अन्तैको हाकिमले पेलेपछि कुर्सी हान्ने तयारी
पढाइमा अब्बल भनिएका प्रदीप परियार भ्रष्टाचार मुद्दा लागेर निलम्बित छन् । अर्काे प्रदीप छन्, तीन वटै शीर्ष दलका नेतालाई खल्तीमा राख्ने हैसियत भएका यिनी अख्तियारको राडारमा तानिएका छन् । अहिले महानिर्देशकबाट झरेर उपमहानिर्देशक खान भएभरको शक्ति र जोड बल लगाइरहेका महानिर्देशक प्रदीप अधिकारीलाई प्रदीप नामक एक इञ्जिनियरले कार्यालयमै कुर्सी उठाएर हान्ने चेतावनी दिएका छन् ।
प्रदीप तिनै कर्मचारी हुन्, जसउपर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि जनकपुर र भैरहवा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल निर्माण क्रममा अर्बाैं भ्रष्टाचार गरेको आरोप छ । उनैले गत साता दुई सचिवलगायत उच्चपदस्थ कर्मचारीकै अगाडि आयल निगमका प्रबन्ध निर्देशक चण्डी भट्टको झाँको झारेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । गत असार २३ गते सँस्कृति तथा पर्यटन मन्त्रालयमा आयोजित बैठकमा सचिव हरि मैनाली, उद्योग, वाणिज्यतर्फ आपूर्ति हेर्ने सचिव रामप्रसाद लम्सालकै अगाडि चण्डी भट्टमाथि जाइलाग्दै इञ्जिनियर प्रदीप यादवको हैसियत खोजेपछि प्रदीपले समेत कार्यालयको बजेट गोष्ठीमा प्रदीप अधिकारीलाई कुर्सी उठाएर हान्ने चेतावनी दिएका छन् । प्रदीप आयल निगमको सिनामंगल डिपोमा प्रमुख छन् ।
सोही निगमको डिपो सिनामंगलबाट उठाएर गौरीघाट लैजाने बिषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले साथ नदिई उल्टै आफ्नो हैसियतमाथि प्रश्न उठाएपछि इँटको जवाफ पत्थरले दिन्छु भनेका हुन् यादवले । गत असार २३ गते आयल निगमको डिपो सार्ने सम्बन्धमा दुई सचिवकै अगाडि चण्डी भट्टमाथि प्रदीप अधिकारी जाइलागेका थिए । उक्त बैठकमा आयलका डिएमडी पूर्ण रिजाल, सिनामंगल डिपोका प्रबन्धक रामहरि निरौला र निगमका इञ्जिनियर विनितमणि उपाध्याय पनि थिए । महानिर्देशक प्रदीप अधिकारी चण्डीसँग पड्किए ‘तपाईंहरू डिपो स्थानान्तरण गर्ने नै हो भने केन्द्रीय कार्यालयले पहल गरोस्, डिपो बनाउने काम कसलाई दिएको ? त्यसको के हैसियत छ ? यादवले डिपो सार्नका लागि आयल निगम तयार रहे पनि नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध नगराउँदा समस्या भएको भन्दै १५ असारमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका प्रमुखविरुद्ध रोष पोखेका थिए । सोही कारण प्रदीप अधिकारी आयल निगमका कार्यकारी निर्देशक भट्टमाथि जाइलागेका हुन् ।
त्यही गुनासो पोख्दा उनले इञ्जिनियर प्रदीप यादवको हैसियत के भन्दै प्रश्न मात्र गरेनन्, चण्डीमाथि जाइलागेको विषय सिनामंगल डिपोका प्रबन्धक रामहरि निरौलाले रिपोर्टिङ गरेपछि आगो भएका सिनामंगल डिपो प्रमुख यादवले आयल निगमको एउटा आन्तरिक गोष्ठीमा महानिर्देशक प्रदीप अधिकारीलाई कुर्सीले हान्ने अभिव्यक्ति दिएको बताइन्छ । अस्ति शनिवार आयल निगमद्वारा आयोजित बजेट गोष्ठीमा बोल्दै उनले एकपटक प्रदीप अधिकारीलाई भेट्न सुवर्ण र सुनील सुवाललाई लिएर जान्छु । जग्गा दियो भने ठीक छ । तल–माथि कुरा गर्यो भने कुर्सी उठाएर हान्ने हो भनेका थिए ।
(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू