नेपाली सेनामाथि गोली प्रहार

नेपाली सेनामाथि गोली प्रहार फाइल फाेटाे

पहिले हतियार लुटपाट, अहिले सैनिकमाथि गोली प्रहार ! प्रसंग हो, मध्य अफ्रिकी गणतन्त्रमा नेपाली सेनामाथि भइरहेको आक्रमणको । शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनामाथि फेरि पनि गोली प्रहार भएको छ । जसबाट दुई जना घाइते भएका छन् । गत असार २ गते सैनिकहरू गस्ती गर्न जाने क्रममा विद्रोही समूहले उनीहरूमाथि गोली प्रहार गरेको हो । घाइतेको अवस्था सामान्य रहेको नयाँ सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए । उनका अनुसार प्रतिकार र आत्मसुरक्षार्थ गोली चलाउँदा विद्रोही समूहतर्फ पनि केही घाइते भएका छन् । 

उनले भने, ‘हाम्रो कन्ट्रोल टोलीका दुई जना घाइते भएका छन् । स्वास्थ्य अवस्था सामान्य छ । विद्रोही पक्षका पनि केही घाइते भएको जानकारी प्राप्त भएको छ । त्यस्तो क्षतिचाँहि केही पनि भएको छैन ।’ सोही मुलुकमा गत चैतमा नेपाली सेनाको हतियार लुटिएको थियो । विद्रोही समूहले ड्युटीमा तैनाथ अनिल थारूको साथमा रहेको एमएजी घेरा हालेर लुटेका थिए । अफिसर खटाउनुपर्नेमा जमदार खटाउँदा हतियार लुटिएको चर्चा व्यापक चलेको थियो । यता, इजरायल र इरानबीच तनाव बढेको छ । 

दुईबीचको युद्धमा अमेरिका पनि प्रवेश गरेको छ । अमेरिकाले इरानलाई हान्न थालेको छ । जसकारण लेबनान, सिरियालगायतका मुलुकमा तैनाथ नेपाली सेना जोखिममा परेका छन् । इजरायलले ब्यारेक छेउछाउबाट गोलाबारी गर्दा सैनिकहरू त्रसित बनेका छन् । स्रोतका अनुसार इजरायलले फाइटर प्लेनबाट आक्रमण गरेको छ । मिसाइलहरू ब्लास्ट गर्ने क्रम जारी छ । ‘ब्यारेक छेउछाउ अलि बढी नै गोलाबारी भइरहेको छ । इजरायलले नजिकबाट फाइटर प्लेनहरू छोडिरहेको छ । मिसाइलको निशाना चुकेर नेपालको ब्यारेकतिर आउँछ कि भन्ने डर हो’, स्रोतले भन्यो । 

सूचना अधिकारी बस्नेतका अनुसार लेबनान, सिरिया, इजरायल र इराकमा शान्ति स्थापनार्थ तैनाथ एक हजार चार सय नेपाली सैनिकमध्ये अहिलेसम्म सबै सुरक्षित छन् ।
 

टिप्पणीहरू