शक्तिशाली ती महिला यसरी सकिए

शक्तिशाली ती महिला यसरी सकिए

क्लियोपेट्राको चर्चा २ हजार वर्षदेखि अनवरत चलिरहेकै छ । इशापूर्व ५१ देखि इशापूर्व ३० सम्म अर्थात् करिब २० वर्ष इजिप्टको राजगद्दीमा बसेकी उनको चर्चा सौन्दर्य, कामुक स्वभाव, चातुर्य, षड्यन्त्रकारी र क्रूर शासकको कारण हुने गरेको छ । उनी प्राचीन इजिप्टको टोलेमिक राज्यकी अन्तिम शासक थिइन् ।

जुलियस सिजरजस्ता शक्तिशाली र तानाशाह रोमन सम्राट् पनि उनको सौन्दर्य र मादक आँखामा नलठ्ठी रहन सकेनन् । क्लियोपेट्राको जालमा फसेपछि उनको पक्षबाट युद्ध गरेर मिश्रको रानी बनाउन बनाउनसमेत उनी तयार भए । युद्धमा मिश्रका शासक टोलेमी (तेह्रौं) मारिए र सिजरले क्लियोपेट्रालाई गद्दीमा बसाले ।

क्लियोपेट्रा मारिएका राजा टोलेमीकी दिदी मात्र होइन रानी पनि थिइन् । १८ वर्षकी उनले १० वर्षका भाइसित बिहे गरेकी थिइन् । त्यहाँको परम्पराअनुसार उनले आफ्नो अर्को भाइ टोलेमी (चौधौं) को पत्नी बनेर राज्य चलाउन थालेकी थिइन् । तर, उनी सिजरकी रखैल थिइन् । पछि सिजरकै सेनापति मार्क एन्टोनीलाई पनि जालमा फसाइन् । मार्कले उनलाई तीन सन्तानको आमा बनाइदिए । सिजरबाट एक छोरा थिइन् । 

सिजर, एन्टोनीलगायत मिश्र र रोमका सयौं सैन्य अधिकृत र उच्चपदस्थ ब्यक्तिहरूसित उनले सम्बन्ध राख्ने गरेकी थिइन् । यति धेरै कामुक थिइन् कि एकैरातमा सय जना प्रेमी, दास र राज्यलाई कर तिर्न आनाकानी गर्ने ब्यापारीसित रात बिताएको उल्लेख छ । शारीरिक सम्बन्ध पछि ती ब्यापारीलाई मार्न लगाएको दाबी समेत गरिएको छ ।

पछि क्लियोपेट्राले अर्को रोमन राजा अगस्टससँगको युद्धमा हार ब्यहोरे । तर, उनलाई नै आफ्नो सौन्दर्य जालमा फसाएर फेरि सत्ता प्राप्त गर्ने योजना बनाइन् । उता, अगस्टसले क्लियोपेट्राको हत्या गर्ने योजना बुने । यो कुरो थाहा पाएपछि कोब्रा साँपबाट आफ्नै वक्षस्थल टोकाएर आत्महत्या गरिन् । त्यसरी मर्दा उनी ३९ वर्षकी थिइन् । 

क्लियोपेट्रा गधाको दूधले दिनहुँ नुहाउँथिन् । यसको लागि दिनहुँ ७ सय गधाको दूध संकलन गरिन्थ्यो । अनुसन्धानकर्ताका अनुसार गधाको दूधले शरीरको चाउरिपन हटाउन मद्दत गर्छ । पहिला दूधलाई अमिलो पारिन्छ, अमिलो भएपछि त्यसमा हुने चिनीको ल्याक्टोज ब्याक्टेरियाद्वारा ल्याक्टिक एसिडमा परिणत हुन्छ । जब अल्फा हाइड्रोक्सी एसिड, जस्तै ल्याक्टिक एसिड लगाइन्छ, त्यसले छिल्न शुरु गर्छ र सतहमुनिको नयाँ चिल्लो दाग–रहित छाला देखापर्छ । गधाको दूधले छालालाई नरम बनाउन र यसको गोरोपन कायम राख्न पनि मद्दत गर्छ । 

