परराष्ट्रमन्त्रीद्धारा इजरायलमा रहेका नेपालीबारे राजदूतसँग कुराकानी
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपालीको अवस्थाबारे नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससँग जानकारी लिनुभएको छ । आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै उहाँले इजरायल–इरानबीचको द्धन्द्ध र विकसित घटनाक्रमका विषयमा जानकारी लिनुभएको हो ।
परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै भेटघाट फलदायी भएको बताउनुभएको छ । ‘आज नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक एरी बाससँग फलदायी भेटघाट भयो’,उहाँले लेख्नुभएको छ,‘इजरायलमा रहेका नेपाली नागरिकहरुको सुरक्षा,कल्याण र अन्य द्धिपक्षीय मुद्दाहरुमा छलफल भयो ।’
पछिल्लो केही दिनयता इरान र इजरायलबीच तनाव बढेको छ । इजरायल भ्रमणमा जानुभएको मोरङको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला उतै रोकिनुभएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन त्यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ ।
स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन पनि दूतावासले अनुरोध गरेको छ ।
टिप्पणीहरू