शिक्षकका मागमा सरकारले बहानाबाजी गर्ने बुझेर सदनको अवरोध हटाएका हौँ : प्रचण्ड

शिक्षकका मागमा सरकारले बहानाबाजी गर्ने बुझेर सदनको अवरोध हटाएका हौँ : प्रचण्ड

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दललाई दोष दिएर शिक्षकहरुका माग सम्बोधन गर्न सरकारले बहानाबाजी गर्न नपाओस् भनेर सदनको अवरोध हटाएको बताउनुभएको छ ।

नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आज बिहान आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले सरकार सहमतिअनुसार माग पूरा गर्ने पक्षमा नदेखिएको दाबी गर्नुभयो । महासंघको टोलीले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएको गुनासो गर्दै विपक्षी दलको बलियो साथको अपेक्षा राखेका थिए ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले सदनको अवरोधलाई देखाएर सरकार गैरजिम्मेवार हुनसक्ने बुझेर संसद खोल्ने निर्णयमा आफूहरु पुगेको प्रष्ट्याउनु भयो । “सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ', भन्नुभयो, 'हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं ।”

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं ।” उहाँले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरेका थिए ।

टिप्पणीहरू