भर्खरै तेस्रो राष्ट्रिय सम्मेलन सकेको वाईसिएलमा किचलो
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) भित्र किचलो शुरु भएको छ । नेताहरुले मनोमानी ढंगले संगठनको पदाधिकारी र केन्द्रीय सदस्य घोषणा गरेपछि कर्णाली प्रदेशको ६ जिल्लाका ईञ्चार्जले सामूहिक विरोध जनाएका छन् । गत जेठ १८ देखि २० गतेसम्म राजधानीको प्रज्ञा भवनमा वाईसिएलको तेस्रो राष्ट्रिय सम्मेलन भएको थियो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मेलन उद्घाटन गरेका थिए ।
सम्मेलनले ३५ पदाधिकारी र २५१ केन्द्रीय सदस्य सर्वसम्मत पास गरेको थियो । तर,नेतृत्वहरुले विधिविधान कुल्चिएर गुपचुप पुनः पदाधिकारी र केन्द्रीय सदस्य घोषणा गरेको उनीहरुको आरोप छ । नेतृत्वहरुको कारणले धेरै जिल्लाका प्रतिनिधिहरु निराश हुनुपरेको उनीहरुले बताएका छन् । कर्णाली प्रदेशको जुम्ला जाजरकोट,दैलेख, कालिकोट,हुम्ला,रुकुम पश्चिमका इञ्चार्जले आज विज्ञप्ति जारी गर्दै विधानविपरीत गरिएको निर्णय स्वीकार्य नहुने प्रष्ट पारेको छ । त्यसबारे सरोकारवालालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएपछि विज्ञप्ति निकाल्नुपरेको उनीहरुको गुनासो छ ।
‘२०८२–०२–२४ गते राति प्रतिनिधिहरुलाई भ्रम सिर्जना गर्दै रात्रिकालीन अवस्थामा एक्कासी विधानविपरीत सबै पदाधिकारीसहितको केन्द्रीय कमिटी घोषणा गरियो । घोषणा गर्दा धेरै जिल्लाका प्रतिनिधिहरु निराश हुँदै फर्किने वातावरण बनेको अवस्थामा हामी कर्णालीको केही जिल्लाका इञ्चार्जहरु विधानविपरीतको असहमति कार्यालयमा जोहरी गरियो, सामान्य छलफल गरिएतापनि खास महत्व नदिएको हुनाले हामी कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, जुम्ला जिल्लाका इञ्चार्जसहित प्रदेशका उपलब्ध निवर्तमान केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी विधानविपरीत भएको निष्कर्ष निकाल्दै सामूहिक रुपमा असहमति प्रकट गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू