भिजिट भिसा काण्डमा अनेक आशंका

भिजिट भिसा काण्डमा अनेक आशंका

भिजिट भिसा काण्डमा संलग्नताको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा विपक्षी दलहरुले अवरोध पुर्याउँदै आएका छन् । सेटिङबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक अनुसन्धान गरिरहेको छ । सोही क्रममा शंकास्पद सबैलाई बोलाइएको स्रोतको दाबी छ ।

यता एकजना भूतपूर्व प्रहरी नायव उपरीक्षक ९डिएसपी० माथि जागिरे जीवनमा सर्वसाधारण र व्यवसायीसँग लाखौं असुलेको आरोप लगाइएको छ । डिएसपी हुँदा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गोविन्द पन्थीले त्यतिबेला अहिलेजस्तै सेटिङमा काम गरेको आरोप कतिपय कर्मचारीको छ । 

जनआस्थालाई प्राप्त विवरणमा भनिएको छ, ‘त्यतिबेला मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीलाई रहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भित्री क्षेत्रमा रहेको ब्यूरोको डेस्कमा खटाउने गरिन्थ्यो । त्यतिबेला ब्युरोका चिफ तत्कालीन एसएसपी तथा अतिरिक्त प्रहरी महानिरीक्षकबाट हालै अवकाशप्राप्त टेकबहादुर राई थिए । ब्युरोले खटाउने टोलीद्वारा भिजिट भिसामा विदेसिन खोज्ने महिला तथा पुरुष यात्रुलाई कागजातलगायतका प्रक्रिया नमिलेको भन्दै पासपोर्ट कब्जामा लिई उड्नबाट रोकिन्थ्यो । त्यसरी विदेसिन खोज्ने महिला तथा पुरुषको संख्या दैनिक झण्डै डेढ सयसम्म हुन्थ्यो ।

ब्यूरोको टोलीले पासपोर्ट कब्जामा लिएर छानबिन गरिएको भनिएका अधिकांश यात्रुलाई केही दिनपछि पुरानै कागजपत्र र राहदानीका आधारमा उडाउने गरिएको त्यतिबेलाको रेकर्डबाट देखिन्छ । तर, ब्युरो टोलीले कागजात हेरे पनि उनीहरुलाई रोक्ने काम भने गर्दैनथ्यो । यो क्रम निकै लामो समयसम्म चल्यो । 

टोलीले विदेश उड्न नदिएर राहदानी कब्जामा लिएपछि गरिब नेपालीलाई ब्युरोमै बोलाएर प्रष्टीकरण लिन्थ्यो । सो क्रममा ती मानिसको सम्पर्कमा बिचौलिया वीरेन पन्थी र वीरेनकी श्रीमती पुगिहाल्थे । वीरेन दम्पत्तिले भिजिट भिसामा बाहिर उड्न नदिएर ब्युरोको टोलीले राहदानी कब्जामा लिएका यात्रुहरुसँग पाँचदेखि २० हजार असुल गरेपछि केही दिनको अन्तरालमा सबै पुरानै कागजपत्र र प्रक्रियाबाट उनीहरुलाई विदेश उडाइन्थ्यो । त्यसमा ब्युरोको टोलीले नाम हेर्दै छाडिदिने गरेको भनिन्छ । 

यी सबैको पुष्टि ब्युरो कार्यालयमा रहेको त्यति बेलाका विवरणहरु केलाउँदा प्रष्ट हुन्छ । त्यतिबेला ब्युरोले राहदानी नियन्त्रणमा लिएर प्रष्टीकरण लिएका र लगत्तै केही दिनको अन्तरालमा उडेकाको विवरण ब्युरोमा अहिले पनि सुरक्षित हुनुपर्छ ।

त्यतिबेला पनि सेटिङको हल्ला चल्न थालेपछि तत्काल विमानस्थलको भित्री भागबाट ब्युरोको टोली हटाइयो । त्यसपछि मानव बेचबिखनको टोली विमानस्थलबाट अन्यत्र गयो । विमानस्थलभित्रको पहिलेको स्थानमा पुरानै शैलीमा सिआइबीको टोली खटिन थाल्यो । पहिले मानव बेचबिखनको टोलीले जे गथ्र्यो, ठीक त्यसरी नै सिआइबीले भिजिट भिसामा उड्न चाहनेहरुको राहदानी कब्जामा लिई सोधपुछको लागि बोलाउने क्रम शुरु भयो । सोधपुछका नाममा कागजात कब्जामा लिने र एकाध दिनपछि उड्न दिने पुरानो क्रम यथावत हुन थाल्यो ।
 

पहिले दुई जना महिलालाई प्रतिनिधिका रुपमा ट्राभल एजेन्सी र म्यानपावरहरुमा प्रयोग गरेको भनिन्थ्यो । तीमध्ये एक महिलामाथि अहिले पनि व्यवसायीहरुलाई अप्ठेरोमा पारेर मीटरब्याज असुलीको आरोप लागिरहेको छ । अध्यागमन कर्मचारी,बिचौलिया,ट्राभल एजेन्सी,एयरलाइन्सलगायतको मिलेमतोमा भिजिट भिसामा श्रमका लागि उडाइने निर्धन र बेरोजगार नेपालीहरुसँग ठग्ने कार्य त्यतिबेलै शुरु भएको घटनाक्रमले देखाउँछ ।’

तर जनआस्थासँगको कुराकानीमा पूर्व डिएसपी पन्थीले ती सबै आरोप अहिलेका मतियारहरुले पोल खुल्ने भएपछि आफूमाथि लगाएको बताए । उनी भन्छन्, ‘लहरो तान्दा पहरो गर्जने देखिएपछि पहिलेका इमान्दार प्रहरी र कर्मचारीमाथि अहिले शंकाको घेरामा परेकाले ग्राण्ड डिजाइनमा हल्ला गरेका हुन् । म माथि लागेको आरोपमा कुनै सत्यता छैन ।’ आफ्ना सबै विवरण, बैंक खाताको अनुसन्धान गर्न सँधै सबैलाई आमन्त्रण गरेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा हुँदा आफू प्रशासन फाँटमा कार्यरत रहेको, वीरेन पन्थी र उनकी श्रीमतीबारे कुनै जानकारी नभएको, कसैलाई शंका भएमा त्यतिबेलाको ब्युरोको सिसिटीभी फुटेज हेरेर तथ्य पत्ता लगाउन आग्रह गरेका छन् । ब्युरोका चिफ राईलाई आफ्नो विगतबारे सबै जानकारी भएको, केही कर्मचारी अहिले पनि कार्यरत रहेकाले ती सबैलाई पूर्व डिएसपी पन्थीबारे सोधनी गर्न उनले सुझाएका छन् ।

पछिल्लो समय आफू कानुन व्यवसायीको रुपमा क्रियाशील रहेको बताउँदै भने, ‘अवकाशपछि पनि समाजका बेथिति सुधार्न गरिएको प्रयासबारे असहमति राख्ने झुण्डको दुस्प्रयास हो । म खुल्ला किताब हुँ, सबैले अध्ययन गर्न सक्नुहुन्छ, जुनसुकै समय तयार छु ।’

टिप्पणीहरू