पत्नीको रुपमा अल्झिनुभन्दा विश्वविजय प्यारो
मेसेडोनिया प्राचीन ग्रिसको भूभाग हो, अहिले यो भूभाग एउटै देशमा पर्दैन, ठूलो भूभाग ग्रिसमा पर्छ भने केही अल्बानिया, सर्बिया, कोसोभोतिर छ । इशापूर्व३८२ मा फिलिप (द्वितीय) त्यहाँको राजा बने । त्यसबेला युरोपका राजामहाराजाले दुई वा दुईभन्दा बढीसित बिहे गर्ने चलन थियो । बाजेबराजुले चलाएको चलनलाई शिरोपर गर्दै उनले ७ वटी राजकुमारी भित्र्याए । छिमेकी राज्यका थिए । चौथी रानी ओलम्पिया उत्तरीराज्य इपिरुसकी राजकुमारी । फिलिप र ओलम्पियाको उमेर धेरै फरक । त्यसैले फिलिप पत्नीको यौन चाहना पूरा गर्न अक्षम देखिए । ओलम्पियाले मन्त्री र सैन्य अधिकृतहरूसित सम्बन्ध राख्न थालिन् । रानीहरूमध्ये राज्यको उत्तराधिकारी अर्थात् छोरो जन्माउने पनि उनी एक्लै भइन् । निकै शक्तिशाली बनिन् ।
फिलिपले छिमेकी राज्यहरूलाई नियन्त्रणमा ल्याइसकेका थिए तर अरुले जस्तो राज्यका रानी, राजकुमारी र सुन्दर युवतीहरूलाई बन्दी बनाएर जनानाखानाको ‘शोभा’ बनाएनन् । कारण थियो, अन्तको तुलनामा मेसेडोनिया युवतीहरू बढी राम्री हुनु । त्यसैले आफ्नै राज्यभित्रका राम्री युवतीलाई दरबारमै सानोठूलो काम दिएर राखे । हरम अर्थात् जनानागृह यसैले बनाएनन् किनकि युवतीको संख्या यति धेरै थियो कि एउटा दुइटा घरमा अट्दै अट्दैनथे । भनिन्छ, फिलिपले आफूलाई मनपरेका १ हजार १ सयभन्दा बढी युवती तथा महिलालाई दरबारमै काम दिलाएका थिए । अनि मनलागेको बेला शयनकक्षमा बोलाउँथे मन्त्री तथा सैन्य अधिकृतले पनि तिनीहरूबाटै शारीरिक सन्तुष्टि लिन्थे ।
फिलिप ४६ वर्ष पुग्दा अर्थात् राजा बनेको २३ औं वर्षमा मारिए । त्यसबेला छोरी क्लियोपेट्राको बिहे हुने भएकोमा खुशियाली मनाउँदै थिए । क्लियोपेट्रा ओलम्पियातर्फकी छोरी थिइन् । बिहे आफ्नै मामा अलेक्ज्याण्डरसित हुँदै थियो । फिलिपको मृत्युपछि उनी र ओलम्पियाका २० वर्षीय छोरा अलेक्ज्याण्डर तृतीय जो पछि अलेक्ज्याण्डर महान्को नामले विश्वप्रसिद्ध भए, गद्दीमा बसे । उनी बुबाभन्दा फरक स्वभावका थिए, अर्थात् महिलाप्रति खासै आशक्त नहुने । यसै कारण दरबारमा कार्यरत हजारौं युवतीलाई भित्र छिर्न बन्देज गरे । एउटै सपना थियो विश्वविजेता बन्ने, महिलाप्रतिको आकर्षणले सपनामा रोकावट आउन सक्ने उनको बिचार थियो । कतिपय इतिहासकारहरू उनी आफ्नै बहिनी क्लियोपेट्रासंग प्रेम गर्थे र शारीरिक सम्बन्ध राख्थे भन्ने गर्छन् । क्लियोपेट्रा अलेक्ज्याण्डरभन्दा २ वर्ष मात्र कान्छी थिइन् । कसै–कसैले अलेक्ज्याण्डरले अर्की युवती पानकास्टेलाई पनि मन पराएको बताउने गरेका छन् । उनी ग्रिसकै लारिसा क्षेत्रकी थिइन् । उनीहरूका अनुसार पानकास्टेको कौमार्य तोड्ने उनै थिए ।
अलेक्ज्याण्डर इन्द्रीय सुखलाई यति धेरै घृणा गर्थे कि छोरोले भविष्यमा सन्तान उत्पन्नै गर्न नसक्ने हो कि भन्ने चिन्ताले ओलम्पिया चिन्तित हुन थालेकी थिइन् । त्यसो नहोस् भन्नाखातिर राजा फिलिपको अनुमति लिई थेलिसिना नामक चर्चित बेश्यालाई दरबारमै बोलाई छोरोसँग सुताउने प्रयत्नसमेत गरिन् तर सफल भइनन् । इतिहासकार प्लुटार्कका अनुसार बिहेअघि अलेक्ज्याण्डरले कोही स्त्रीसँग शारीरिक सम्बन्ध राखेका थिए भने ती थिइन् बार्सिना । बार्सिना फ्रिगियाका सैनिक जर्नेल अर्तबाजोसकी पुत्री थिइन् । भनिन्छ, विधवा बार्सिनाले अलेक्ज्याण्डरको तर्फबाट एउटा छोरो हेराक्लिजलाई जन्माएकी थिइन् । स्त्रीदेखि टाढा बस्न रुचाउने अलेक्ज्याण्डर बार्सिनाको रूप र सौन्दर्यबाट भने प्रभावित हुँदै प्रेमी/प्रेमिका बनेका थिए । त्यसो त उनले जीवनमा ३ पटक बिहे गरे । रुख्साना, स्टातियरा र परिसातिस । तीमध्ये रुख्साना मात्रै एक छोराको आमा बनिन् । रुख्साना अत्यन्त सुन्दर थिइन् अनि उत्तिकै कामुक पनि । तैपनि अलेक्ज्याण्डर उनीप्रति खासै आकर्षित हुँदैनथे । सुन्दर पत्नीप्रति मोहित नहुनुको एउटै कारण थियो युवक प्रेमिका ।
सैनिक जर्नेल हेफाइसन र अलेक्ज्याण्डर एउटै उमेरका थिए । सँगै पढेका । युवावस्थादेखि नै एकार्काप्रति आकर्षित । प्राचीन ग्रिसमा समलिंगी सम्बन्धको प्रचुरता थियो । प्रायः सबै राजामहाराजाको समलिंगी सम्बन्ध हुन्थ्यो नै । राजा फिलिपको पनि मन्त्रीहरूसित समलिंगी सम्बन्ध थियो । अलेक्ज्याण्डर पनि यसबाट अछुतो रहन सकेनन् । साना ठूला सबै युद्धमा अलेक्ज्याण्डर हेफाइसनलाई लिएर जान बिर्सन्नथे । युद्ध मैदानमा क्रीडारत रहने गरेको सैनिकले देख्ने गरेका थिए तर पहिला राजकुमार र पछि सम्राटको रूपमा रहेकाले कसैले औंला उठाउने हिम्मत गरेनन् । हेफाइसनको निधन ३२ वर्षकै अल्पायुमा इशापूर्व ३२४ मा भयो । प्रेमिकाको अकस्मात् निधनले अलेक्ज्याण्डर निकै मर्माहत बने । शवलाई अँगालो हालेर रोए । शवलाई छोड्नै चाहेनन्, अरु साथीहरूले बल्ल छुटाए । दिनभरि रोएरै बसे । कैयौं दिनसम्म खानै नखाइकन शोक मनाएर बसे । उनको आदेशमा बेबिलोनमा हेफाइसनको अन्तिम संस्कार भव्यतवरबाट गर्न गरियो । त्यहाँको मन्दिरका नाउँमा एउटा पत्र लेखेर हेफाइसनलाई दिव्य सम्मान दिन अनुरोधसमेत गरे । प्रिय साथीको मृत्युपश्चात् अलेक्ज्याण्डर स्वास्थ्यप्रति लापरवाह हुन थाले, फलतः उनको निधन पनि अर्को वर्ष भयो । अलेक्ज्याण्डरले अर्को एकजना युवक बागोयाससित पनि सम्बन्ध गाँसे जो इरानी नर्तक थिए ।
