विष्णुले चढाए आलामदेवीमा कालोबोको
एमालेभित्र सबैलाई मिलाएर लानसक्ने नेताको रूपमा चिनिन्छन् उपाध्यक्ष विष्णु पौडेल । ०५४ सालमा पार्टी विभाजनपछि २०५६ सालको निर्वाचनमा एकपटक मात्र पराजय भोगेकाले अहिलेसम्म पराजयको स्वाद चाख्नुपरेको छैन । २०५१ सालमा पाल्पाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका उनले त्यसपछि बुटवललाई रोजे । क्षेत्र नम्बर ३ बाट २०५६ सालमा कांग्रेस नेता सूर्यप्रसाद प्रधानसँग झिनो मतान्तरले पछि परे । २०६४, २०७०, २०७४ र २०७९ साल सबै निर्वाचनमा उनले पछि फर्केर हेर्नु परेको छैन ।
एमाले सरकारमा रहँदा सधैँ शक्तिशाली मन्त्रालय सम्हाल्ने मौका पाए । रूपन्देही र बुटवललाई छेलोखेलो बजेट उपलब्ध गराए । तर, अब भने अर्को निर्वाचन क्षेत्रको खोजीमा छन् भन्ने पार्टी पार्टी पंक्तिमा चर्चा छ । २०७९ सालमा बुटवल उपमहानगरपालिकाको मेयरमै एमाले उम्मेदवार पराजित भए भने लगत्तै सम्पन्न प्रतिनिधिसभा निर्वाचन जित्न हम्मे हम्मे पर्यो । रास्वपाका गणेश पौडेललाई १ हजार ३३६ मत अन्तरले मात्र पराजित गर्न सकियो ।
एमाले कार्यकर्ताका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ को भैरहवामा जमिरहने कि जन्मथलो स्याङ्जा जाने ? विचार विमर्श चलिरहेको छ । भैरहवामै टिकाउने अभियानको अगुवाई भैरहवाका भरत पोखरेलले गरिरहेका छन् । स्थानीय नेता एकले अर्कोलाई स्वीकार्ने सम्भावना नरहेकाले उनी सवैको साझा उम्मेदवार हुने र कांग्रेससहित अन्य पार्टीका व्यापारी मत पनि आउन सक्ने भएकाले उक्त क्षेत्रमा जित हासिल गर्न सहज हुने एमाले पंक्तिको बुझाइ छ ।
पौडेललाई यताबाट उठाएर आफू सिद्धार्थनगर नगरपालिकाको मेयर बन्ने सोचमा पोखरेल छन् । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित राप्रपा उठ्न इच्छुकहरुवीच नेता दिपक बोहोराको निधनका कारण अब हुने उपनिर्वाचनमा एमालेबाट अर्को रस्साकस्सी शुरु भएको छ । खिमलाल भट्टराई, भरत पोखरेल, राजेन्द्र पन्थी र सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर हरि अधिकारीले रुचि देखाएका छन् ।
अघिल्लो निर्वाचनमा राष्ट्रियसभाबाट राजिनामा गरेर पनि रूपन्देही–५ मा प्राविधिक कारणले उम्मेदवार हुन नपाएको हुँदा रूपन्देही–३ मा यसपटक आफ्नो दावेदारी स्वाभाविक रहेको भट्टराईले कार्यकर्तासँग बताउँदै आएका छन् । उनी उक्त क्षेत्रको पार्टी इञ्चार्जसमेत हुन् ।
विष्णु पौडेलले आफ्नो २०८१ चैत ३० गते स्याङ्जा पुगेर कालीगण्डकी गाउँपालिकास्थित बैघा रिडि सडकको उद्घाटन गरेका थिए । उनी बुटवल, पाल्पा र स्याङ्जा हुँदै पोखरासम्मको सिद्धार्थ राजमार्गलाई चार लेन बनाउने घोषणा गरेका छन् । स्याङ्जा भ्रमणका क्रममा पौडेलले आलमदेवी मन्दिरमा पूजाआजा गर्नुका साथै कालोबोका चढाएका थिए ।
टिप्पणीहरू