कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माणमा २५ लाख झ्वाम
कालिकोटको पलाता गाउँपालिकाका पूर्व जनप्रतिनिधि भ्रष्टाचारमा डामिएका छन् । पूर्व अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, वडा नम्बर ९ का पूर्व वडाध्यक्ष टंकबहादुर बमसहित केही कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा चलाएको छ । तत्कालीन निमित्त प्रमुख अधिकृत राजबहादुर बम, इञ्जिनियर खडानन्द रिजाल, सब–इञ्जिनियर विनोदकुमार बम, सहलेखापाल नन्दबहादुर शाही र कर्णाली नदी फेरि निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष वीरजीत रोकाय, सचिव अंग विश्वकर्मा र कोषाध्यक्ष पर्दशिना बम पनि भ्रष्टाचारमा मुछिएका छन् ।
आर्थिक वर्ष २०७७–७८ मा कर्णाली प्रदेश सरकारबाट पलाता गाउँपालिका–९ र पचाल झरना गाउँपालिकाबीच पर्ने घाटाचौर थिर्पुस्थित कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माणका लागि प्राप्त बजेट कार्यान्यवनमा बदमासी भएको हो । अख्तियारका अनुसार काम सम्पन्न नभएको अवस्थामा नक्कली प्रतिवेदन तयार पारेर भुक्तानी दिइएको थियो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम २५ लाख ६ हजार ५२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।
टिप्पणीहरू