घर ताइवान,तन मन हार्बिन

घर ताइवान,तन मन हार्बिन

ताइवानबाट निकै लामो यात्रा गर्दै चीनको उत्तर–पूर्वी शहर हार्बिन पुगेका भायोलिनवादक लि तिएनसुआनलाई आधा दशकभन्दा बढी समयदेखि उक्त शहरले मोहित तुल्याएको छ । संयुक्त राष्ट्रसंघले ‘संगीत शहर’ को मान्यता दिएको हार्बिनमा उनी अहिले प्रमुख संगीत संस्था हार्बिन सिम्फनी अर्केस्ट्राका चर्चित सदस्य हुन् ।

सात वर्षको उमेरमा भायोलिन अभ्यास थालेका लि ताइपेइको सङ्गीत क्षेत्रमा राम्रोसँग चिनिएपछि मुख्यभूमितर्फ लागेका हुन् । ताइवानमा व्यावसायिक अर्केस्ट्राको अवसर सीमित हुँदा २०१९ मा उनी अन्तर्राष्ट्रिय अवसर खोज्दै हार्बिन पुगेको सिन्ह्वाले जनाएको छ ।

त्यतिबेलाको कुरा सम्झँदै उनी भन्छन्, ‘हार्बिन सिम्फनी अर्केस्ट्रा भायोलिनवादकको खोजीमा थियो । हार्बिनको समृद्ध संगीत परम्पराबारे थाहा पाएपछि त्यसमा समाहित भएँ ।’ बोस्टन कन्सर्भेटरी एट बक्र्लीमा संगीत शिक्षा लिएका उनी उत्कृष्ट सीप र अनुभवका आधारमा पहिलो भायोलिनवादकका रूपमा छानिएका थिए ।

सृजनात्मकता भर्ने शीतल मौसम

हिउँदमा हार्बिनको अत्यधिक चिसो विश्वभर चर्चित छ । तर लि त्यहाँको चार ऋतुले आफूलाई शान्त र ध्यान केन्द्रित बनाएको दाबी गर्छन् । त्यसैले हार्बिन बसाइका क्रममा उनले मध्य चीनको हुनान प्रान्तकी युवतीसँग विवाह गरेर घरजम गरिसकेका छन् ।

सयौं प्रस्तुति,अन्तर्राष्ट्रिय यात्रा

हार्बिनमव लिको सङ्गीत जीवन अत्यन्त व्यस्त देखिन्छ । साप्ताहिक प्रस्तुति, चाडपर्वको अवसरमा विशेष कार्यक्रम र अन्तर्राष्ट्रिय भ्रमण उनको नियमित तालिकामा पर्न थालेको छ । यस वर्षको पहिलो छ महिनामै उनले दुई सयभन्दा बढी प्रस्तुति दिइसकेका छन् ।

गत सेप्टेम्बरमा,हार्बिन सिम्फनी अर्केस्ट्राले रूसको क्रोकस सिटी हलमा ‘स्प्रिङ फेस्टिभल ओभर्चर’ र ‘द मुन रिफ्लेक्टेड अन सेकन्ड स्प्रिङ’ प्रस्तुत गर्दा दर्शकहरूको वाहवाही पाएको थियो । त्यसबारे उनको अनुभव छ, ‘जब दर्शक उठेर लामो समयसम्म ताली बजाए, हाम्रो संगीतले साँच्चै मन छोएको अनुभूति भयो ।’ 

संयुक्त राष्ट्रसंघको ‘ओडे टु सिभिलाइजेसन्स’ मा सहभागी

गत जुन १० मा आयोजित संयुक्त राष्ट्रसंघको अन्तर–सभ्यता संवाद दिवससम्बन्धी विशेष कार्यक्रममा लीले ११ वटा चिनियाँ अर्केस्ट्राका एक सयभन्दा बढी सङ्गीतकर्मीहरूसँग ‘ओडे टु सिभिलाइजेसन्स’ रचना प्रस्तुत गरेपछि थप चर्चामा आएका छन्।

हार्बिनमा सांस्कृतिक विविधता र सहयोग

हार्पिन सिम्फनी अर्केस्ट्रा सन् १९०८ मा स्थापना भएको चीनकै पुरानो सिम्फनी अर्केस्ट्रामध्येको एक हो। हाल यसमा रूस, युक्रेन, जर्मनी र बेलारुसका कलाकारहरु समाहित छन् । हार्बिन कन्सर्ट हलको सिनो–रसियन संगीत आदानप्रदान केन्द्रका प्रमुख गाओ लानका अनुसार अर्केस्ट्रामा हाल छ जना विदेशी कलाकार छन् ।

संगीत र हार्पिनबारे लीले भनेका छन्, ‘संगीतले भाषा र भौगोलिक सीमा नाघेर आत्मा जोड्ने काम गर्छ । हार्बिन अब विश्वस्तरीय संगीतकर्मीहरूको केन्द्र बन्नेमा म पूर्ण विश्वस्त छु ।’

टिप्पणीहरू