ओलीबाट माओवादीले देखेको खतरा
संसदीय अभ्यासविपरीत नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको वर्तमान गठबन्धनलाई राजनीतिक वृत्तले स्वाभाविक मानेको छैन । अघिल्लो वर्ष असारमा नयाँ सरकार गठन यता मन्त्रीहरू र गठबन्धन दलकै नेताहरू दर्जनौं काण्डमा मुछिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको मौनता थप रहस्यमय देखिन्छ ।
सार्वजनिक कार्यक्रमहरूमा प्रसंगभन्दा बाहिर गएर असान्दर्भिक अभिव्यक्ति दिन सिपालु ओलीको नछुटाउने रटान हो—‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको ‘१५ महिनापछि सत्ता हस्तान्तरण गर्छु’ भन्ने पटक पटकको रटान नागरिकलाई झर्को लाग्न थालेको छ ।
तर, प्रधानमन्त्री ओलीको भनाइ र गराइबीच यति गहिरो अन्तर किन ? ओलीले साँच्चै १५ महिनापछि सहज रुपमा सत्ता हस्तान्तरण गर्लान् ? यी प्रश्नहरूबीच नेकपा (माओवादी केन्द्र) ले भने एउटा सम्भावित खतराको पूर्वानुमान गरेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले कार्यकालको अन्त्यतिर संसद नै विघटन गर्नसक्ने माओवादीको आकलन छ । यही सम्भावनाको संकेतस्वरूप भ्रष्टाचार काण्डमा ओलीको मौनता देखिएको माओवादी महासचिव देव गुरुङ बताउँछन् । उनका अनुसार, ‘कम्युनिष्टको ‘फन्डामेन्टल’ मै डिफल्ट भइसकेका ओलीलाई न संसदको चिन्ता छ, न राष्ट्रियताको ।’
गुरुङ भन्छन्, ‘उहाँबाट सत्ता सहजै हस्तान्तरण हुनेमा ठूलो शंका छ । सदन कुनै पनि बेला विघटन हुन सक्छ, र त्यसका लागि उहाँलाई ढिलो हुँदैन । उहाँ जंगबहादुर बन्ने दिशामा हुनुहुन्छ । यदि दोस्रो जंगबहादुर बन्ने निधो गर्नुभयो भने संसद रहँदैन । हामीलाई सबैभन्दा ठूलो खतरा यहि लागिरहेको छ ।’
ओलीले त शान्ति प्रक्रिया सुरु हुँदा नै त्यसको विपक्षमा पार्टीभित्र फरक मत राख्नुभएको थियो। उहाँले गम्भीरतापूर्वक आत्मसात गर्नुहुनेछ भन्ने आशा थियो, तर हालसम्मको व्यवहारले त्यो आशा समाप्त भएको छ,
माओवादीको ठम्याइमा प्रधानमन्त्री ओली गणतन्त्रको पक्षमा उभिएको दाबी गरे पनि मानसिकता एकाधिकार दलाल पुँजीवादबाट ग्रसित छ । सदन छलेर ल्याइएका अध्यादेशहरू र आफूअनुकूल कानुन संशोधन त्यसैको प्रमाण हुन् । गुरुङ भन्छन्, ‘उहाँले तरबार झुन्ड्याइरहनुभएको छ । कहिले सदन बन्द गरेर, कहिले छल गरेर अध्यादेश ल्याउनुहुन्छ । ३० भन्दा बढी कानुन आफ्ना स्वार्थ समूहअनुकूल संशोधन भइसके । यसले पुष्ट्याउँछ—उहाँ विधि र व्यवस्थाप्रति प्रतिबद्ध हुनुहुन्न । यस्तो हो भने उहाँकै कारण एक दिन सबै प्रणाली कोल्याप्स हुनेछ ।’
गुरुङलाई लाग्छ, गणतन्त्रमाथि खतरा राजावादीबाट भन्दा पनि ओलीबाट छ । उनका अनुसार, ओलीले न कम्युनिष्ट सिद्धान्त आत्मसात गरेका छन्, न साम्राज्यवादविरोधी दृष्टिकोण तयार गर्न चासो राखेका छन् । ‘उहाँ आफूलाई गणतन्त्रको बा भन्नुहुन्छ, तर व्यवहारमा खोक्रो राष्ट्रवादी र नाममात्रको कम्युनिष्ट हुनुहुन्छ,’ गुरुङको टिप्पणी छ ।
