दुर्गा प्रसाईं कारागार चलान, स्वास्थ्यको ख्याल राख्न अदालतको पत्र

दुर्गा प्रसाईं कारागार चलान, स्वास्थ्यको ख्याल राख्न अदालतको पत्र

तीनकुने हिंसाका प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जिल्ला अदालत काठमाडौँको आदेशले डिल्लीबजार कारागार चलान भएका हुन् । 

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिजो अबेर राति उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । कारागार पठाइनेहरुमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन भन्दै सडकमा उत्रिएका यिनीहरु तीनकुनेमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा प्रत्यक्ष संलग्न देखिएको अदालतको ठहर छ । यो प्रकरणमा सरकारी वकिलको कार्यालयले ६१ जनालाई फरक-फरक कसूरमा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । प्रसाईंसहित आठ जनालाई राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उधोग र संगठित अपराधको अभियोगमा मुद्धा चलाइएको थियो  । 

यो मुद्दाका बाँकी ३२ जनालाई धरौटीमा छोड्न अदालत आदेश दिएको छ । उनीहरुसँग न्यूनतम १० हजारदेखि अधिकतम् एक लाख रुपैयाँसम्म धरौटी मागिएको छ । प्रसाईंसँगै तीनकुने घटनमा मुछिएका राप्रपा नेता रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जना प्रतिवादी भने फरार छन् ।  

यता, जिल्ला अदालतले प्रसाईको उपचारको प्रवन्ध मिलाउन कारागार कार्यालय, डिल्लीबजारलाई पत्र पठाएको छ । राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उधोग र संगठित अपराधको अभियोग लगाइएका उनी क्यान्सर पीडित भएकाले उचित उपचारको प्रवन्ध गर्न इजलासले आदेश गरेबमोजिम स्रेस्तेदार तीर्थराज भट्टराईले पत्र लेखेका हुन् ।

टिप्पणीहरू