महिलामाथि घोचपेचको मर्मस्पर्शी बयान

ओलीद्वारा ओनसरीलाई यसरी छेक्न खोजियो

महिलामाथि घोचपेचको मर्मस्पर्शी बयान

‘मैले पहिलो महिला रक्षामन्त्री र राष्ट्रपति बनाएँ, पहिलो महिला प्रधानन्यायाधीश बनाएँ, पहिलो सभामुख पनि मेरै पालामा भयो, हुँदा हुँदा पहिलो महिला मुख्यसचिव पनि मैलै नै बनाएको हुँ, अब महिला प्रधानमन्त्री बनाउन चाहन्छु, अर्को साल बनाइहाल्छु भन्न त मुश्किल होला तर छिट्टै महिला प्रधानमन्त्री देख्न पाउनुहुनेछ’, ०८१ भदौ ८ गते काठमाडौँमा आयोजित ‘युथ कन्क्लेभ’मा केपी शर्माले दिएको अभिव्यक्ति हो, यो ।

संयोग नै मान्नुपर्छ, डेढ दशकयता कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ओलीकै कार्यकालमा महिलाहरू विभिन्न निकायको सर्वोच्च पदमा पुगेका छन् । तर, यी संयोगको अन्तर्य र पृष्ठभूमिले भने ओलीलाई पूर्णतः ‘महिलामैत्री’ होइन होइन कि भन्ने ठाउँ दिन्छ । 

०७२ असोज तेस्रो साता एमाले र माओवादीका शीर्ष नेताहरू सभामुख छान्ने छलफलमा जुटेका थिए । त्यतिबेला उक्त पद माओवादीको भागमा परेपछि अध्यक्ष प्रचण्डले सशस्त्र संघर्षकी लडाकू कमाण्डर ओनसरी घर्तीको नाम अघि सारे । तर, यो कुराले ओलीलाई मन परेन । उनले भनिहाले, ‘उहाँलाई अघि सार्ने हो भने त हाउस (संसद) नै खत्तम हुन्छ । अरु कोही (पुरुष) छैन ?’ तर प्रचण्डले ‘पार्टीको निर्णय नै उहाँ हो’ भनेपछि ओली बाध्य भए । 

ओलीबाट पहिलोपल्ट अपमानित भएको क्षण सम्झँदै घर्ती भन्छिन्, ‘त्यो बैठकमा मैले पहिलोपल्ट उहाँ (ओली)को अवतार देखेँ, उहाँ मलाई सभामुख बनाउन चाहन्नु हुन्नथ्यो, यस्तोले पनि के हाउस चलाउन सक्छ र भन्ने उहाँको भनाइ थियो, हाम्रो अध्यक्ष कमरेड पछि नहटेपछि बल्ल तयार हुनुभएको हो ।’

उक्त बैठकमा ओलीको हाउभाउसमेत घर्तीको मस्तिष्कमा अहिले पनि ताजै छ । त्यसअघि उपसभामुख भइसकेकोले सदनको कामकारवाहीबारे उनी जानकार नै थिइन् । तैपनि, ओलीको रुचिमा परिनन् । ‘त्यो बैठकमा उहाँले महिलालाई कतिसम्म ह्युमिलियट गर्नुहुन्छ भन्ने कुरा राम्ररी देख्न र भोग्न पाइयो’, घर्तीले सुनाइन् ।

घर्तीमाथि ओलीको अपमानपूर्ण व्यवहार त्यत्तिकैमा रोकिएन । सोही वर्षको हिउँदे अधिवेशनमा समेत ओलीले रोष्ट्रमबाट घर्तीलाई ‘श्रीमान्ले चलाएको सभामुख’ भने । ओलीको उक्त अभिव्यक्ति अहिले पनि संसदको रेकर्डमा सुरक्षित रहेको घर्ती बताउँछिन् । ‘रोष्ट्रमबाटै उहाँले मलाई श्रीमान्ले चलाइरहेको सभामुख भनेपछि अफ्ठ्यारो महसुस भयो, त्यतिबेला हाम्रो पार्टी सत्तापक्ष भएकाले कोही बोलेनन्, बरु प्रतिपक्षी कांग्रेसले उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको थियो ।’

उक्त दिन संसद सचिवालयका कर्मचारीले समेत ओलीको अभिव्यक्ति हटाउन घर्तीसँग अनुमति मागेका थिए । तर उनले जवाफ दिइन्, ‘हटाउनु पर्दैन, गणतान्त्रिक नेपालको प्रधानमन्त्रीले महिलालाई कसरी हेर्छन्, त्यो भावी पुस्ताले पनि थाहा पाओस् !’ त्यसपछि पनि दर्जनौँ औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा ओलीले आफूलाई ‘ह्युमिलियट’ गरेर बोलेको घर्तीको अनुभव छ । भन्छिन्, ‘उहाँले बाहिर महिलाप्रति जति उदार र सहयोगको भावना देखाए पनि सोच र दृष्टिकोण साँघुरो छ, जुन मैले भोगिसकेको छु ।’

