अमेरिकामा बङ्गुरका ४ खुट्टामध्ये १ चाइनिजको

अमेरिकाका खाद्य कम्पनीहरुको भीडमा नाम कमाएको स्मिथफिल्ड फुड्सको आंशिक स्वामित्व चिनियाँहरुको भागमा गएको झण्डै एक दशकपछि साधारण सेयर निष्कासन गर्न लागिएको छ ।
विशेषगरी पोर्क (बंगुर) का विविध आइटम व्यवसाय गर्दै आएको यो कम्पनीले अमेरिकाका अधिकांश ठूला होटल र रेष्टुरेन्टमा बेकन,ह्याम, ससेज उपलब्ध गराउँछ ।
सन् १९३६ मा भर्जिनिया राज्यको स्मिथफिल्डबाट शुरु गरिएको उक्त ब्राण्डले अमेरिकी बजारमा पोर्क आइटममा २३ प्रतिशतभन्दा बढी व्यापार ओगटेको बताइन्छ ।
सन् २०१३ को मे २९ मा हङकङस्थित डब्लुएच ग्रुप (पहिलेको सुआङहुई) ले उक्त कम्पनी (तिर्न बाँकी ऋणसहित) ७ अर्ब १० करोड अमेरिकी डलरमा आंशिक खरिद गरेको थियो । रोयटर्सका अनुसार कम्पनीको साधारण सेयर निष्कासनका लागि प्रक्रिया शुरु भएको छ । यसमा चिनियाँ कम्पनीको ९० प्रतिशत सेयर लगानी गर्ने तयारी छ ।
कम्पनीले पछिल्ला दुई वर्ष क्रमशः सन् २०२३ मा १६ अर्ब २० करोड र २०२४ मा १४ अर्ब ९८ करोड डलरको कारोबार गरेको थियो ।
बंगुरको मासु व्यवसायमा २५ प्रतिशत चिनियाँ व्यवसायीको स्वामित्व भएपछि अमेरिकीहरुले नै भन्न थालेका छन्, ‘बंगुरका चार खुट्टामध्ये अबदेखि एउटा चीनको हुने भयो ।’
टिप्पणीहरू