रोमन लेखक पिल्नीका अनुसार क्लियोपेट्रा गधाको दूधले दिनमा दुई पटक नुहाउँथिन् भने दर्जनौं पटक मुख धुन्थिन् । यसबाहेक अनुहार सुन्दर बनाइराख्न गोहीको मलमूत्र पनि प्रयोग गर्थिन् । अनुहारलाई चम्किलो बनाइराख्न स्याउको रसबाट बनाइएको भिनेगरले पनि धुने गर्थिन् । उनी अत्तरको पनि उत्तिकै सोखिन थिइन् । दरवारभित्र अत्तर बनाउने कारखाना खोल्न लगाएकी थिइन् । कारखानामा जडीबुटी, फूलको पात वा बिउलाई थिचिएको जैतुनबाट बनेको तातो वनस्पति तेलमा मिसाइन्थ्यो ।

त्यसमा दालचिनी र अलैंची पनि राखिन्थ्यो । र, यो मिश्रणलाई एक हप्तासम्म भिजाएपछि सुगन्धित तेल निकाल्न कपडाको झोलाले थिचिन्थ्यो । जुलियस सिजरको तालु खुइलिएको थियो । यसबाट उनले आफ्नो पनि कपाल नझरोस् भन्नेमा सजग बनिन् । यसको लागि घोडाको दाँत र मृगको दिसा प्रयोग गर्थिन् । उनी ओंठमा रातो लिपिस्टिक दल्न मन पराउँथिन् । सो लिपिस्टिक गोब्रे किराबाट बनाइएको हुन्थ्यो । उनी आँखाको तल्लो पलकमा एक प्रकारको चम्किलो हरियो खनिजले बनाइएको पेस्ट लगाउँथिन् । प्राचीन मिश्रका महिलाले यसको प्रयोग ब्यापक रूपमा गरेको पाइन्छ । 

मेरी एन्टोनेट फ्रान्सिसी क्रान्ति हुँदा रानी थिइन् । अत्यन्त विलाशी । सन् १७८९ को मेमा शुरु भएको क्रान्तिले राजतन्त्र फालिदियो । राजारानी दुबै समातिए । उनीहरूमाथि मुद्दा चलाइयो । सम्राट् लुइ (सोह्रौँ) लाई सन् १७९३ को जनवरी २१ मा गिलोटिन मेसिनमा हालेर टाउको छिनाइयो । ७ महिनापछि साम्राज्ञी मेरी एन्टोनेटलाई पनि १६ मा सोही मेशिनले गर्धन छिनालेर मारियो । मारिँदा लुइ ३८ र मेरी ३७ का थिए । 

मेरी जति कुख्यात थिइन् त्यति नै सुन्दर पनि । अन्तर्मुखी, लजालु र अनिर्णयकारी थिइन्, जोशिली, बहिर्मुखी र साहसी थिइन्, जुवा खेल्ने, पार्टी गर्ने र असाधारण फेसन मन पराउने सामाजिक पुतली थिइन् । अण्डाकार अनुहार, पातलो शरीर, साना खुट्टा, ५ फुट ४ इञ्च मात्र अग्ली । चम्किलो अनुहार, बाक्लो खैरो कपाल र ठूला खैरो–नीलो आँखा, पातलो नाक । ओंठ सर्लक्क परेको थिएन, बाक्लो थियो तैपनि फ्रान्स र युरोपभरि नै उनको सुन्दरताको तारिफ हुन्थ्यो । मेरी अष्ट्रियाकी राजकुमारी थिइन् । नुहाउनुअघि बाथटबमा सुगन्धित जडिबुटी मिश्रण गर्न लगाउँथिन् र सुगन्धित पाउच प्रयोग गर्थिन् ।