दोस्रो पटक राष्ट्रपति बन्न चाहन्नथिन् भण्डारी

आफूलाई महिलामैत्री चरित्रमा प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीले हालै सचिवालय र केन्द्रीय कमिटीका नेताहरूलाई त्राहिमाम बनाएर पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा रोक लगाए । भण्डारीले नविकरणसमेत गराइसकेको पार्टी सदस्यतालाई निष्क्रिय गराए । जीवनको चार दशक समर्पण गरेकै पार्टीमा प्रतिबन्ध लागेपछि भण्डारीले पनि पत्रकार सम्मेलन (साउन ९) गरेर ‘मदन भण्डारीबाट सदस्यता लिइसकेको र कसैले खान नसक्ने’ भन्दै कठोर प्रतिवाद गरिन् । तर यहाँ बुझ्नुपर्ने के छ भने, भण्डारीले उक्त प्रतिवाद ०७४ मै गर्न खोजेकी थिइन् ।

पूर्वसभामुख घर्तीका अनुसार भण्डारी दोस्रो पटक राष्ट्रपति बन्न इच्छुक थिइनन् । उनले त्यतिबेलै अध्यक्ष ओलीसँग ‘अरुलाई पठाउनुस्, म पूर्व जिम्मेवारी (उपाध्यक्ष)मै फर्किन चाहन्छु’ भनेकी थिइन् । तर ओलीले आफ्नो प्रतिस्पर्धी बन्ने देखेपछि दोस्रो पटक पनि राष्ट्रपतिमा अघि सारेर आफ्नो नेतृत्व सुरक्षित राख्न खोजे । माधव नेपाल र भीम रावलहरू पनि ओलीको त्यही प्रयासको ‘शिकार’ बनेको पुष्टि भइसकेको छ ।

भण्डारीले दोस्रो कार्यकाल सम्हालेपछि (०७५ असार) शीतल निवासमा घर्तीसँग लामो कुराकानी गरेकी थिइन् । त्यतिबेला उनले ‘पार्टी अध्यक्ष हुन चाहन्थेँ, फेरि राष्ट्रपति बन्नुप¥यो !’ भनेको घर्तीलाई राम्रै सम्झना छ । उक्त भेट सम्झिँदै घर्ती खुलाउँछिन्, ‘उहाँ (भण्डारी)लाई दोस्रो पटक राष्ट्रपति हुन मन थिएन, पार्टी नेतृत्वले आफ्नो स्वार्थको लागि पन्छायो भन्ने गुनासो थियो ।’

भण्डारीको भनाई उद्धृत गर्दै घर्ती थप्छिन्, ‘अध्यक्षज्यूसँग पार्टीमा फर्किन्छु भनेर कुरा राखेको थिएँ, तर उहाँले तपाई देशकै अभिभावक बन्ने हो भनेर अघि सार्नुभयो ।’ भण्डारीलाई हालै पार्टीले औपचारिक प्रतिबन्ध लगाए पनि अध्यक्ष ओलीले ०७४ मै बाटो छेकेको घर्तीले खुलाइन् । ‘एमालेले पूर्वराष्ट्रपतिज्यूलाई पार्टीमा रोक लगाएको विषय अहिले औपचारिक रूपमा मात्र बाहिर आएको हो, तर नेतृत्वले उहिल्यै काँढेतार लगाइसकेको थियो ।’

प्रधानमन्त्री ओलीले ‘मैले नै पहिलोपल्ट महिलालाई सर्वोच्च पदमा पु¥याएँ’ भनेर उदाहरण दिने नाममध्ये भण्डारी र घर्ती प्रतिनिधि पात्र मात्र हुन् । सुशिला कार्की पहिलो महिला प्रधानन्यायाधीश, लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव, अष्टलक्ष्मी शाक्य पहिलो महिला मुख्यमन्त्री आफ्नै साधना, त्याग, मेहनत र परिश्रमले बनेका हुन् । महिलाहरूलाई सर्वोच्च निकायमा पुग्न सत्ता गठबन्धनमा हुने राजनीतिक भागवण्डाको फ्याक्टरले केही सहयोग गरेको हुनसक्छ । तर ओलीले ‘मैले नै बनाएँ’ भनेर दावी गर्नु भन्नुमा सस्तो लोकप्रियता कमाउने उद्देश्य रहेको धेरैको विश्लेषण छ ।

अर्को कुरा, ओलीले ‘मैले नै बनाएँ’ भनेर घुमाउरो भाषामा सर्वोच्च निकायमा पुगेका महिलाको अपमान त गरेका छैनन् ? मनासिब प्रश्न उठेको छ । लोकतान्त्रिक पार्टीको आधारभूत मूल्य–मान्यताको कत्लेआम गरेर भण्डारीमाथि जुन खेल रचियो, त्यो कुनै दिन ‘अभिशाप’ नहोला भन्न सकिन्न ।
 

टिप्पणीहरू