कसरी अपनत्व महसुस गर्ने कमरेड ?

कसरी अपनत्व महसुस गर्ने कमरेड ?

परस्त्रीसँग सम्बन्ध गाँसेको आरोप लागेका एमाले भक्तपुरका नेता महेश बस्नेतमाथि उठेको अनुशासनको प्रश्न अझै टुंगिएको छैन । युवासंघको इञ्चार्जसमेत रहेका उनीविरुद्ध संघमै आवद्ध एक महिलाले पोहोर पार्टी कार्यालयमा हालेको उजुरीउपर न छानविन भयो, न छलफल !  अध्यक्ष केपी शर्मा ओलीको आदेश नै पार्टीको निर्णय हुने भनिएको एमालेमा उनलाई विधान लागेन ।

अध्यक्षले काँध थापेकै कारण कारवाहीबाट जोगिएका उनै बस्नेत पार्टीमा उल्टो पुरस्कृत भएका छन् । गतहप्ता पोखरामा सम्पन्न युवासंघको महाधिवेशनमा संस्थापन खेमाका उम्मेदवारलाई जिताउन निर्णायक भूमिका खेलेको भन्दै बालुवाटार झिकाएर ओलीले सबैका अगाडि उनको खुलेर प्रशंसा गरेका हुन् । 

जेठ १६ गते प्रधानमन्त्री तथा अध्यक्षको तर्फबाट संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम थियो । नेतृत्वमा दोहोरिएका क्षितिज थेबेसहित निर्वाचित पदाधिकारी बिहानै बालुवाटार पुगेका थिए । त्यस क्रममा ओलीले लड्डु खुवाउँदै बधाई दिए । बस्नेतलाई भने मिठाइ मात्र खुवाइएन संस्थापन प्यानललाई जिताएर ‘इज्जत जोगाइदिएको’ भन्दै प्रशंसासमेत गरियो ।

एमालेको सबैभन्दा प्रभावशाली जनसंगठनका रूपमा रहेको युवा संघको दशौँ महाधिवेशनमा नेतृत्वका लागि दुई समूहबीच प्यानलवद्ध प्रतिस्पर्धा भएको थियो । निवर्तमान महासचिव सुमन पुरीलाई सय भोटले हराएर अध्यक्षमा दोहोरिएका थेबे ओलीको तर्फबाट मैदानमा उत्रिएका थिए । सिंगो पार्टी नेतृत्वको समर्थन पाएका उनले अपेक्षाकृत भोट ल्याउन सकेनन् ।

पार्टी अध्यक्ष ओलीले त्यही भएर बालुवाटारमा बस्नेतलाई ‘तिमी नभएको भए हारिने रै’छ’ भन्ने आशय पोख्दै प्रशंसा गरेको बताइन्छ । संघको पूर्व अध्यक्ष तथा इञ्चार्ज भएता पनि बस्नेत बालुवाटारबाट खटाइएको थेबेको चुनावी कमाण्डर थिए । 

सडकमा ‘आइ लभ यु केपी बा’ को नारा घन्काउँदै एस्कर्टिङ हिँडाउने बस्नेत ओलीलाई अप्ठेरो परेका बेला ‘पाखुरीको बल’ देखाउन परे पनि अघि सर्ने गर्छन् । नेकपाकालमा ओलीको सत्ता जोगाउन उनले सांसद किनबेचको प्रयाससमेत गरेका थिए ।

तत्कालीन जनता समाजवादी पार्टी (जसपा) मा अन्तरकलह चर्किरहेका बेला महन्थ ठाकुर पक्षीय साँसदलाई भक्तपुरको एक रिसोर्टमा थुनेर सत्ताको गणित मिलाउन बस्नेत नै खटिए । लकडाउनका बेला रातारात तराई झरेर मधेसी सांसदलाई काठमाडौँ ल्याएको घटना ‘सांसद अपहरण’ का रूपमा बेला बेला चर्चामा आइरहन्छ ।

संसद विघटनताका प्रचण्ड र माधव नेपालको तेजोबोध गर्न खटाइँदा होस् या पछिल्लो पटक काठमाडौँ महानगरका मेयर बालेन्द्र साहसँग सामाजिक सञ्जालमा झगडा गर्न– ओलीको रक्षाकवच बनेर बस्नेत अग्रपंक्तिमा उभिने गरेका छन् ।

‘बालुवाटार बोलाएर मेरो इज्जत जोगाइदिएको भन्दै लड्डु खुवाएछन्’, १६ गतेको सन्दर्भ खुलाउँदै एक नेताले भने, ‘यस्तो भएपछि हार्ने पक्ष जो प्यानलसहित प्रतिस्पर्धामा थियो उसले कसरी पार्टीमा अपनत्व फिल गर्छ होला !’
 

टिप्पणीहरू