अदालतपछि गभर्नर पौडेललाई अख्तियारमा चुनौती
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पौडेल गभर्नर पदका लागि अयोग्य रहेको र उनका कारण बैंकिङ्ग क्षेत्रमा भ्रष्टाचार मौलाउने खतरा औँल्याउँदै आयोगमा उजुरी दर्ता भएको हो । सी००१२७६ दर्ता नम्बर रहेको उजुरी पत्रमा नियुक्ति प्रक्रिया नै अवैधानिक रहेको जिकिर गरिएको छ।
‘अख्तियारले छानविन गरी नियम कानुनविपरित नियुक्त गरिएका नेपाल राष्ट्र बैंकका गभर्नर पौडेललाई पदमुक्त गरियोस् भनी उजुरी पेश गरेको छु’, पत्रमा भनिएको छ, ‘योग्यताविहिन व्यक्तिलाई गभर्नरजस्तो पदमा नियुक्त दिने गभर्नर सिफारिस समितिका सदस्य विष्णुप्रसाद पौडेल (अर्थमन्त्री), छनोट समितिका सदस्यहरु पोषराज पाण्डे, महाप्रसाद अधिकारी र मुख्य सचिव एकनारायण अर्याललाई कारवाही गर्न जोडदार माग गर्दछु ।’

उजुरी पत्रमा गभर्नर पौडेललाई पदमुक्त गर्नुपर्ने सात बुँदे कारण समेत उल्लेख गरिएको छ । उनले ‘सफ्टवेयर इन्जिनियरिङ’मा स्नातक तथा ‘रिर्सोस एग्रिकल्चर’मा मास्टर्स गरेको हुँदा गभर्नरको लागि आवश्यक पर्ने विषय-योग्यता नरहेको दावी पत्रमा गरिएको छ ।
पौडेल विभिन्न बैंक तथा वित्तिय संस्थाहरुकाे संस्थापक शेयर धनी समेत रहेकाले स्वार्थ बाँझिने र बैंकिङ्ग क्षेत्रमा भ्रष्टाचार हुने उजुरीकर्ताको दावी छ ।
उजुरीकर्ताले गभर्नरको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, नेपाली कांग्रेसको कार्यकर्ता रहेको प्रमाणित हुने प्रतिलिपि, वैंक तथा वित्तिय संस्थामा शेयरधनी रहेको प्रमाणित हुने प्रतिलिपिहरु पनि आयोगसमक्ष पेश गरेका छन् ।
नेपाली कांग्रेसका पूर्व नेतासमेत रहेका गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

टिप्पणीहरू