सडकको पैसामा लामो हात गर्ने ११ जनालाई समातेर मुद्दा

सडकको पैसामा लामो हात गर्ने ११ जनालाई समातेर मुद्दा

मुगुको सोरु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नविन बुमी, अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य धर्मराज जोशी, वडा नम्बर १० का तत्कालिन कार्यवाहक वडाध्यक्ष वीरेन्द्रबहादुर मल्ल, उपभोक्ता समिति अध्यक्ष विष्णुदत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी र सचिव पौमल सार्की छन् । 

पालिकाको वडा नम्बर १०, स्थित शहीद गेटदेखि कोटसम्म सडक निर्माणका निम्ति आर्थिक वर्ष २०७७–०७८ मा बजेट छुट्याइएको थियो । अख्तियारका अनुसार उनीहरुको मिलेमतोमा फिल्डमा भएको वास्तविक कामभन्दा धेरै गरेको देखाएर उपभोक्ता समितिलाई २३ लाख बढी रकम भुक्तानी दिइएको पाइएको छ । 

अख्तियारद्धारा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम २३ लाख २२ हजार ८३२ रुपैयाँ बिगो कायम गरी उनीहरुलाई कैद र जरिवाना हुनुपर्ने मागदाबी गरिएको छ ।

टिप्पणीहरू