प्रधानमन्त्री फेरि विदेश जाने
प्रधानमन्त्री केपी शर्मा ओली ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ अर्थात् विकासको निम्ति चौथो लगानी सम्मेलनमा भाग लिन स्पेनको सेभिल्ला जाने भएका छन् । आउँदो जुन ३० तारिखदेखि जुलाई ३ तारिखसम्म स्पेनको सेभिल्लामा हुने सो कार्यक्रममा जैविक विविधता, जलवायु र मौसम परिवर्तनसम्बन्धी विषयमा छलफल हुने बुझिएको छ ।
संयुक्त राष्ट्रसंघले आयोजना गरेको उक्त सम्मेलनमा भाग लिने तयारी जोडदारसँग चलिरहेको छ । युएनको कार्यक्रममा भाग लिन जाने कम विकसित राष्ट्र (एलडिसी) का प्रतिनिधिले ५ जनासम्मको टिकट सुविधा पाउने गरेका छन् भने अरु सबै खर्च सम्बन्धित देशले नै व्यहोर्नुपर्ने व्यवस्था छ ।
केही साताअघि मात्रै नेपालले यसै विषयसँग सम्बन्धित ‘सगरमाथा संवाद’ आयोजना गरेको थियो । यस्तो सम्मेलन प्रत्येक १० वर्षमा एकपटक हुने गर्छ । यसअघि कतार र अदिस अबाबामा भएको थियो ।
परराष्ट्रमा जे पाक्दै छ
परराष्ट्र मन्त्रालयमा १० जना उपसचिवको बढुवा भएपछि रिक्त दरबन्दीमा आन्तरिक रूपमै २९ जना शाखा अधिकृत उक्लने क्रमसँगै नायब सुब्बाको पनि पालो आउन लागेको छ ।
मन्त्रालय सानो भए पनि बढुवा भएका सहसचिवहरू सानोतिनो कोठामा मिलिजुली बस्दै आएका थिए । अब ठाउँ नपुगेर पुरानो भवन राखिएको नयाँ डिभिजनमा ५ जना सरेका छन् । शैलेन्द्रकुमार उपाध्याय मन्त्री हुँदा उक्त भवन छोडेर शीतल निवास पुगेका थिए । सिंहदरबार छिर्ने पश्चिम गेटको दायाँतर्फ ‘हाम्रो परराष्ट्र भवन’ रहेको छ । सोही भवनमा अग्नि खरेल महान्यायधिवक्ता हुँदा बसेका थिए । त्यसो त हाल परराष्ट्र मन्त्रालय बसेको भवनमा अर्थ मन्त्रालय बिस्तार गर्ने तयारी भइरहेको बताइन्छ । मन्त्रालयमा एक जना पाहुना आउँदा भेट्ने कोठा पनि नभएका कारण नयाँ भवन बनाउने आवश्यकता महसुस भएको छ ।
यसैबीच अमेरिकाको न्युयोर्कमा दधिराम भण्डारीले कन्सुलेट जनरलको पदबहाली गरेका छन् । दुबईमा हरि ओडारी पुगिसके, जेद्दा जान पारस पण्डित कस्सिएर बसेका छन् । यसअघि पाँच जना परराष्ट्र र ५ जना बाहिरबाट महावाणिज्यदूत जाने चलन थियो । हङकङ, ल्हासा, ग्वाङझाउ, छङ्तु र कलकत्तासहित बेइजिङ र दिल्लीमा जाने गरी सात सहसचिव अन्य मन्त्रालयबाट आएका छन् । गृहमन्त्री रमेश लेखकले भाइ विन्देश्वरलाई बेइजिङबाट पोस्टिङ उल्टाएर हङकङ पु¥याइएको छ । लेखकले हापेको ठाउँमा पार्वती अर्याललाई नियुक्त गरिएको छ ।
बेइजिङमा उनी इकोनोमिक मिनिस्टरको हैसियतमा रहनेछिन् । अमेरिकाको डलास र सनफ्रान्सिस्कोमा कार्यालय खोल्ने निर्णय भए पनि अन्य औपचारिक काम हुन बाँकी छ ।
टिप्पणीहरू