अलेक्ज्याण्डरका गुरु थिए – ग्रिक दार्शनिक अरिस्टोटल । कक्षामा अलेक्ज्याण्डर देखिएनन् भने अरिष्टोटलले पनि पढाउँदैनथे । अलेक्ज्याण्डर आफ्नी पत्नी रुख्सानालाई रेक्सनिज भनेर बोलाउँथे । इरानमा जन्मेकी उनले आफूलाई रुख्साना भनेरै बोलाउन आग्रह गर्थिन् तर अलेक्ज्याण्डर अब तिमी ग्रिककी महारानी हौ, त्यसैले तिम्रो ग्रिक नाउँ राखेको हुँ भन्थे । रुख्सानालाई रुपको घमण्ड थियो, एकदिन आफ्नो ओंठ, आँखा र शरीरका अन्य अंगको तारिफ गर्नुस् भनेर लोग्नेलाई अनुरोध गर्दै थिइन् । त्यत्तिकैमा अरिस्टोटल छिरे । अलेक्ज्याण्डरलाई उपदेश दिन थाले – ‘तिमी पत्नीको सौन्दर्यमा अल्झिन पुग्यौ, तिमीलाई संसार जित्नु छ भने यो खेलबाट बाहिर निस्कनै पर्छ ।’
अरिस्टोटलको कुरा त्यहीँ उभिइरहेकी रुख्सानाको दिमागमा घुसेन । उनले भनिन्, ‘महिलाको बेइज्जत गर्ने त्यो मान्छे को हो ? महिला पुरुषको तागत पो हो । त्यो मान्छेमा त्यस्तो के छ, जसको कुरो तपाईं कहिल्यै काट्नुहुन्न । अलेक्ज्याण्डरले भने– गुरु अरिस्टोटलले चाहेमा १ हजार अलेक्ज्याण्डर जन्माउन सक्छन् तर एकहजार अलेक्ज्याण्डर मिल्दा पनि हामी एक जना अरिस्टोटल जन्माउन सक्दैनौं ।
रुख्साना पनि लरतरो स्त्री थिइनन् । भनिन्, ‘म देखाइदिन्छु स्त्रीको तागत । भोलिपल्ट अरिस्टोटलको निवासमा पुगिन् । र, उनलाई आफ्नो रूपमा लोभ्याउने प्रयास गरिन् । एकछिनपछि नै अरिस्टोटल फिदा भए । रुख्सनाले भनिन् – म तपाईंको चाहना पूरा गर्न पूर्णरूपमा समर्पित हुन तयार छु तर यसको लागि मेरोअगाडि घोडा बन्नुपर्छ ।
अरिस्टोटल रुख्सानाको रूप र यौवनमा यति धेरै पागल बनिसकेका थिए कि साँच्चै उनी घोडा बनिदिए । रुख्साना उनको पिठ्युँमा सवार भइन् र लगाम मुखमा च्याप्न लगाइन् । ठीक त्यसैबेला त्यहाँ अलेक्ज्याण्डरको प्रवेश भयो । उनले त्यहाँको दृष्य देख्ने बित्तिकै रुख्सानालाई गाली गर्दै बाहिर निस्कन आदेश दिए । उनले आफ्नो गुरुसँग सोधे – यो मैले के देखिरहेको छु, अरिस्टोटलले भने कुनै रूपवती स्त्री तिमीले पूजा गर्ने गुरुलाई घोडा बनाउन सक्छे भने तिमी कहाँ पुग्छौ ? भोलिपल्टै अलेक्ज्याण्डर आफ्नो अर्को अभियानमा हिँडे, पत्नीको सौन्दर्यमा अल्झेर बसेनन् ।
टिप्पणीहरू