रविको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

रविको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।  

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा ६० लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रविले दायर गरेको पुनरावेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पोखराले आज सक्कल मिसिल उपलब्ध गराउन भनेको हो । यो मुद्दा मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासमा सुनुवाइ भैरहेको छ । 

इजलासले २०८० असोज मा कास्की अदालतमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्रसहितको सक्कल फाइल मागेको हो । रविविरुद्ध भने २०८१ मा पूरक अभियोग पत्र दर्ता भएको थियो । 

यसअघि अदालतले जिल्लाको आदेशको कैफियत प्रतिवेदन मागेकोमा बिहीबारदेखि सुनुवाइ हुँदैथियो । तर, शुक्रबार रविका वकिलहरुले पेशीबारे जानकारी नगराएको भन्दै न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएर 'रेक्युजल' मागेपछि विवाद भएको थियो । काठमाडौँबाट गएका वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, सुशील पन्त र सुरेन्द्र थापाले 'इजलास हड्ताल' गरेपछि सुनुवाइ स्थगित भएको थियो । 

त्यसपछि अदालत प्रशासनले भैरहवा कारागारमा रहेका रविलाई पेशीबारे जानकारी दिन पत्र लेखेको थियो भने मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यता रविकी पत्नी निकिता पौडेल लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट लगातार चौंथो पटक हेर्न नमिल्नेमा परेको छ ।

टिप्पणीहरू