भमा मन्त्री लेखकको उक्त अभिव्यक्ति आएको हो ।

‘सरहरु त विद्यार्थीसँग नजिक रहेका काम गनुपर्ने हो, तर विश्वविद्यालयमा यस्तो द्वन्द्व छ कि गृह मन्त्रालय पनि प्रवेश गर्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘सरहरूको लागि मैले पिएसओ खटाउनुपरेको छ, सुरक्षाको लागि खटाएको हुँ तर यसले राम्रो सन्देश दिएको छ त ?’

गृहमन्त्री लेखकले त्रिविका विद्यमान समस्या समाधान गर्न सरोकारवाला सबैलाई आग्रह पनि गर्नुभएको छ । उहाँले अघि भन्नुभयो, ‘जसले त्यहाँ द्वन्द्व गरिरहनुभएको छ, उहाँहरूलाई मेरो हार्दिक अपिल छ, त्यो पीएसओ अन्त काममा लगाउने गरेर मैले फिर्ता गर्ने अवसर पाउँ!’

टिप्पणीहरू