०८४ मा एक्लै बहुमत ल्याउने माओवादीको ठम्याई

०८४ मा एक्लै बहुमत ल्याउने माओवादीको ठम्याई

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले २०८४ मा हुने आम निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् । 

हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले नयाँ ऊर्जा दिएको र त्यसको बलमा चुनाव जितिने उनले बताएका हुन् । माओवादी पार्टीका जनवर्गिय सङ्गठन, विभिन्न मुक्ति मोर्चाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको जिकिर छ । 

पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानले जनतासँग जोड्न सफल भएको जनाउँदै सापकोटाले माओवादी पार्टी केही समय अलमलिएजस्तो देखिए पनि अब यसले गति लिएको बताए  । 

कहिले एमाले, कहिले काँग्रेससँग मिल्नुलाई कमजोरी हो भनेका उनले अब त्यसो नगर्ने स्पष्ट पारे । पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उनको भनाइ छ ।

२०८४ सालमा एकल बहुमत हासिल गर्नको लागी समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको सापकोटा बताउँछन् । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा प्रस्ट पारेको उनले सुनाए । 

रूपान्तरण र शुद्धीकरणका लागि पार्टीले विगतमा भएका कमी कमजोरी आत्मासमीक्षा गरेर अगाडि बढेकोपनि उनले बताए । स्ववियु, नेपाल पत्रकार महासंघ, २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनको नतिजा प्रस्तुत गर्दै सापकोटाले एकल बहुमत ल्याउने आधार बन्दै गएको दाबी गरे । 

माओवादी पार्टीले आफ्नो मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा चुनाव जित्न सकिने उनको ठम्याई छ ।
 

टिप्पणीहरू