विद्यालाई बाहिर हप्काउने, भित्र फकाउने
बाहिर एक अर्काप्रति आक्रामकता देखाउन खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भित्रभित्रै मिलिरहेका छन् कि भन्ने आशंका थियो । एक अर्को पक्षलाई खुइल्याउन अरु नेता पनि जाइलाग्दा कतै फाटो आइसक्यो कि भन्ने पनि देखिन्थ्यो । तर, विद्याको सदस्यता पेन्डिङमा राख्ने निर्णय भएको भन्ने एमाले प्रवक्ता राजेन्द्र गौतमको घोषणा केही बेर पनि टिकेन ।
आइतबार ओली र भण्डारीले च्यासलमा दुवैतर्फबाट विवादमा उत्रिने नेतालाई सँगै राखेर फोटो खिचाए । मुस्कानसहित हलबाट सँगै झरे । एमाले स्रोत भन्छ, ‘सचिवालयको कुरा पोलिटब्यूरोमा आएर फेर्ने, शंकर पोखरेल, प्रदीप ज्ञवाली र राजेन्द्र गौतमहरूलाई उचाल्ने अनि आफू भेट गरेर थचार्ने कामले झन् शंका बढाउँछ ।’
संस्थापनले पेल्न खोजेपछि विद्या पक्षका नेता पनि उत्तिकै आक्रामक नभएका होइनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमै ओलीको अलोकतान्त्रिक कदमको खुलेर विरोध गर्दा स्थायी कमिटी सदस्य कर्ण थापादेखि आनन्द पोखरेलसम्मले विद्याको पक्षमा जमेर बहस गरेका छन् । भ्रातृ संस्थामा पराजित भएकाको बाहिर अर्कै मोर्चा थियो । उनीहरू विद्यालाई झन् आक्रामक हुन उक्साउँथे तर भण्डारीले ठिक्क ठिक्क मात्रै भनेर उत्तेजित नहुन सम्झाइरहेको पाइन्छ । विद्या पक्षसँग नियमित संवादमा रहेका एक नेता भन्छन्, ‘हामीले आक्रामक रुपमा अघि बढ्छौं । असन्तुष्टलाई समेटेर सचिवालय बनाउनुस् भन्न जाँदा उग्र नहुन सल्लाह दिनुभएको छ ।’
उत्साही हुँदै केही युवाले संसदीय दलमा हाम्रो राम्रो माहोल छ भनेका छन् । ओलीले विगतमा धेरैपटक बोल्ने एउटा, गर्ने अर्को स्थिति देखिएको छ । यसैले पक्ष विपक्षमा अरुले पाखुरा बजार्दा ओली र विद्याबीच भित्रभित्रै कुरा मिल्ने हो कि जस्तो पनि देखिन्छ ।’ प्रेस काउन्सिलका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतलाई जाँड खाएर बस्नेबाहेक त्यसले के काम गरेको छ र भनेर टिप्पणी गर्ने ओलीले १४ गते स्पेन जानुअगाडिको क्याबिनेट बैठकमा उनै बस्नेतलाई पुनर्नियुक्ति दिने गरी प्रक्रिया अगाडि बढाउन पिएस गुरुङलाई निर्देशन दिएको नेताहरू स्मरण गर्छन् । महेन्द्र विष्टलाई भगौडा भन्दै पछि सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बनाइएको पनि हो ।
टियुको भिसी नियुक्तिमा पनि त्यस्तै भयो । विद्यार्थी नेताको पनि प्रस्तावमा दीपक अर्याललाई नियुक्ति दिइयो । दुई दिन अघिमात्रै ओलीसँग परिचय भए पनि विद्यासँग पुरानो चिनजान हो । अर्याल मदन भण्डारीको चुनाव प्रचारमा माइकिङ गर्दै हिँड्थे । संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले विद्या भण्डारीलाई दिइएको सदस्यताबारे आत्मालोचना गर्न खोजेका थिए । तर महासचिव पोखरेलले बैठककै बीचमा उनलाई रोके ।
‘काशिनाथ अधिकारीले नियमअनुसार गरेको भनेर बोल्न खोजेका थिए,’ एमाले स्रोत भन्छ, ‘उनी नैतिकता भएका इमान्दार मान्छे हुन् । भलै सत्य बोल्न दिएनन् ।’ विद्याको सदस्यता नवीकरण गर्न ओलीलाई सोध्नुपर्छ भनेर विधानमा लेखिएको छैन । तर दुईपटक नवीकरण गरेर रसिद काटिसकेको विषयमा जबर्जस्ती विवाद झिके पनि त्यो टिक्न सकेन ।
‘दुई पोखरेल ईश्वर र शंकर दुईतिर लागे । युवराज ज्ञवालीले प्रतिवाद गरे । ओलीसँग वाद र प्रतिवाद गर्न सक्ने तीन जना देखिए । ईश्वर कहिल्यै ओलीविरुद्ध यसरी बोल्दैन थिए, यसपटक बोले,’ स्रोत भन्छ, ‘अर्कोतिर ईश्वरलाई साउन ४ गते बिहान बालुवाटार बोलाएर ओलीले भात खुवाएका थिए । वामदेवलाई पनि बोलाएर खाना खुवाई उल्लु बनाएकै हुन् । विद्यासँग भेट्नुअघि उनको पक्षमा कडा कुरा गर्नेलाई बोलाएर खुवाउनु अर्थपूर्ण छ ।’
(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू