लडाइँबारे के भनेको त्यस्तो ?
भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीबारे राजनीतिक वृत्तमा एउटा बुझाइ छ– ‘उहाँ जे गर्नु छ शुरुमा त्यसैको चर्को विरोध गर्नुहुन्छ ।’ यसो भन्नेहरू तत्कालीन नेकपाको सचिवालय बैठकमा प्रतिनिधिसभा विघटन त कल्पनासमेत गर्न नसकिने बताएर क्याबिनेट बैठकमा पुगेका उहाँले संसद भंग गरेको घटना सम्झने गर्छन् । राजनीतिका खास–खास मोडमा ‘एकातिर बन्दुक तेस्र्याएर अर्कोतिर पड्काउने’ बोली र व्यवहारबीचको भिन्नता पुष्टि हुने अर्को एउटा घटना यतिबेला चर्चामा छ ।
सोमबार भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा विशेष समारोह आयोजना गरिएको थियो । प्रमुख अतिथि रहनुभएका ओलीले चीन, भारतलगायत विभिन्न देशका राजदूतहरूसमेत सहभागी उच्चस्तरीय कार्यक्रममा भारत–पाकिस्तान सम्भावित युद्ध रोक्नमा आफ्नो पहल रहेको दावी गर्नुभयो । यस्तो दाबी गर्नेमा डोनाल्ड ट्रम्पपछि उहाँ दोस्रो हो ।
प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट यस्तो दावी गरिरहँदा दुई छिमेकीबीचको तनाव रोक्न नेपालले सन्तुलनकारी भूमिका खेलेको तथ्यले भने पुष्टि गर्दैन । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो भने भारत र पाकिस्तान त्यसमा सदस्य छन् । त्यसकारण दुई छिमेकीको तनाव रोक्न नेपालको अनिवार्य दायित्व बन्थ्यो÷बन्नुपर्छ । तर, भारतले पाकिस्तानमाथि गरेको सैन्य कारवाहीको तीन दिनसम्म नेपाल प्रतिक्रियाविहीन थियो । जबकि विश्वका विभिन्न देशले उक्त आक्रमणको विरोध गरिसकेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, साउदी अरेबियाका विदेशमन्त्रीलगायतका नेता सम्भावित युद्ध रोक्न भित्रभित्र सक्रिय हुँदै थिए ।
एकातिर, साँध–सिमाना जोडिएको छिमेकी, अर्कोतिर सार्कको अध्यक्ष राष्ट्र हुनुको नाताले भारत–पाक तनाव रोक्न नेपालले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा त्यसो गर्न त सकेन नै, उल्टो एकपक्षीय वक्तव्य निकालेर कूटनीतिक मर्यादाको खिल्ली उडाएको छ । मे ८ (वैशाख २६) का दिन परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा आतंकवादी आक्रमणको कडा शब्दमा भत्र्सना गर्दछौं भनिएको छ ।
वार्ता र संवादको माध्यमबाट समस्या समाधानतर्फ उत्प्रेरित गर्नुपर्नेमा आतंकवादको कुरा बढी उठाएर एउटा छिमेकीलाई खुशी बनाउन खोजेको आशय परराष्ट्रले भनेको छ, ‘नेपालले सधैँ सबै प्रकारका आतंकवादको कडा विरोध गर्दै आएको छ । आतंकविरुद्धको लडाइँमा नेपाल सबैसँग उभिएको छ ।’
कूटनीतिक क्षेत्रका जानकारहरू यसलाई कूटनीतिक अल्पज्ञानको संज्ञा दिन्छन् । ‘जे भए पनि पाकिस्तानी भूमिमा पहिलो आक्रमण भारतले गरेको हो । तर, आतंकवादविरोधी भन्ने नाममा सरकारले पाकिस्तान लक्ष्यित धारणा सार्वजनिक गर्नु गलत कुरा हो’, एक जना पूर्वराजदूतले भने, ‘वक्तव्य राम्रोसँग पढ्ने हो भने नेपालले अंगीकार गर्दै आएको पञ्चशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिको पनि बर्खिलाप देखिन्छ ।’
भारत–पाक तनावको बीचमा पाकिस्तानी सेना नेपाल आएको भन्दै सत्तारुढ नेपाली कांग्रेसका एकथरी नेता र सांसदहरूको आपत्ती अर्को अचम्मको विषय बनेको छ । मुलुकको परराष्ट्रमन्त्री भइसकेका एनपी साउदले प्रतिनिधिसभा बैठकमा पाकिस्तानी सेनाको उच्चस्तरीय टोलीले नेपाल भ्रमण गरेको भन्दै असन्तुष्टि जनाएका थिए । अन्तर्राष्ट्रिय मामिलामा भारततिर झुकाव राख्ने गरेको भनिएका उनको भनाइ थियो, ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’ सायद त्यसैको असरस्वरुप त्यसरी आउनेलाई सरकारका तर्फबाट कसैले भेट्न मानेको छैन ।
तर, त्यतिबेलै नेपाल भ्रमणमा रहेका भाजपा नेता भगतसिंह कोसियारीबारे भने कांग्रेसीहरु अहिलेसम्म चुइँक्क बोलेका छैनन् । वास्तवमा बुझ्नुपर्ने कुरा के हो भने, भारत र पाकिस्तान पूर्णयुद्धमा थिएनन् । भारत स्वयंले उक्त सैन्य कारवाही पाकिस्तानमाथि नभई आतंकवादी आक्रमणविरुद्ध भनेर प्रष्ट पारेको थियो । दुवै देशले अहिलेसम्म औपचारिक रूपमा कूटनीतिक सम्बन्ध तोडेको कुनै लिखित निर्णय वा घोषणा गरेका छैनन् । जब युद्धरत पक्षले औपचारिक सम्बन्ध कायमै राखेको छ भने नेपालले पाकिस्तानी सैन्य टोलीकोे २ महिना अगाडि नै निर्धारित भ्रमण स्थगित गराउन मिल्थ्यो ?
जम्मु–काश्मिरको पहलगाममा आतंकवादी हमला भएको सत्य हो । तर, दुई देशको बोर्डरमा भारतको पाँच लाख सेना छ । आतंकवादीहरू त्यो छिचोलेर कहाँबाट आए ? दुनियाँले यसरी पनि प्रश्न गरिरहेको छ । उदाहरणका लागि आजभन्दा २० वर्षअघि नेपालबाट उडेको इण्डियन एयरलाइन्सको आइसी ८१४ विमान अपहरण हुँदा भारतले भोलिपल्टै ५ जना संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरेको थियो । पहलगामा आक्रमण गर्नेहरूको बारेमा किन त्यसो हुन सकेको छैन ? त्यहाँ आतंक मच्चिएकै हो, त्यसमा दुईमत छैन र आतंकवादलाई संरक्षण गर्नु पनि हुँदैन । तर, पाकिस्तानले उक्त आतंकवादी गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको यथार्थलाई सार्कको अध्यक्ष राष्ट्रले आत्मसात गर्नुपर्ने कि नपर्ने ? ’हामीले युद्ध रोक्यौँ’ भन्दै ’.....न्यानोमा क्षणिक रमाउने’ भन्दा पनि मुलुकको भूराजनीतिक स्थितिलाई ख्याल गर्दै जिम्मेवारपूर्ण विदेश सम्बन्ध सञ्चालन गर्नु आजको आवश्यकता हो ।
– राजेन्द्रबहादुर थापा
टिप्पणीहरू