रास्वपाको दोहोरो चरित्रप्रति चन्द्रपुरमा चर्को आलोचना
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दोहोरो चरित्र देखाएको भन्दै आलोचना शुरु भएको छ । अस्ति सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द्रपुर नगर सभापति समेत रहेका उदयनारायण सापकोटा प्रतिस्पर्धी सुनिल साहलाई हराउँदै संघको अध्यक्षमा विजयी भएपछि आलोचना हुन थालेको छ ।
चुनावअघि सापकोटाले आफू कुनै पार्टीको नभई सिंगो व्यापारीको उम्मेदवार भएको बताउँदै भोट मागेका थिए । आफू व्यापारीहरूको हकहितको लागि लाग्ने व्यवसायी भएर चुनावी मैदानमा उत्रिएको र पार्टीभन्दा माथि संघलाई राखेर मत दिन व्यवसायीहरूलाई अनुरोध गरेका थिए । उनले संघको निर्वाचन दलको नभई व्यवसायीहरूको हुने भएकाले यहाँ कुनै पार्टीको कुरा नहुने भन्दै प्रचारसमेत गरेका थिए । आफू पार्टीको नेता नभई विशुद्ध व्यवसायीका रूपमा उम्मेदवार भएको भन्दै मत मागे पनि अहिले फरक ढंगले प्रस्तुत भएको बताइन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले सापकोटा पार्टीको नभई सबैको साझा उम्मेदवार भएको दाबी गर्दै मत मागेका थिए । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेता भनेर चिनाउने जनकराज भारतीले फेसबुकमा लेख्दै उदयनारायण सापकोटा कुनै पार्टीको उम्मेदवार नभएको जिकिर गर्दै लेखेका थिए, ‘अध्यक्षमा उदयनारायण सापकोटा (सुरेन) कुनै पार्टीको तर्फबाट उम्मेदवार होइन । उहाँ सबै राजनीतिक दल र व्यवसायीहरूको साझा उम्मेदवार भएकाले उहाँको पुरानो–नयाँ मिलेको आकर्षक टिमलाई अत्यधिक मतले विजयी गराउन सबै व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछु। यो टिम बोल्ने मात्र होइन, काम गर्ने टिम हो। बाँकी तपाईंहरूको हातमा, साथमा म पनि छु ।’
तर, चुनाव जित्नेबित्तिकै सापकोटाले चारदलीय गठबन्धनलाई हराएर राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको भन्दै मिडिया ट्रायल सुरु गरेका छन् । सबै पार्टीमा आस्था राख्ने व्यवसायीहरूले पार्टीभन्दा माथि उठेर मत दिएर जिताएका सापकोटाले आफ्नो जितलाई व्यवसायीहरूको जितको रूपमा होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको जितको रूपमा प्रचार गर्न थालेका छन् ।
हालै एक सार्वजनिक प्रतिक्रियामा उनले भनेका छन्, ‘मैले राम्रो काम गरेकाले साथीहरूले विजयी गराउनुभयो। पाँच दल एक ठाउँमा उभिँदा पनि जित्न सफल भएँ। पार्टी (रास्वपा) को प्रभावका कारण पनि हो ।’
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ४ को अध्यक्षको टिकट नपाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सापकोटा अब आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेताका रूपमा स्थापित गराउन यो जितको दुरुपयोग गरेको विपक्षीको आरोप छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू विभिन्न मिडियामा आएका समाचारहरू सेयर गर्दै महागठबन्धनलाई पराजित गरेर जितेको भन्दै उत्सव मनाएपछि उनको आलोचना भएको हो ।
भोट माग्ने क्रममा सापकोटा कुनै पार्टीको उम्मेदवार नभएको भन्ने जनकराज भारती स्वयं अहिले ‘रास्वपाले गठबन्धनलाई हरायो’ भन्ने शीर्षकका समाचारहरू सेयर गरिरहेका छन्। सापकोटा र उनका समर्थकहरूले व्यवसायी व्यक्तिको जीतलाई पार्टीको जीतको रूपमा प्रचार गर्न थालेपछि उनलाई भोट दिने अन्य पार्टीमा आस्था राख्ने व्यवसायीहरू पछुताउन थालेका छन् ।
नेकपा एमाले निकट एक व्यवसायीले गुनासो गरे, ‘हामीसँग भोट माग्दा आफू कुनै पार्टीको उम्मेदवार नभएको भन्नुहुन्थ्यो । हामीले त व्यवसायी उदयनारायण सापकोटालाई जिताएका थियौं, तर जित्ने त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सापकोटा पो रहेछन् ।’ उनले थपे, ‘हामीले पार्टीभन्दा माथि उठेर व्यक्तिलाई जिताएका थियौं। तर सापकोटाले त्यसलाई राजनीतिमा बदले। यो दुःखद छ। यो व्यवसायीहरूको मतको अपमान हो ।’
सापकोटालाई जिताउन नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, समाजवादीलगायतका शुभेच्छुकहरू मात्र नभई नेताहरू पनि खुलेर लागेका थिए । व्यवसायीहरूको निर्वाचनलाई केवल व्यवसायीको रूपमा हेरेर उनीहरूले आफ्नै पार्टीको उम्मेदवारलाई साथ नदिएर सापकोटालाई जिताउन पार्टी निर्णय विपरीत लागेका थिए । तर सापकोटाले व्यवसायीहरूको विश्वासको अपमान गर्दै रास्वपाको जितको रूपमा प्रचार गर्दै हिँड्नुले उनी विश्वासघाती देखिएको भन्दै नेपाली कांग्रेस निकट एक व्यवसायीले गुनासो गरेका छन् ।
‘हामीले पार्टी हेरेनौं, व्यक्ति हेर्यौं। उनले पनि हामीलाई पार्टीको प्रचार नगर्ने भन्दै प्रतिबद्धता जनाएका थिए। तर अहिले उनी मिडियामा पार्टीकै जितको रूपमा प्रचार गर्दै छन्। यो व्यवहार आपत्तिजनक छ।’ सापकोटालाई जिताउन विभिन्न पार्टीबाट निर्वाचित भएका सदस्यहरू पनि खुलेर लागेका थिए। तर अब ती सदस्यहरूकै पार्टीभित्र उनीहरूलाई लिएर आलोचना बढेको छ। पार्टीको प्रतिनिधि भएर सदस्य बन्ने तर अर्काे पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने भन्दै उनीहरूलाई तत्काल फिर्ता बोलाउन दबाब सिर्जना भएको छ। पदको लागि पार्टी प्रयोग गर्ने तर पार्टी हित विपरीत काम गर्नेहरूमाथि कारबाहीको माग तीव्र रूपमा उठेको छ ।
टिप्पणीहरू