अनुदानको मल तीन हजारमा बिक्री, प्रतिबोरा २१ सय झ्वाम

अनुदानको मल तीन हजारमा बिक्री, प्रतिबोरा २१ सय झ्वाम

किसानले पाउने अनुदानको मल कालोबजारी गरी अन्यत्र बिक्री गर्ने एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ का किसानका लागि आएको अनुदानको मल व्यापारीलाई बेचेपछि चेतना विकास सहकारी संस्था डुमराका सञ्चालक वशिष्ठ पाण्डेय पक्राउ परेका हुन् ।

एक महिनाअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट उक्त सहकारीले मायादेवी–५, बलुहवाका लागि १९७ बोरा रासायनिक मल ल्याएको थियो । तर किसानले आफूहरूको लागि आएको अनुदानको मल एक महिनासम्म नपाएपछि साउन ११ गते जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा उजुरी दिएका थिए । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले छानबिन गर्न र कालोबजारी गर्ने सहकारी सञ्चालकलाई कारबाही गर्न निर्देशन दिएपछि उनी प्रहरी खोरमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले सहकारी सञ्चालक पाण्डेयलाई अनुदानको मल हिनामिना गरेको उजुरीको आधारमा पक्राउ गरेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौँ, मुद्दा चलाउने तयारीमा छौँ,’ उनले भने ।

स्रोतका अनुसार, उक्त सहकारीले यसअघि पनि कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा र बहादुरगञ्जबाट किसानको लागि आएको अनुदानको मल दुरुपयोग गरेको थियो । हराएको १९७ बोरा युरिया मल भने बहादुरगञ्जकै एक प्लाइबोर्ड कम्पनीमा प्रतिबोरा तीन हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ । सरकारले किसानका लागि प्रतिबोरा नौ सय रुपैयाँमा अनुदानको मल कोटा तोकेर उपलब्ध गराउँदै आएको छ ।

टिप्पणीहरू