लुइसित बिहे गरी फ्रान्स पुग्दा पनि यो बानी त्याग्न सकिनन् । सुगन्धित अत्तरको सोखिन थिइन् । रक्सी, अण्डा, धुलो दूध र कागतीबाट बनेको – ब्युटी ट्रीटमेन्ट प्रयोग गर्थिन् । बिहान सवेरै परेवाबाट बनेको फेसियल क्लिन्जरले अनुहार सफा गर्थिन् । परेवाबाट बनाइएको सो अनुहार सफा गर्ने एक प्रकारको तरल पदार्थ त्यसबेला बजारमा निकै बिक्री हुन थालेको थियो किनभने रानी मेरीले यो सौन्दर्य प्रसाधन प्रयोग गर्थिन् । उत्पादक कम्पनीले गर्वका साथ ‘एउ कोस्मेटिक डे पिजेन’ को लेबल लगाउन थालेको थियो । र, प्रत्येक बोतल आठ परेवा पकाएर बनाइएको भनी विज्ञापनसमेत गरिन्थ्यो । 

दिनमा तीन पटक लुगा फेर्थिन् । प्रत्येक वर्ष, लुगामा मात्र १ लाख २० हजार लिभरे खर्च गर्थिन्, जुन आजको मूलय अनुसार लगभग ४० लाख डलर बराबर हुन आउँछ । लिभरे सन् १७९४ सम्म फ्रान्सको मुद्रा थियो । उनी यति पातली थिइन् कि कम्मर मात्र २३ इञ्चको बनाएकी थिइन् । पारदर्शी लुगा लगाउँथिन् ताकि पुरुषले भित्री शरीरको छालासमेत देख्न सकुन् । उनले गर्दा त्यसबखत फ्रान्सका महिलामा पातली बन्ने र पातलो पारदर्शी लुगा लगाउने फेसन नै चन्न पुग्यो । उनी छालाको रुखोपन हटाउन पाउडर दूध, अण्डाको सेतो भाग र कागतीको रस प्रयोग गर्थिन् ।

यसले अनुहारलाई लामो समयसम्म चम्काइराख्न मद्दत गरेको थियो । दि मेरी एन्टोनेट डाइटः ईट केक एण्ड स्टिल लुज वेट’ मा लेखिका कैरेन ह्विलर लेख्छिन्– उनी नास्तामा कफीसँग हट चकलेट र पेस्ट्री लिन्थिन्, जबकि दरबारका अरुले हेभी डाइट खान्थे । दिनमा पनीर, म्याकरोनी र क्रिममा पकाएको तरकारी मात्र खान्थिन् । मिठाइले तौल बढाउँछ भन्ने थाहा हुँदाहुँदै अलिकति भए पनि नचाखी बस्न सक्दैनथिन् । 

दिनमा दुई पटक नुहाउँथिन् । नुहाउनको लागि कोठामा ठूलो बाथटब राखिएको थियो । नुहाउँदा कोठामा कसैलाई बस्ने अनुमति हुन्नथ्यो, तरपनि पारदर्शी लुगा लगाएर मात्र नुहाउँथिन् । बाथटबबाट बाक्लो कपडाले शरीर नढाकी निस्कँदैनथिन् । उनको लागि राखिएको बाथटबमा अरुलाई पनि नुहाउन दिन्थिन् ।

मित्रमण्डली र मन पर्ने सेविकाले यो सुविधा पाउँथे । मेरीको तुलनामा सम्राट् लुइ नुहाउन एकदम अल्छि गर्थे । यहाँसम्म कि जीवनमै ३ पटकभन्दा बढी ननुहाएको इतिहासकारहरू बताउँछन् । बेलायतकी महारानी एलिजाबेथ जस्तै मेरी पनि अनुहारमा मास्क लगाएर मात्र सुत्थिन् । 
 

टिप्पणीहरू