कतिपयले गणतन्त्रमा खतरा राजावादी शक्तिबाट आएको चर्चा गरे पनि माओवादीको निचोड फरक छ—बरु ओलीकै खोक्रो राष्ट्रवादले पूर्वदरबारिया शक्तिलाई ऊर्जा दिइरहेको छ। गुरुङ भन्छन्, ‘गणतन्त्रको पक्षपाती हुँ भन्नेले पूर्वदरबारिया शक्तिको प्रतिगमनकारी गतिविधिलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने हो । तर उहाँको गतिविधि त्यो दिशामा छैन । उहाँ दुईदलीय सर्वसत्तावादको मातमा हुनुहुन्छ ।’
गुरुङका अनुसार, ‘जति अराजकता, अस्थिरता र द्वन्द्वको वातावरण बन्छ, उति साम्राज्यवादीहरूका लागि यो अवसर हो । ओलीले त्यही अवसरको आधार बनाइरहनुभएको छ । उहाँको राष्ट्रवाद वास्तवमै खोक्रो छ ।’
‘भ्रष्टाचारका अधिकांश काण्ड उहाँ वा उहाँको पार्टी वरिपरि छन्। प्रधानमन्त्री नै भ्रष्टाचारको केन्द्रविन्दु बन्नुभएको छ,’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारको साम्राज्य बनाइरहँदा ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने कुरालाई माओवादीले हाँस्यास्पद ठान्दै आएको छ । माओवादीको ठम्याइमा ओलीले विपक्षीसँग प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार सम्बन्ध कायम गर्न पनि असफल भएका छन्। ‘भ्रष्टाचारका अधिकांश काण्ड उहाँ वा उहाँको पार्टी वरिपरि छन्। प्रधानमन्त्री नै भ्रष्टाचारको केन्द्रविन्दु बन्नुभएको छ,’ गुरुङको आरोप छ ।
ओलीबाट पार नलाग्नेमा माओवादी ढुक्क
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदासम्म शान्ति प्रक्रियाका कामहरू पूरा नहुनेमा माओवादी लगभग निश्चिन्त छ । पार्टीको आन्तरिक निष्कर्ष छ, ‘ओलीसँग न विचार मिल्छ, न सिद्धान्त, न प्राविधिक पक्ष। नाम मात्रै एउटै (कम्युनिष्ट) हो।’
गुरुङका अनुसार, शान्ति प्रक्रियामा अग्रणी भूमिका खेलेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम नेतृत्वमा रहेको भए संक्रमणकालीन न्याय सम्बन्धी कार्यहरू धेरै अघि सम्पन्न हुने थिए। तर, ओलीका कारण शान्ति प्रक्रियाको कार्य रोकिएको हो ।
‘ओलीले त शान्ति प्रक्रिया सुरु हुँदा नै त्यसको विपक्षमा पार्टीभित्र फरक मत राख्नुभएको थियो। उहाँले गम्भीरतापूर्वक आत्मसात गर्नुहुनेछ भन्ने आशा थियो, तर हालसम्मको व्यवहारले त्यो आशा समाप्त भएको छ,’ गुरुङले भने ।
सम्भावित राजनीतिक दुर्घटना रोक्ने प्रयास
प्रधानमन्त्री ओलीबाट हुनसक्ने राजनीतिक दुर्घटना रोक्न माओवादीले विभिन्न तहमा प्रयास गरिरहेको बताइन्छ । ओलीप्रति असन्तुष्ट नेताहरूसँग संवाद, अन्य विपक्षीहरूसँग सामूहिक प्रतिबद्धता आदिका माध्यमबाट उक्त प्रयास गरिएको दाबी छ ।
गुरुङ भन्छन्, ‘हामीले परम्परागत प्रतिपक्षको अभ्यास तोडेका छौं । निरपेक्ष विरोध गर्ने परिपाटी त्यागेर विषयगत बहस र प्रक्रियामा सहकार्यको बाटो लिएका छौं ।’ भिजिट भिसा प्रकरणमा गरिएको दुई बुँदे सहमति त्यसैको उदाहरण भएको उनले बताए ।
बरु संसद बहिष्कारमा रहेका रास्वपा र राप्रपालाई माओवादीले अपरिपक्व ठान्दछ । गुरुङ भन्छन्, ‘उहाँहरूको सैद्धान्तिक र वैचारिक स्पष्टता अझै परीक्षणमै छ । विधिप्रतिको प्रतिबद्धता अझै देखिएको छैन ।’ ओलीबाट सम्भावित दुर्घटना रोक्न हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकले वैचारिक र नीतिगत तहमा पार्टी एकता प्रक्रियाको औपचारिक शुभारम्भ माओवादीले गरिसकेको छ ।
टिप्पणीहरू